काठमाडौं । मौलाकाली केबलकारको माथिल्लो स्टेसनमा निर्माण भएको इला होटल एण्ड रिसोर्ट औपचारिक रूपमा सञ्चालनमा आएको छ । यससँगै केबलकार सेवा पनि अब केही दिनमै पुनः सुचारु हुने भएको छ ।
भदौ २४ मा भएको घटनाबाट प्रभावित बटम स्टेशनका संरचना मर्मत–सम्भारको काम अन्तिम चरणमा पुगेको कम्पनीले जनाएको छ । “हाम्रो प्रयास सकेसम्म छिटो सेवा पुनः सुचारु गर्ने र अझ बलियो भएर अघि बढ्ने हो,” कम्पनीका अध्यक्ष चन्द्रप्रसाद ढकालले लेखेका छन् ।
उनका अनुसार अप्ठ्यारो समयमा साथ, हौसला र विश्वास गर्नेप्रति विशेष धन्यवाद व्यक्त गर्दै कम्पनी अब नयाँ ऊर्जा र उत्साहका साथ स्वदेशी तथा विदेशी पर्यटक स्वागत गर्न पूर्ण तयार रहेको छ ।
पर्यटन प्रवर्द्धन, स्थानीय अर्थतन्त्रमा योगदान र मौलाकालीलाई धार्मिक गन्तव्यका रूपमा थप उचाइमा पुर्याउन आफूहरू प्रतिबद्ध रहेको ढकालले बताएका छन् ।