काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक झिनो अंकले घटेर बन्द भएको छ । बुधबार (कात्तिक १२) नेप्से परिसूचक ५.१७ अंकले घटेर २५६६.१६ विन्दुमा बन्द भएको हो । तर, मंगलबारको तुलनामा कारोबार रकम झन्डै एक अर्ब रुपैयाँले बढेको छ ।
आज पाँच अर्ब ४५ करोड ९७ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको छ । मंगलबार चार अर्ब ५७ करोड ३९ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको थियो ।
८५ कम्पनीको सेयरमूल्य बढेको छ । १५९ कम्पनीको सेयरमूल्य घटेको छ । ६ कम्पनीको सेयरमूल्य स्थिर छ ।
यस दिन खानीखोला हाइड्रोपावरको सेयरमूल्य १० प्रतिशतले वृद्धि भएको छ । यो कम्पनीको सेयर मूल्य प्रतिकित्ता २५७ रुपैयाँ ४० पैसा कायम भएको छ ।
युनियन हाइड्रोपारको सर्वाधिक मूल्यको सेयर खरिदबिक्री भएको छ । यो कम्पनीको २३ करोड ६५ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको छ ।
कारोबारमा आएका १३ समूहमध्ये चार समूहको परिसूचक बढेको छ । बाँकी समूहको परिसूचक घटेको छ ।