काठमाडौं । नेपाली क्रिकेटको सबैभन्दा ठूलो घरेलु प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणका सबै खेल डिशहोम गो एपमार्फत प्रत्यक्ष हेर्न सकिने छ । क्रिकेट संघ नेपाल (क्यान)बाट प्राप्त प्रसारण अधिकारका आधारमा डिश मिडिया नेटवर्कले यस वर्षका सबै ३२ खेल नयाँ प्रवाह–माध्यममार्फत प्रसारण गर्न तयारी पूरा भएको जानकारी दिएको छ ।
सोमबारदेखि सुरु भएको प्रतियोगिता मंसिर २७ गतेसम्म कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सञ्चालन हुनेछ ।
डिशहोम गोले एनपीएल–२ को प्रत्यक्ष प्रसारण आफूले मात्र उपलब्ध गराउने स्पष्ट गरेको छ । युट्युब वा अन्य कुनै पनि वितरकमार्फत प्रतिस्पर्धाको प्रत्यक्ष प्रसारण नहुने कम्पनीको भनाइ छ । दर्शकलाई बिनाविज्ञापन खेल हेर्न मिल्ने व्यवस्था गरिएको छ, जसले प्रत्यक्ष रूपमा सफासुधा दृश्यका साथ उच्च गुणस्तरको प्रवाह उपलब्ध गराउने बताइएको छ ।
दर्शकले भुक्तानीका लागि मोबाइक भुक्तानी माध्यम ‘इसेवा’ र ‘खल्ती’ तथा अन्तर्राष्ट्रिय कार्डमार्फत सहज रूपमा सेवा किन्न सक्नेछन् । नेपालभित्र, मध्यपूर्व तथा अन्य मुलुकका दर्शकका लागि छुट्टाछुट्टै शुल्क तोकिएको छ । नेपालका दर्शकहरूले तीन सय रुपैयाँमा, मध्यपूर्वमा रहेका दर्शकले पाँच सय रुपैयाँमा र अन्य सबै मुलुकका दर्शकले दश अमेरिकी डलरबराबरको शुल्कमा सम्पूर्ण प्रतियोगिता हेर्न सक्नेछन् ।
एप प्रयोग गरेर सदस्यता लिएपछि प्रत्यक्ष प्रसारणसँगै पुनः हेर्न मिल्ने कार्यक्रम तथा अन्य सामग्रीसमेत उपलब्ध हुने कम्पनीले जनाएको छ । डिशहोम गो मोबाइल एप, एन्ड्रोइड आधारित टेलिभिजन तथा वेबमार्फत उपलब्ध छ । नयाँ प्रयोगकर्ताले गुगल प्ले स्टोर तथा एप स्टोरबाट सो एप डाउनलोड गरी दर्ता गरिसकेपछि खेल दर्शनीय हुने व्यवस्था गरिएको छ ।
उच्च गुणस्तरको प्रसारणका लागि डिशहोम गोले प्रविधि साझेदारका रूपमा मोबियोटिक्स र अकामाईसँग सहकार्य गरेको छ । मोबियोटिक्सले अन्तर्राष्ट्रिय प्रतियोगितामा अत्यधिक संख्यामा दर्शक व्यवस्थापन गरेको अनुभव रहेको बताइन्छ । त्यस्तै, अकामाई विश्वप्रसिद्ध सामग्री वितरण प्रविधि प्रदायक मानिन्छ, जसको सहयोगले एनपीएल–२ को प्रवाह अझ स्थिर र तीव्र हुने दाबी गरिएको छ ।
डिश मिडिया नेटवर्कका प्रतिनिधिका अनुसार, नेपाली प्रिमियर लिगलाई डिजिटल माध्यममार्फत विश्वभर पुर्याउने लक्ष्यअनुसार यो प्रयास गरिएको हो । लोकप्रिय भुक्तानी माध्यम उपलब्ध गराइएको कारण दर्शकले सदस्यता लिन अझ सरल र सुरक्षित प्रक्रिया अपनाउन सक्ने कम्पनीको भनाइ छ ।
डिशहोम गो सेवाप्रति भित्र–बाहिर दुवै स्थानबाट सकारात्मक प्रतिक्रिया प्राप्त भएको दाबी गर्दै कम्पनीले एनपीएल–२ पनि विश्वभरबाट उत्तिकै चासो पाउने अपेक्षा व्यक्त गरेको छ । प्रतियोगिता हेर्न चाहनेले डिशहोम गो एप वा डिशहोमको आधिकारिक वेबसाइटबाट मात्र पहुँच पाउने, अन्य कुनै माध्यममा उपलब्ध नहुने कम्पनीले स्पष्ट गरेको छ ।