डा. धर्मागत भट्टराई
कहिले नबदलिने दर्जन क्रान्तिको गाथा !
यो मालिकको डोरीमा नारिएर गर्जिने
झोले स्वतन्त्रताको कथा !
यो बेहालको जिम्मेवार हाम्रो इमान हो कि व्यवस्था ?
यो त्राशदीको कारण हाम्रो सोच हो कि अवस्था ?
यहाँ हर क्रान्तिको अधीर त्राशदी रै’छ
त्यो हर भ्रान्तिको चीर विषादी रै’छ
हर क्रान्तिमा रुन्छ मन त, रुंदैन डाढे बिरालो
हर क्रान्तिमा मर्छ जनता, मर्दैन साँढे र रौंदालो !
क्रान्ति लगतै क्रान्ति मारिन्छ
१९, ४५, त कैले ७४ को एक चिहान पारिन्छ
पहिले जल्नै नहुने धरोहर जलाइन्छन्
अहिले गल्नै नहुने आशादिप गलाइन्छन्
जल्नुपर्ने अहंकार र हुङ्कार जल्दैनन्
दण्डहिनता र भ्रष्ट्राचार जल्दैनन्
ढल्नुपर्ने कीरा र विकार ढल्दैनन्
कुनै बिझाउने काँडा गल्दैनन्
एक पुस्ता आउँछ, उर्लन्छ र थाक्छ
अघिल्लो पुस्ता पैल्यै ओइलाउँछ र बिक्छ
त्यहाँ क्रान्ति कसरी टिक्छ
जहाँ इतिहास नपढ्नेहरु दोहोर्याएर घेर्छन्
इतिहास पढेकाहरु टुलुटुलु कौसीबाट हेर्छन्
टाउके र तिनका लाउकेको ताप्केमा चर्चरी डढेर
परिवर्तित कुर्चिसितको आशादिप मधुरो हुन्छ
हेर ! पुनः एक क्रान्ति अधुरो हुन्छ
० ० ०
भ्रष्टहरुलाई जेलमा भर्नुपर्छ भन्थे, भएकै जेल खाली भए रे
तिनको शेखी झर्नुपर्छ भन्थे, अहिले तिनकै ओठ लालीमय रे !
पुनरुत्थानको भालाले क्रान्ति रेटिदोरै’छ
आमाको सपना झन् झन् मेटिदोरै’छ
हाम्रा काम जस्तै हाम्रा क्रान्ति पनि
लतपते र अपुरा हुँदारैछन्
सेलाएका हाम्रा सासझैँ बिक्ने, झुक्ने र लरतरा हुँदारैछन्
तिमी ! हो तिमी !
तिमी, तँ, तपाई र म अनि
पटकपटक फेक्नलायक सत्ता छान्ने हाम्रो भोट
त्यो भोट दिन तिमीले बोक्ने अन्धो झोलेपन र नोट
पापी झुटो घोषणाको लेखोट
छि: बेशरम !
स्वतन्त्रता पनि कसैको दास बनेर माग्ने
दाम्ले अस्तित्वको तिम्रो कोट
तिमीले हुर्काएको क्रुर टाउकेहरुको बोट !
कहिल्यै सोच्यौ आमाको चोट ?
बाहिर त खोज्यौ ,कहिल्यै खोज्यौ भित्रको दासी खोट ?
तिमी सही भए दशकौं देखि यो ‘सिस्टम’ यति पीडादायी कसरी टिक्छ ?
तिमी इमानी भए वर्षौं तिम्रो मन झोलेवाद र नोटमा किन बिक्छ ?
कसैको चित्र नबोकी कहिले कुर्लन्छौ ?
विकार र झोला त्यागेर कहिले उर्लन्छौ ?
तिम्रो दासत्वले गर्दा भएका क्रान्ति तिम्रा भोट जतिकै फिका बनाइदिए
हाम्रो आशाको आयु तिम्रो भोटको भोज र नोट जतिकै बेकार अस्ताइदिए
कल्पन्थें त्यत्रो खुन बगेपछि केही सार्थक पनि त होला
क्रान्ति दशकको केही पृथक पनि त होला
हाय ! अधुरो क्रान्तिको के काम
अधुरो आशाको के नाम !
अबोधहररूको बलिदानलाई
मुर्कट्टा पानीमरुवा मुकदर्शी समाजले फेरि मारेको छ
प्रिय सहिद ! तिम्रो त्यत्रो शहादतले यहाँ सिर्फ चुनावलाई दुई वर्षअघि सारेको छ
अहंकारी भ्रष्ट्राचारी सबैको हुँकारले
भ्रष्ट्राचारलाई चोख्याएर वैतरणी तारेको छ
अनुहार उनै , मुकुण्डा उनै
हुँकार, अहंकार, र डण्डा उनै
संजालभरि बिझाउने वितण्डा उनै
बस् ! इतिहास नपढ्नेहरुले दोहोर्याएर घेरे
इतिहास पढेकाहरु टुलुटुलु कौसीबाट हेरे
टाउके र तिनका लाउकेको ताप्केमा
चर्चरी डढेर
परिवर्तित कुर्चिसितको आशादिप मधुरो भो
आमा ! फेरि एक क्रान्ति अधुरो भो !