site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
नेप्से झिनो अंकले बढ्यो, दुई अर्ब ६६ करोडको सेयर खरिदबिक्री

काठमाडौं । तिहारपछिको पहिलो सेयर कारोबार दिन धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक झिनो अंकले बढेको छ । यसदिन नेप्से परिसूचक ५.१४ अंकले बढेर २५०९.०४ विन्दुमा बन्द भएको छ । 

आइतबार दुई अर्ब ६६ करोड १३ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको छ । तिहार बिदाअघि कात्तिक ३ गते दुई अर्ब ७९ करोड ११ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको थियो । 

आज ९८ कम्पनीको सेयर मूल्य बढेको छ । १४६ कम्पनीको परिसूचक घटेको छ । चार कम्पनीको सेयर मूल्य स्थिर छ । सिद्धार्थ बैंकबाट जारी ‘१०.७५ प्रतिशत एसबीएल डिबेन्चर २०८९’ नामक ऋणपत्रको मूल्य १० प्रतिशतले वृद्धि भएको छ ।

तारागाउँ रेजेन्सी होटेल (हायात)को सेयर मूल्य प्रतिकित्ता ७.१६ प्रतिशत घटेको छ । यो होटेलमा भदौ २४ गतेको जेनजी प्रदर्शनका क्रममा क्षति भएको थियो । होटेलको पुनर्निर्माण गर्न भन्दै अर्को सूचना नआएसम्म बन्द रहने जानकारी दिइएको छ । सोही कारण यो होटेलको सेयर मूल्य घटेको हो । 

कारोबारमा आएका १३ मध्ये चार समूहको परिसूचक बढेको छ । बाँकी समूहको परिसूचक घटेको छ । परिसूचक बढ्नेमा जीवन बिमा समूहको ०.६१ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहको ०.०२ प्रतिशत, निर्जीवन बिमा समूहको ०.०८ प्रतिशत र ‘अन्य’ समूहको परिसूचक ३.०५ प्रतिशत छन् ।

 

प्रकाशित मिति: आइतबार, कात्तिक ९, २०८२  १५:३०
प्रतिक्रिया दिनुहोस्