काठमाडौंमा एक धनाढ्य परिवार छ । परिवारमा तीनजना सदस्य छन् । बुवा, आमा र छोरा । बुवा र छोराको सधैँ प्रतिस्पर्धा हुन्छ, गेममा त कहिले कार रेसमा । छोरो सधैँ दोस्रो अथवा हरेक प्रतिस्पर्धामा बुवा विजयी ।
छोरालाई चित्तै बुझ्दैन । कसरी बुवालाई हराउने होला भनेर उनको कमजोरी खोजिरहेको हुन्छ । त्यही बेला उसले थाहा पाउँछ बुवाको कमजोरी । बुवा सगरमाथा चढ्न भनेर आधार शिविर पुगे पनि नसकेर त्यहीँबाट फर्किएको रहस्य जब छोराले थाहा पाउँछ, त्यसपछि उसले योजना बनाउँछ, सगरमाथा चढ्छु । ‘जेरी अन द टप’ अथवा ‘अब जेरी सगरमाथाको टुप्पोमा पुग्छ ।’
जसै जेरी अथवा अनमोल केसीले सगरमाथा चढ्छु भन्छ, विजयप्रताप राणा अथवा भुवन केसीलाई जोक गरेजस्तो लाग्छ । मोबाइल गेममा त हार्ने जेरीले सगरमाथा चढेर विजयप्रतापलाई हराउने ! बुवाले पटक–पटक व्यंग्य गरे पनि जेरीले जिद्दी छोड्दैन । बुवा र आमाले सम्झाउँछन्, फियोन्से श्रेया (आँचल शर्मा)ले नजान भन्छिन् । तर, जेरीको जिद्दीले जित्छ ।
विजयप्रतापले चेक काटिदिन्छन् । सगरमाथा आरोहणको तयारी सुरु हुन्छ जेरीको । अनि, भेट हुन्छ पेमा (जसिता गुरुङ)सँग । फियोन्से श्रेया हुन्, तर पहिलो भेटमै जेरीको दिल पेमामा बस्छ । जेरीको सगरमाथा आरोहणको प्रयास, उसको एटिच्युड, जेरीप्रति श्रेयाको लगाव, पेमाको जीवन यात्रा र उसको कर्म र प्रेम झुकावको उतारचढाव नै ‘जेरी अन टप’को कथा हो ।
१७५ मिनेट लामोे चलचित्र इंगेजिङ छ । यो नै ‘जेरी अन टप’को सबैभन्दा सफल पक्ष हो । चलचित्रमा सगरमाथा आरोहणको दृश्य छ । सिनेमाको अन्तिमतिरको अधिकांश दृश्य सगरमाथाको छ ।
भीएफएक्समार्फत तयार पारिएका यी दृश्य नेपाली मेकरका लागि सिकाइको पक्ष हो । पाँच/सात मिनेटभन्दा लामो दृश्य भीएफएक्सबाट गर्न सकिँदैन भनेर टकटकिने मेकरका निम्ति ‘जेरी अन टप’ले उदाहरणीय चलचित्र हो ।
सगरमाथा आरोहणको दृश्य सबै परफेक्ट छैन । नेपाली चलचित्रको बजार र बजेटलाई दिमागमा राखेर हेर्ने हो भने ‘एक्सक्युज’ गर्न सकिन्छ । तर, बलिउड र हलिउडका सिनेमा त्यही मूल्यमा, त्यही हलमा, त्यही समयमा हेर्न सकिने भएकाले तुलना अवश्य हुन्छ । त्यसैले जुन सिनेमाको दृश्य बिझाउँदैन त्यही रोजाइमा पर्छ ।
हिमालका केही दृश्य प्रस्ट बिझाउँछन् । हिमपात भइरहेको होस् वा हिउँका दृश्य – विश्वसनीय लाग्दैन । अक्सिजनको अभावमा पेमा अन्तिम अवस्थामा रहँदाको दृश्य, ऊ जसरी जति समय बोल्छे त्यो पत्यारिलो लाग्दैन । अक्सिजन खोज्न जेरी तल्लो क्याम्पतिर लागेको दृश्य होस् वा ऊ हिमालमा कुद्दै गरेको दृश्य आँखामा बिझाउँछन् । तर, हिमालको दृश्य, एकार्काप्रतिको समर्पणका दृश्यको इमोसन, जेरीप्रतिको पेमाको समपर्ण आदिले लभस्टोरी जानराको सिनेमा मन पराउनेको मन छुन्छ ।
