काठमाडौं । सम्झौता गरी काम नगरेर वर्षौंदेखि अलपत्र पारिएका सिँचाइतर्फका १२ रुग्ण ठेक्का तोडिएको छ । साबिकको जनताको तटबन्ध कार्यक्रम फिल्ड कार्यालय नं २ जलेश्वर (महोत्तरी)अन्तर्गतका १२ रुग्ण ठेक्का तोडिएको हो ।
बबई सिँचाइ आयोजनाका ६ रुग्ण ठेक्का तोड्न गएको असोज ३० गते १५ दिने सार्वजनिक सूचना प्रकाशन गरिएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले ठेक्का लिने तर काम नगर्ने र आयोजना अलपत्र पार्ने प्रवृत्ति अन्त्यका निम्ति रुग्ण ठेक्का तोड्न मातहतका निकायलाई निर्देशन दिएका थिए । सोहीबमोजिम ठेक्का तोड्ने प्रक्रिया अगाडि बढाइएको थियो ।
सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना, जनकपुरधामले आइतबार (कात्तिक ९) एक सार्वजनिक सूचना जारी गरेको छ । ०८१ जेठ १६ र साउन १ मा ठेक्का अन्त्य गर्ने आशयको सूचना दिइए पनि निर्माण व्यवसायीबाट सम्झौताबमोजिम काम सम्पन्न नगरी निर्माण अलपत्र पारेको जनाइएको छ । त्यसैले उक्त ठेक्का अन्त्य गरिएको सूचनामा उल्लेख छ ।
कार्यालयबाट पटक–पटकको अनुरोध तथा सर्वाजनिक सूचना जारी गर्दा समेत काम गर्न कुनै ध्यान नदिइएको हुँदा सम्झौतामा उल्लेखित प्रावधानानुसार कार्यसम्पादन जमानत जफत गर्ने कारबाही अगाडि बढाइएको जनाइएको छ ।
सडकका थप ४० ठेक्का तोड्ने प्रक्रिया सुरु
सडक र पुल निर्माणका निम्ति ठेक्का सम्झौता गरी काम नगरेर वर्षौंदेखि अलपत्र पारिएका थप ४० रुग्ण ठेक्का तोड्ने प्रक्रिया थालिएको छ । सडक विभागअन्तर्गत सडक डिभिजन कार्यालय तुम्लिङटार, इलाम, हेटौँडा र नेपालगन्जले आइतबार आफू मातहत रुग्ण अवस्थामा रहेका ४० ठेक्का तोड्ने प्रक्रिया अगाडि बढाएका छन् ।
तुम्लिङ्टारले १७, इलामले १२, हेटौँडाले सात र नेपालगन्जले चार गरी ४० ठेक्का ठेक्का किन नतोड्ने ? भन्दै आइतबार सार्वजनिक सूचना जारी गरेका छन् ।
विभिन्न सडक डिभिजन कार्यालयले यसअघि रुग्ण रहेका ६८ ठेक्का तोड्ने प्रक्रिया अगाडि बढाइसकेका मन्त्री घिसिङको सचिवालयले जनाएको छ ।