काठमाडौं । निजी क्षेत्रका अगुवाहरूले सुरक्षाको प्रत्याभूति गर्न नपाएको गुनासो गरेका छन् । उनीहरूले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई सरकारले पूर्ण सुरक्षाको प्रत्याभूति गराउन नसकेको बताए । आगजनीमा संलग्नलाई अझै कारबाही नभएको भन्दै उनीहरूले तत्काल कारबाहीको माग समेत राखेका छन् ।
नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले निजी क्षेत्र अहिले चुनौतीपूर्ण परिस्थितिबाट अघि बढ्नुपरेको बताएका छन् । राजधानीमा भएको बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)को वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उनले गत वर्षका सूचकहरू हेर्दा अर्थतन्त्र सकारात्मक देखिए पनि अहिले अत्यन्तै अप्ठ्यारो स्थितिको सामना गर्नुपरिरहेको उल्लेख गरे । उनले आन्दोलनका कारण फरक परिस्थिति सिर्जना भएको भन्दै व्यक्तिवादी आक्रमणलाई राज्यले छुट दिन नहुने बताए ।
नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डेले जेनजी पुस्ताले गरेको आन्दोलनपछि मुलुक चुनावतर्फ अग्रसर भएको भन्दै यसलाई सकारात्मक रुरूपमा हेरिनुपर्ने बताए । भ्रष्टाचार निवारण, पारदर्शीता, नीतिगत स्पष्टता आफूहरूको माग रहेको बताउँदै जेनजीले उठाउँदै आएका मागहरू पूरा हुनुपर्नेमा जोड दिए ।
पाण्डेका अनुसार, नयाँ सरकार गठनसँगै राष्ट्र बैंकले लिएका पछिल्ला नीतिहरूले समेत त्यो सन्देश दिएको छ । जेनजी आन्दोलनले पारेको असरलाई समेटेर परिसंघले अध्ययन गरिरहेको बताए ।
उनले भने, "विगतमा जस्तै आगामी दिनमा लगानी, अर्थतन्त्र, जेनजी आन्दोलनले व्यवसायमा पारेको प्रभाव, लगायतका विषयमा अध्ययन गरिरहेका छौँ । हामी सार्वजनिक गर्नेछौँ ।"
नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालले जेनजी आन्दोलनपछि लगानीकर्तामा निराशा छाएको बताए । उनले सरकारले तत्कालै सुरक्षाको प्रत्याभूति गर्न जरुरी रहेको बताउँदै राष्ट्र बंैंकले समेत प्रभावकारी नीति अंगिकार गर्नुपर्नेमा जोड दिए ।
अग्रवालले भने, "लगानीको आकर्षण बढाउन सरकारले सुरक्षाको प्रत्याभूति गराउनुपर्छ । हामीले प्रधानमन्त्री, अर्थमन्त्रीलाई पनि भनिसकेका छौँ । तत्कालै हामीलाई सुरक्षाको प्रत्याभूति चाहियो ।"
उनले सरकारले लिने नीतिगत कुराहरू छिनछिनमा परिवर्तन हुँदा निजी क्षेत्रलाई मार पर्ने गरेको बताए । न्युज एजेन्सी नेपाल