अनमोलको अभिनयको आलोचना हुन्छ । तर, चकलेटी र पुलपुलिएको छोराको भूमिकामा उनी ठिकठाक नै छन् । यद्यपि, अभिनयमा उनी खारिन बाँकी रहेको प्रस्ट देखिन्छ ।
अभिनयका हिसाबले ‘जेरी अन टप’को नायक जसिता हुन् । उनको अभिनय गजब देखिएको छ । लबजदेखि उनको मुहारसम्मले साथ दिएको छ । जसिताको सिने करिअरका लागि यो सम्झनलायक चलचित्र हो । यसले उनको आगामी बाटो अझ फराकिलो बनाउने निश्चित छ । आँचलले आफ्नो जिम्मेवारी पूरा गरेकी छन् ।
मामा (केदार घिमिरे)ले सिनेमामा हसाउँछन् । कमेडियनमा उनी फिट छन् । आवरणमा उनी फरक पनि देखिएका छन् । विजयप्रतापको सहयोगीको भूमिकामा उनी सुहाएका छन् । तर, जुन सिनेमा हेरे पनि उही लबज, उही ‘टोन’ ।
चलचित्र हिमाली भूभागमा खिचिएको छ । हिमाली जनजीवन झल्काउने ब्याकग्राउन्डस्कोर प्रयोेग गरिएको छ । तर, उम्दा छैन । औसतमै सीमित छ । ब्याकग्राउन्डस्कोरमा अझै धेरै काम गर्न सकेको भए सिनेमाको स्तर थप उकासिने थियो । यसमा निर्माण टिम चुकेको छ । गीतसंगीत पनि औसत छ ।
चलचित्रमा सबैभन्दा धेरै बिझाउने पक्ष यसको मेकअप हो । कतै राम्रो देखिने मेकअप कतै साँच्चै आँखै बिझाउँछ । हिउँले छाला कसरी खान्छ, कति कालो र रातो हुन्छ भन्ने सामान्य विषयमा चरम लापर्बाही देखिन्छ । कस्ट्युममा भने चलचित्रमा ध्यान दिइएको पाइन्छ ।
निर्देशकले सिनेम्याटिक लिबर्टी थुप्रै ठाउँमा थुप्रैपटक लिएका छन्, सिनेमा हो, त्यसलाई नजरअन्दाज पनि गर्न सकिन्छ । तर, करिब–करिब पूरै मुहार खुला राखेर हिमाल आरोहण गर्न सकिन्छ वा सम्भव छ ? निर्देशक (सुयोग गुरुङ) स्वयंलाई प्रश्न गर्ने दृश्य हुन् यी ।
सगरमाथाको चुचुरो चुम्न लाग्दाको रोमाञ्चकता भने चलचित्रमा छैन । जेरीले आफ्नो जीवन नै दाउमा राखेर सफल आरोहण गर्छ, तर त्यही सफलताको नजिक पुग्न लाग्दाको कठिन संघर्ष निर्देशकले देखाउन आवश्यक ठानेका छैनन् । यसले कथा र पटकथा र त्यसको डिटेलिङमा कमजोरी रहेको प्रस्ट देखाउँछ ।
निर्माताले भने मन खोलेर खर्च गरेका छन् । भीएफएक्समा होस् वा सगरमाथाको आधार शिविर पुग्न लाग्ने खर्च होस्, निर्माता सरोज न्यौपानले ठूलो खर्च गरेको चलचित्रमा देखिन्छ ।
आक्कलझुक्कल दृश्यबाहेक हिमालकै कथामा नेपालमा चलचित्र बनेका छैनन् । विदेशीले सगरमाथामा चलचित्र खिचिसकेका छन् । त्यसैले ‘जेरी अन टप’लाई अझै उम्दा बनाउन सकिने ठाउँ थियो । तर, यो अवसरको नजिक पुगेर ‘जेरी अन टप’ चुकेको छ ।
० ० ०
निर्देशक : सुयोग गुरुङ
कथा : हेमराज बिसी
कलाकार : अनमोल केसी, जसिता गुरुङ, आँचल शर्मा, भुवन केसी, केदार घिमिरे आदि ।
ब्यानर : अनन्या फिल्मस् प्रोडक्सन
सम्पादक : निमेष श्रेष्ठ
डीओपी : दुलीप रेग्मी
