site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
पियोर इनर्जीले तीन महिनामा कमायो ९० लाख रुपैयाँ

काठमाडौं । पियोर इनर्जी लिमिटेडले २०८२/८३ को पहिलो त्रैमासमा ९० लाख पाँच हजार रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीले अघिल्लो आर्थिक वर्षको यसै अवधिमा ५२ लाख ५९ हजार खुद नाफा कमाएको थियो । पियोरले पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गर्दै वर्षको सुरुआतमै नाफा कमाउन सफल भएको हो ।

२०७८ मंसिरमा नेपाल विद्युत् प्राधिकरणसँग विद्युत् खरिद सम्झौता (पीपीए) गरी २०८० वैशाखदेखि व्यापारिक उत्पादन सुरु गरेको पियोर इनर्जीका बाँकेमा १०–१० मेगावाट क्षमताका दुईवटा सोलार आयोजना सञ्चालनमा रहेका छन् । कम्पनीले पहिलो त्रैमासमा विद्युत् बिक्रीबाट ६ करोड ५५ लाख रुपैयाँ आम्दानी गरेको जनाएको छ ।

"यस कम्पनीले पीपीएअनुसार नेपाल विद्युत् प्राधिकरणलाई निरन्तर र कुनै अवरोधबिना बिजुली आपूर्ति गर्दै आएको छ," पियोरले सार्वजनिक गरेको वित्तीय विवरणमा भनिएको छ, "यस त्रैमासिकमा कम्पनीको खातामा नियमित विद्युत् बिक्रीबाट रकम भुक्तानी प्राप्त भएको छ । आगामी अवधिमा पनि यस कम्पनीको आयोजनाको व्यवस्थापनको विश्लेषण गर्दै व्यावसायिक रुपले सक्षम तरिकाबाट सञ्चालन गरी अधिकाधिक विद्युत् उत्पादन गरी नेपाल विद्युत् प्राधिकरणलाई उपलब्ध गराउने योजना छ ।" 

कम्पनीले हालसम्म बैंकबाट लिएको ऋणको साँवा तथा ब्याजको भुक्तानी नेपाल राष्ट्र बैंकद्वारा समय–समयमा गर्दै निर्धारित समयमा भुक्तानी गरिरहेको पनि जनाएको छ ।

गोल्याण ग्रुपअन्तर्गतको पियोर इनर्जी हालसम्म सबैभन्दा धेरै सौर्य उmर्जा उत्पादन गर्ने सोलार कम्पनी हो । गत वैशाखमा आईपीओ निष्कासन गरेपछि कम्पनीको चुक्ता पुँजी ८० करोड रुपैयाँ पुगेको छ । कम्पनीको अघिल्लो वर्ष सोही अवधिको तुलनामा प्रतिसेयर आम्दानी पनि बढेको छ । 

२०८१/८२ को पहिलो त्रैमासमा प्रतिसेयर आम्दानी ३.२९ रुपैयाँ रहेकोमा पछिल्लो समीक्षा अवधिमा ४.५० पुगेको छ । प्रतिसेयर नेटवर्थ पनि उल्लेख्य वृद्धि भएको छ । अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमासमा ९७.२७ रुपैयाँ रहेको थियो भने चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १०१.६१ रुपैयाँ पुगेको छ ।

निरन्तर नाफामा गइरहेको पियोर इनर्जीले सोल पावरमा २६ प्रतिशत सेयर लगानी गरेको छ । पियोर इनर्जीले आफ्नो वेबसाइटमा सार्वजनिक गरेको २०८१/८२ को वित्तीय विवरणअनुसार प्रतिकित्ता सय रुपैयाँ अंकित मूल्यका दुई लाख ६० हजार कित्ता खरिद गरिएको छ । सोल पावरले पाँचवटा सोलार परियोजना निर्माण गरिरहेको छ । नेपाल विद्युत् प्राधिकरणको वार्षिक प्रतिवेदन २०२४–२५ अनुसार सोल पावरअन्तर्गतका पाँचवटै परियोजनाको गत जेठ २९ गते विद्युत् खरिद बिक्री सम्झौता (पीपीए) भएको छ ।

प्रकाशित मिति: मंगलबार, कात्तिक २५, २०८२  १९:३८
प्रतिक्रिया दिनुहोस्