site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
समयमै निर्वाचन हुने वातावरणको सुनिश्चितता अहिलेको आवश्यकता : अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले समयमै निर्वाचन हुने वातावरणको सुनिश्चितता अहिलेको आवश्यकता भएको बताएका छन् । शनिबार (कात्तिक २२) काठमाडौंमा महासंघद्वारा आयोजित ‘राष्ट्रिय बृहत् आर्थिक बहस २.०’ मा उनले यस्तो माग गरेका हुन् ।

दिगो शान्ति, स्थायित्व र समृद्धिका निम्ति सबैको प्रयास आवश्यक रहेको उनले उल्लेख गरे । उनले सबै राजनीतिक दल, युवापुस्तालगायत सरोकारवालासँगको संवाद र सहकार्यमा समयमै निर्वाचन हुने वातावरणको सुनिश्चितता गराउनुपर्नेमा जोड दिए ।

निजी क्षेत्र फल दिने वृक्ष भएको बताउँदै उनले यसको मलजल गर्न जरुरी रहेकामा जोड दिए ।

अध्यक्ष ढकालले निजी क्षेत्र शान्ति, स्थायित्व र समृद्धिका निम्ति तत्पर रहेको पनि बताए ।

कार्यक्रममा अध्यक्ष चन्द्रप्रसाद ढकालको भनाइ पढ्नोस्–
दिगो शान्ति, स्थायित्व र समृद्धिका लागि सबैको प्रयास अहिलेको समयमा आवश्यक छ । यसका लागि सबै राजनीतिक दल, युवापुस्ता गायत सरोकारवालाहरूसँगको संवाद र सहकार्यमा समयमै निर्वाचन हुने वातावरणको सुनिश्चितता हो । सरकारले यसतर्पm प्रयास गरिरहेको पनि छ । हामी निजी क्षेत्र पनि सम्पूर्ण रूपमा शान्ति स्थायित्व र समृद्धिका लागि समयमै निर्वाचनको वातावरण बनाउन आग्रह गर्दछौँ । यसमा निजी क्षेत्र सहयोग र सहकार्य गर्न तयार छ । जाँदाजाँदै एउटा प्रसंग यहाँ उल्लेख गर्न चाहन्छु– हालैको एक कार्यक्रममा माननीय अर्थमन्त्रीज्यूले निजी क्षेत्र भनेको फल दिने वृक्ष हो, त्यसैले यसलाई थप मलजल गरी बढीभन्दा बढी फल दिने गरी संरक्षण गर्नुपर्छ, तब मात्र राष्ट्रले अधिकतम लाभ लिन सक्छ र मुलुक समृद्ध बन्न सक्छ भन्नुभएको थियो । त्यसैले सम्माननीय प्रधानमन्त्रीज्यूको यो कार्यकालमा, यसैगरी संरक्षकत्व प्राप्त होस् भन्ने अपेक्षा मुलुकको समग्र निजी क्षेत्रले राखेको छ । न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: शनिबार, कात्तिक २२, २०८२  १५:५८
प्रतिक्रिया दिनुहोस्