सुर्खेत । नेपाली चलचित्रका अभिनेता राजेश हमालले सिनेमा क्षेत्रमा प्रवेश गर्न जति सजिलो भए पनि दिगो रूपमा टिक्न गाह्रो भएको बताएका छन् ।
शनिबार (कात्तिक २९) सुर्खेतको वीरेन्द्रनगरमा फाइन प्रिन्टद्वारा आयोजित घुम्ती साहित्य उत्सवमा डा. नवराज केसीसँगको अन्तरंगमा हमालले नायकनायिका हुन सजिलो भए पनि त्यसको दिगोपनमा चुनौती देखिएको धारणा व्यक्त गरे । उनले कला र कलाकारिता क्षेत्र समाजको दर्पण भएको जनाए ।
मानव जीवनका सबै कुरा अस्थायी भए पनि भावना स्थायी हुने जनाउँदै उनले भने, “भावनामा माया, स्नेह, रिस, त्रास, आवेग, दया, करुणालगायत सबै रस पाइन्छन् । कला र साहित्यले समाजका सबैखाले रसको उजागर गरी काल्पनिकताबाट वास्तविकता ओकेल्छ ।”
आफ्नो पुस्तक ‘युगदेखि युगसम्म’मा कला, साहित्य, कलाकारिता र सिने क्षेत्रका अन्तरवस्तु उल्लेख रहेको उनले बताए ।
डा. केसीले साहित्य, कला, कविता र कलाकारिताको जन्म, मृत्यु र दिगोपन र त्यसले बालबालिकामा पार्ने मनोवैज्ञानिक प्रभावका विषयमा हमालसँग अन्तरसंवाद गरेका थिए । रासस