site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
सुनचाँदी पसलमा छापा मार्ने क्रममा भएको घटनाका दोषीलाई कारबाहीको माग
जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष सुरेन्द्र भण्डारीलगायत ।

जनकपुरधाम । जनकपुरधाम उद्योग वाणिज्य संघले जनकपुरधामको एक सुन पसलमा प्रहरीले छापा मार्ने क्रममा भएको विवादको घटनाबारे छानबिन गरी दोषीमाथि कारबाहीको माग गरेको छ । 

शुक्रबार (असोज ३१) जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक गणेशबहादुर बमको नेतृत्वमा गैरकानुनी छापा मार्ने क्रममा झडप भएको थियो । त्यसक्रममा संघका अध्यक्ष सुरेन्द्र भण्डारी घाइते भएका थिए ।

घटनाको छानबिन गरी त्यसमा संलग्नलाई कारबाहीको माग गर्दै शनिबार (कात्तिक १) प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा लिखित ज्ञापनपत्र पठाइएको वरिष्ठ उपाध्यक्ष मनोजकुमार साहले जानकारी दिए ।

प्रहरीले अवैध कारोबार भइरहेको भन्दै शुक्रबार साँझ जनकपुरधाम उपमहानगरपालिका–५ स्थित सञ्जय पायल ज्वेलर्स पसलबाट चाँदी तथा सुनका गरगहना जफत गर्न खोज्दा विवाद भएको थियो । विवादको समयमा प्रहरी तथा व्यवसायीबीच झडप पनि भएको थियो । त्यस बेला प्रहरीले अश्रृग्यास समेत प्रहार गरेको थियो ।

अध्यक्ष भण्डारीले तिहारको बेला प्रहरी एक्लैले छापा मार्न नमिल्ने भनेर विरोध गर्दा उनीमाथि कुटपिट गरिएको र हाल जनकपुरधाम प्रादेशिक अस्पतालको सघन कक्षमा उपचार भइरहेको संघले जनाएको छ ।

संघका वरिष्ठ उपाध्यक्ष साह नेतृत्वमा प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यलाई अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीलाई पठाउने गरी ज्ञापनपत्र बुझाइएको हो । रासस

प्रकाशित मिति: शनिबार, कात्तिक १, २०८२  १५:५४
प्रतिक्रिया दिनुहोस्