site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
उद्योगमा काटिएको बिजुली तत्काल जोड्न उद्योग संगठन मोरङको माग

विराटनगर । डेडिकेटेड र ट्रंकलाइन विद्युत् महसुलको विषयलाई लिएर नेपाल विद्युत् प्राधिकरणले उद्योगहरूमा बिजुली आपूर्ति रोक्दा उत्पादन ठप्प भएको भन्दै उद्योग संगठन मोरङले आपत्ति जनाएको छ ।

संगठनले आइतबार एक विज्ञप्ति जारी गर्दै विद्युत् आपूर्ति अवरुद्ध गरिँदा औद्योगिक उत्पादन बन्द हुन पुगेको र यसले निजी क्षेत्रप्रति नकारात्मक सन्देश गएको जनाएको छ ।

विज्ञप्तिमा भनिएको छ, “डेडिकेटेड र ट्रंकलाइन महसुलको विवाद नेपाल विद्युत् प्राधिकरण र प्रभावित उद्योगबीच लामो समयदेखि समाधानविहीन बनेको छ । सरकार परिवर्तनसँगै पटकपटक विवाद बल्झँदा समग्र निजी क्षेत्रलाई नकारात्मकरूपमा प्रस्तुत गर्ने वातावरण बनेको छ, जसप्रति हाम्रो गम्भीर चासो र चिन्ता रहेको छ ।” 

संगठनका अनुसार, उद्योगहरूमा विद्युत् आपूर्ति काटिँदा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लगानीकर्तामा नकारात्मक सन्देश गएको छ । उत्पादन बन्द हुँदा रोजगारी, राजस्व, बैंक व्याज भुक्तानी र बजार सञ्जालमा गम्भीर असर परेको छ । 

मोरङ उद्योग संगठनले नेपाल विद्युत् प्राधिकरण, नेपाल सरकार र निजी क्षेत्रबीचको त्रिपक्षीय समन्वयमा तत्काल विवाद समाधान गरी विद्युत् आपूर्ति पुनः सुचारु गर्न माग गरेको छ ।

विज्ञप्तिमा भनिएको छ, “उद्योग–कलकारखाना बन्द हुँदा सिर्जना हुने जटिलतालाई आत्मसात् गर्दै अहिले काटिएको विद्युत् आपूर्तिलाई अविलम्ब सञ्चालन गर्न आग्रह गर्दछौँ ।”

प्रकाशित मिति: आइतबार, कात्तिक १६, २०८२  ११:१०
प्रतिक्रिया दिनुहोस्