काठमाडौं । रिलायन्स स्पिनिङ मिल्सले डेडिकेटेड तथा ट्रंकलाइनको किस्ता बुझाएको छ । रिलायन्सले ७५ करोड ३७ लाख बक्यौताको २८ किस्ताको पहिलो किस्ता बुझाएको नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता राजन ढकालले जानकारी दिए ।
विगतमा लोडसेडिङको समयमा डेडिकेटेड तथा ट्रंक लाइनबाट विद्युत उपभोग गरेको सुनसरीमा सञ्चालित रिलायन्सले प्रिमियम महसुलको बक्यौता किस्ता तिरेपछि लाइन जोडिएको छ । पहिलो किस्ता तिरेपछि रिलायन्सको विच्छेद गरिएको बिजुली लाइन जडान गरिएको प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालले जानकारी दिए ।
रिलायन्सले २०७२ माघदेखि २०७५ वैशाखसम्ममा डेडिकेटेड तथा ट्रंकलाइन प्रयोग बापतको प्रिमियम महसुलको पहिलो किस्ता बुझाएका हो । रिलायन्सको ७५ करोड ३७ लाख रुपैयाँ बक्यौता रहेको छ । बक्यौतालाई २८ किस्तामा विभाजन गरी रिलायन्सले दुई करोड ७७ लाख रुपैयाँ पहिलो किस्ता बुझाएको हो ।
उता रिलायन्स भने २८ किस्तामध्येको एक किस्ताबराबरको रकम ‘किस्ता’ नभई ‘विवादित रकम’ मान्दै धरौटीका रूपमा बुझाएको बताउँछ ।
“तत्काल विद्युत् लाइन जडान गरिने त्यसपछि पुनरवलोकन, पुनरावेदनसहित न्यायिक प्रक्रियामा अगाडि जान पाइने सहमति भएको थियो । सोही सहमतिअनुसार धरौटी रकम जम्मा गरिएको छ,” गोल्याण ग्रुपकी कर्पोरेट कम्युनिकेसन म्यानेजर ज्योती गह्रैले भनिन्, “विद्युत् आपूर्ति अवरुद्धका कारण उद्योग सञ्चालनमा अवरोध हुँदा आर्थिक क्षतिका साथ हजारौँ श्रमिक रोजगारीविहीन हुने जोखिमका कारण मध्यमार्गलाई स्वीकारेका हौँ ।”