site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
पहिलो त्रैमासको वैदेशिक व्यापार : आयात १९.७९  र निर्यात ८९.६४ प्रतिशतले बढ्यो

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासमा चार खर्ब ६८ अर्ब आठ करोड रुपैयाँको वस्तु तथा सेवा आयात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्षको पहिलो त्रैमासमा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १९.७९ प्रतिशतले वस्तु तथा सेवा आयात वृद्धि भएको हो । 

२०८१/८२ को पहिलो त्रैमासमा तीन खर्ब ९० अर्ब ७५ करोड रुपैयाँबराबरको वस्तु तथा सेवा आयात भएको थियो । 

त्यस्तै, चालु आर्थिक वर्षको पहिलो त्रैमासमा निर्यात ८९.६४ प्रतिशतले बढेको छ । भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ७२ अर्ब ७८ करोड रुपैयाँको वस्तु निर्यात भएको छ । गएको वर्षको यही अवधिमा ३८ अर्ब ३७ करोड रुपैयाँबराबरको निर्यात भएको थियो । 

पहिलो त्रैमासमा नेपालले कुल पाँच खर्ब ४० अर्ब ८६ करोड रुपैयाँको वैदेशिक व्यापार गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा चार खर्ब २९ अर्ब १३ करोड रुपैयाँको वैदेशिक व्यापार गरेको थियो । 

समीक्षा अवधिमा १२.१८ प्रतिशतले व्यापार घाटा बढेको छ । चालु आर्थिक वर्षको साउनदेखि असोजसम्ममा तीन खर्ब ९५ अर्ब व्यापार घाटा देखिएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा मुलुकको व्यापार घाटा तीन खर्ब ५२ अर्ब रुपैयाँ थियो ।

चालु आर्थिक वर्षको समीक्षा अवधिमा आयाततर्फ नेपालले पेट्रोलियम पदार्थको आयातमा ६६ अर्ब ८७ करोड रुपैयाँ खर्च गरेको छ । निर्याततर्फ चालु आवको समीक्षा अवधिमा ३० अर्ब ६९ करोड रुपैयाँबराबरको सोयाविन तेल निर्यात गरेको छ ।

प्रकाशित मिति: आइतबार, कात्तिक ९, २०८२  १७:०३
प्रतिक्रिया दिनुहोस्