site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
अन्नपूर्ण क्षेत्रमा असोजमा भित्रिए ३० हजार विदेशी पर्यटक
फाइल तस्बिर ।

पोखरा । गएको असोजमा ३० हजार ५४७ विदेशी पर्यटकले अन्नपूर्ण क्षेत्रको भ्रमण गरेका छन् । दक्षिण एसियाली मुलुकका १० हजार १९ र अरू देशका २० हजार ५२८ पर्यटकले यहाँको भ्रमण गरेका अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले जनाएको छ । 

गत वर्ष असोजको तुलनामा यसपालि १८५ पर्यटक कम आएका आयोजना प्रमुख डा. रविन कडरियाले बताए । गएको भदौमा भएको ‘जेनजी’ प्रदर्शन र मौसमको अवरोधका कारण भारतीय पर्यटकको आगमन घटेको उनको भनाइ छ ।

आर्थिक वर्ष २०८०/८१ मा २८ हजार ७०५ र आव २०८१/८२ को असोजमा ३० हजार ७३२ पर्यटक यो क्षेत्रमा भित्रिएका उनले जानकारी दिए । असोज र कात्तिकलाई मुख्य पर्यटकीययाम मानिने उनले बताए । कात्तिकमा अन्नपूर्ण क्षेत्रमा पर्यटक आगमन थप बढ्ने अपेक्षा गरिएको उनले उल्लेख गरे ।

तिहारलगत्तै मुस्ताङसहित आसपासका क्षेत्रमा आन्तरिक पर्यटकको चहलपहल बढेको आयोजना प्रमुख डा. कडरियाले बताए । “यो याममा विदेशी पर्यटक पदयात्राका लागि यस क्षेत्रमा आउने गर्दछन् । गत कात्तिकमा ३३ हजार ३१० विदेशी पर्यटकले अन्नपूर्ण क्षेत्रको भ्रमण गरेका थिए,” उनले भने ।

आयोजना कार्यालयले अन्नपूर्ण चक्रीय पदमार्गमा घुमफिर गर्ने विदेशी पर्यटकको मात्र तथ्यांक राख्ने गरेको छ । सडकमार्ग भएर बर्सेनि उल्लेख्य संख्यामा आन्तरिक पर्यटक यो क्षेत्रमा भित्रने गरेका उनले बताए । पर्यटकीययामसँगै मुख्य चाडपर्व र बिदाको समय पनि पर्ने भएकाले यो समयमा आन्तरिक पर्यटकको आगमन पनि बढ्ने गरेको उनको भनाइ छ ।

यो याममा अन्नपूर्ण आधार शिविर, मर्दी हिमाल, घान्द्रुक, मनाङको तिलिचो ताल, थोरङ्ला भञ्ज्याङ, उपल्लो मुस्ताङ, म्याग्दीको घोरेपानी, पुनहिलगायत अन्नपूर्ण फेरोमा पर्ने गन्तव्यस्थलमा आन्तरिक तथा बाह्य पर्यटकको बाक्लो चहलपहल देखिने आयोजना प्रमुख डा. कडरियाले बताए ।

वर्षा र जाडोयाममा यो क्षेत्रमा आउने पदयात्री पर्यटकको संख्या घट्ने उनले बताए । अरू समयमा भने आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढ्ने उनले जानकारी दिए ।

उनका अनुसार, मुक्तिनाथसहित अरू धार्मिक गन्तव्यमा जाने अधिकांश भारतीय पर्यटकले सडकमार्ग प्रयोग गर्छन् । अरू मुलुकका पर्यटकले भने पदयात्रा रुचाउने गरेका छन् ।

सात हजार ६०० वर्गकिलोमिटरमा फैलिएको अन्नपूर्ण संरक्षण क्षेत्रमा कास्की, लमजुङ, मनाङ, म्याग्दी र मुस्ताङका १५ स्थानीय तहका ८७ वडा पर्छन् । अन्नपूर्ण क्षेत्र पदयात्रा पर्यटनका निम्ति विश्वमै प्रसिद्ध मानिन्छ । रासस

प्रकाशित मिति: शनिबार, कात्तिक ८, २०८२  १७:५८
प्रतिक्रिया दिनुहोस्