site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
बैंक तथा वित्तीय संस्थामा कति पैसा छ ?
फाइल तस्बिर ।

काठमाडौं । बैंक तथा वित्तीय संस्थामा कुल निक्षेप ७४ खर्ब ७५ अर्ब रुपैयाँ पुगेको छ । पछिल्लो समय निक्षेप बढिरहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

कात्तिक दोस्रो हप्तासम्म वाणिज्य बैंकले मात्र ६७ खर्ब १७ अर्ब निक्षेप संकलन गरेका छन् । यो अवधिमा बैंक तथा वित्तीय संस्थाले ५६ खर्ब ३५ अर्ब कर्जा प्रवाह गरेका छन् । वाणिज्य बैंकले मात्र ५० खर्ब १२ अर्ब कर्जा प्रवाह गरेका छन् ।

राष्ट्र बैंकका अनुसार, विकास बैंक तथा फाइनान्सले यो अवधिमा सात खर्ब ५८ अर्ब निक्षेप संकलन गरेका छन् । उनीहरूले ६ खर्ब २३ अर्ब कर्जा प्रवाह गरेका तथ्यांक छ ।

यो अवधिमा बैंकिङ क्षेत्रमा कायम रहेको निक्षेप तथा कर्जा अनुपात (सीडी रेसियो) भने ७४.२५ प्रतिशत छ । बैंक तथा वित्तीय संस्थाले कर्जा दिन सक्ने क्षमता अझै धेरै छ । तर, कर्जा प्रवाह सुस्त छ ।

पछिल्लो समय कर्जाको माग निरन्तर घट्दो क्रममा छ । बैंकहरूले कर्जाका निम्ति निर्धारण गर्ने औसत आधारदर महिनैपिच्छे घटाइएको छ । कात्तिकका निम्ति बैंकहरूको औसत ब्याजदर ५.६७ प्रतिशत निर्धारित छ । यो ब्याजदर निकै कम हो । यसमा निश्चित प्रतिशत प्रिमियम थप गरेर बैंकहरूले कर्जा लगानी गर्दै आएका छन् ।

पछिल्लो समय आधारदरमा निकै न्यून मात्र प्रिमियम थप गरेर बैंकहरूले कर्जा लगानी गर्दै आएका छन् । तर पनि कर्जा प्रवाह बढ्न सकेको छैन ।

खासगरी ‘जेनजी’ आन्दोलनका क्रममा निजी क्षेत्रका घरानामाथि छानीछानी आक्रमण गरिएपछि लगानीकर्ता त्रसित बनेका छन् । नेपाल उद्योग वाणिज्य महासंघसहित निजी क्षेत्रका छाता संगठनले शान्ति सुरक्षाको प्रत्याभूति र लगानीकर्ताको मनोबल उठाउने खालका कार्य गर्न सरकारलाई बारम्बार आग्रह गर्दै आएका छन् ।

बैंक तथा वित्तीय संस्थाबाट तत्काल ठूलो मात्रामा कर्जा प्रवाह हुने स्थिति नदेखिएपछि राष्ट्र बैंकले लामो समयका निम्ति निक्षेप तानिरहेको छ । पछिल्ला दिनमा बजारमा कर्जाको माग धेरै बढ्न नसक्दा बैंक तथा वित्तीय संस्थामा लगानीयोग्य रकम थुप्रिरहेको छ । यसैलाई व्यवस्थापन गर्न राष्ट्र बैंकले लामो समयका निम्ति मौद्रिक उपकरणको प्रयोग गरिरहेको छ ।

राष्ट्र बैंकले आइतबार (कात्तिक १६) ४० अर्ब निक्षेप १७५ दिनका निम्ति खिचेको थियो । अघिल्लो साताको बुधबार (कात्तिक १२) पनि राष्ट्र बैंकले बजारबाट १७५ दिन अवधिको निक्षेप संकलन उपकरणमार्फत ४० अर्ब रुपैयाँ उठाएको थियो ।

राष्ट्र बैंकले त्यसअघि यतिधेरै अवधिका निम्ति पछिल्ला वर्षहरूमा निक्षेप उठाएको थिएन । बैंकहरूले तत्काल कर्जा प्रवाह गर्ने छाँटकाँट नदेखाएपछि दीर्घकालीन रूपमै निक्षेप व्यवस्थापनमा लागेको राष्ट्र बैंकका अधिकारीहरूले बताउँदै आएका छन् । न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: मंगलबार, कात्तिक १८, २०८२  १५:३३
प्रतिक्रिया दिनुहोस्