site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
फेदीखोला हाइड्रोपावरले १७ करोड ६० लाखको आईपीओ निष्कासन गर्ने

काठमाडौं । फेदीखोला हाइड्रोपावर कम्पनी लिमिटेडले १७ करोड ६० लाखबराबरको साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । उक्त साधारण सेयर निष्कासन गर्नेसम्बन्धी कार्यको लागि कम्पनीले एनएमबि क्यापिटल लिमिटेडलाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

अधिकृत तथा जारी पुँजी ८० करोड रहेको उक्त हाइड्रोपावरले जारी पुँजीको २२ प्रतिशत अर्थात् १७ करोड ६० लाखबराबरको सेयर निष्कासन गर्नेछ । प्रतिकित्ता अंकित मूल्य १०० रुपैयाँका दरले १७ लाख ६० हजार कित्ता सेयर निष्कासन गर्नेछ । आयोजना प्रभावित क्षेत्रका स्थानीय, वैदेशिक रोजगारीमा रहेका, सामूहिक लगानी कोष योजना, कम्पनीमा कार्यरत कर्मचारीहरू तथा सर्वसाधारणमा तोकिए अनुरुप जारी गर्ने कम्पनीले जनाएको  छ ।

कात्तिक २६ मा भएको निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गर्नेसम्बन्धी सम्झौता–पत्रमा फेदीखोला हाइड्रोपावर कम्पनी लिमिटेडका तर्फबाट प्रबन्ध सञ्चालक प्रकाशचन्द्र दुलाल तथा धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत दीपेशकुमार वैद्यले हस्ताक्षर गरेका छन् ।

भोजपुरको साल्पासिलिछो गाउँपालिका–६ मा बहने फेदी (थुमलुंग) खोलामा निर्माण भैरहेको ४.३ फेदी (थुमलुंग) जलविद्युत् आयोजनाको कुल लागत करिब ९४ करोड रहेको छ । हालसम्म करिब ८५ प्रतिशत निर्माण कार्य सम्पन्न भैसकेको आयोजना ०८२ माघभित्रमा सम्पन्न गर्ने लक्ष्य रहको छ । 

नियामक निकायबाट तोेकिएका सम्पूर्ण प्रक्रिया तथा आवश्यकताहरू पूरा गरी यथासम्भव छिटो निष्कासनको प्रक्रिया अगाडि बढाइने प्रबन्ध सञ्चालक प्रकाशचन्द्र दुलालले बताए ।

प्रकाशित मिति: बिहीबार, कात्तिक २७, २०८२  १६:०२
प्रतिक्रिया दिनुहोस्