site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
आरकेडी होल्डिङ्स र खिलुङकालिका एग्रो उत्कृष्ट करदाता

पोखरा । राष्ट्रिय कर दिवसको अवसरमा आन्तरिक राजस्व कार्यालय पोखराले दुई उत्कृष्ट करदातालाई सम्मान गरेको छ । यस वर्ष कार्यालयअन्तर्गत सबैभन्दा बढी कर तिर्ने करदातामा ‘आरकेडी होल्डिङ्स लिमिटेड’लाई सम्मान गरिएको छ । त्यस्तै, करदाता सेवा कार्यालय स्याङ्जाअन्तर्गत सबैभन्दा बढी कर योगदान गर्ने करदाता ‘खिलुङकालिका कन्स्ट्रक्सन प्रा.लि.’ लाई सम्मान गरिएको छ ।

उनीहरूलाई सम्मानपत्रसहित दोसल्ला ओडाएर प्रमुख जिल्ला अधिकारी रूद्रादेवी शर्मा र कर अधिकृत शिवप्रसाद ढुंगानाले सम्मान गरेका थिए । 

सम्मानित भएका आरकेका सञ्चालक रामचन्द्र शर्माले नयाँ उद्यमीलाई सहयोग गर्नुपर्ने बताए । राज्यलाई कर तिर्ने कुरा ठूलो नरहेको बताउँदै उनले वित्तीय साक्षरतामा जोड दिनुपर्ने बताएका थिए । राजस्व धेरै ठाउँबाट बुझाउनुपर्ने सिस्टमको अन्त्य गर्नुपर्ने उनले माग राखे ।

कार्यक्रममा सहभागी हुँदै कास्कीकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले देशको विकासमा निजी क्षेत्रको महत्त्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै, निजी क्षेत्रलाई प्रोत्साहित गर्ने गरी करमैत्री वातावरण निर्माण आवश्यक भएको बताइन् । उनले व्यावसायिक वातावरण सुधार र उद्यमीको मनोबल उच्च बनाउन सरकारी निकाय सदैव तयार रहने धारणा राखिन ।

त्यस्तै, आन्तरिक राजस्व कार्यालय पोखराका प्रमुख कर अधिकृत ढुंगानाले कर सेवा प्रवाहलाई अझ सहज र पारदर्शी बनाउँदै करको दायरा विस्तारतर्फ कार्यालय केन्द्रित रहेको बताए । उनले आर्थिक ऐन २०८२ ले प्रदान गरेको कर सम्बन्धी छुट–सुविधाबाट लाभ लिन करदातालाई आग्रह समेत गरे ।

कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघ, लेखनाथ उद्योग वाणिज्य संघ, पोखरा चेम्बर अफ कमर्स लगायतका व्यावसायिक संघ–संस्थाका प्रतिनिधिहरूले निजी क्षेत्रलाई प्रोत्साहन गर्न राज्यको सक्रिय भूमिका अपरिहार्य रहेको बताएका थिए ।

आन्तरिक राजस्व कार्यालय पोखराका अनुसार, २०८२ कात्तिक मसान्तसम्म उक्त कार्यालयअन्तर्गत ६९ हजार ८०६ व्यावसासयक स्थायी लेखा नम्बर जारी गरिएका छन ।

आन्तरिक राजस्व कार्यालयको कार्यक्षेत्र कास्की र स्याङ्जा जिल्ला हो । स्याङ्जामा रहेको सेवा कार्यालय यसवर्षदेखि हटाइएको छ । 

आन्तरिक राजस्व कार्यालय पोखराअन्तर्गत २०८२ कात्तिक मसान्तसम्म व्यावसायिक स्थायी लेखा नम्बर लिने करदाताको संख्या ६९ हजार ८ सय ६ रहेको छ । जसमध्ये मूल्य अभिवृद्धि करमा १२ हजार ८६९, अन्तः शुल्कमा चार हजार ५४२ करदाता आबद्ध छन् । पोखरा कार्यालयअन्तर्गत दुई लाख १८ हजार १२९ करदाताले व्यक्तिगत स्थायी लेखा नम्बर लिएका छन् ।

प्रकाशित मिति: सोमबार, मंसिर १, २०८२  १८:३५
प्रतिक्रिया दिनुहोस्