site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
चार अर्ब ६६ करोड लगानी गर्दै निक्षेप तथा कर्जा सुरक्षण कोष

काठमाडौं । निक्षेप तथा कर्जा सुरक्षण कोषले चार अर्ब ६६ करोड रुपैयाँ लगानी गर्ने भएको छ । कोषको विभिन्न बैंकमा रहेको रकम लगानी गर्न लागेको हो ।

उक्त रकम नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गको इजाजतपत्र प्राप्त बैंकले यही कात्तिक २४ गतेभित्र लिन सक्नेछन् । कोषले रकम लिन चाहने बैंकका निम्ति सर्त समेत तोकेको छ ।

उक्त रकम लिन चाहने बैंक सञ्चालनमा आएको कम्तीमा पाँच वर्ष पूरा भएको हुनुपर्नेछ । पछिल्ला पाँच वर्षदेखि लगातार नाफामा रहेको पनि हुनुपर्नेछ ।

यस्तै, राष्ट्र बैंकबाट तोकिएको न्यूनतम पुँजीकोष कायम गरेको, निष्क्रिय कर्जा कुल कर्जा सापटको आठ प्रतिशतभन्दा कम भएको, खुद तरल सम्पत्ति स्वदेशी निक्षेपको कम्तीमा २० प्रतिशत वा त्योभन्दा बढी रहेको, कर्जा/स्वदेशी निक्षेप र प्राथमिक पुँजी अनुपात वा कर्जा/निक्षेप अनुपात राष्ट्र बैंकले समय–समयमा निर्धारण गरेको सीमाभित्र रहेको, लगानी गरिने बैंक वा त्यसको कार्यकारी अध्यक्ष, सञ्चालक वा प्रमुख कार्यकारी अधिकृतलाई राष्ट्र बैंकले प्रचलित कानुनबमोजिम सचेत गराउनेबाहेकका अरू जरिवाना वा सजाय गरेको अवस्थामा उक्त कारबाही भएको ६ महिना पूरा भएको, शीघ्र सुधारात्मक कारबाहीमा परेको भए त्यो फुकुवा भएको कम्तीमा तीन महिना पूरा भएको हुनुपर्ने कोषले जनाएको छ ।

अरू सर्तमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ८६ बमोजिम कारबाहीमा परी समस्याग्रस्त घोषणा नभएको, समस्याग्रस्त घोषणा भएकामा त्यो फुकुवा भएको ६ महिना अवधि पूरा भएको, नेपाल सरकारको स्वामित्व रहेका बैंकबाहेकका अरूको हकमा सर्वसाधारणका निम्ति छुट्ट्याइएको सेयर जारी गरी नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत भएको हुनुपर्ने उल्लेख छ ।

सूचना प्रकाशन गरेको रकम लगानी गर्ने/नगर्ने अधिकार कोषमा सुरक्षित रहनेछ । मापदण्ड तथा सर्त पूरा गरेको व्यहोराको स्वघोषणा सिलबन्दी दरभाउपत्रसाथ पेस गर्नुपर्नेछ । 

कोषका अनुसार, सिलबन्दी दरभाउपत्रमा उल्लेखित वित्तीय परिसूचक त्रैमासिक रूपमा प्रकाशन गरेको हुनुपर्नेछ । कुनै वित्तीय परिसूचक मासिक रूपमा प्रकाशन गरेको हकमा आफ्नो आन्तरिक लेखापरीक्षकबाट अनिवार्य रूपमा प्रमाणित गराएको हुनुपर्नेछ । न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: आइतबार, कात्तिक २३, २०८२  १२:१८
प्रतिक्रिया दिनुहोस्