site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
लुम्बिनी लायन्ससँग जोडियो नेपाटप

काठमाडौं । निर्माण सामग्री उत्पादन एवं वितरणमा छुट्टै पहिचान बनाउन सफल कम्पनी नेपाटप अर्गनाइजेसन काठमाडौंमा मंसिर १ गतेदेखि सुरु भएको दोस्रो नेपाल प्रिमियर लिगमा लुम्बिनी लायन्ससँग जोडिएको छ । नेपाटप अर्गनाइजेसनका अध्यक्ष दिपक श्रेष्ठ र लुम्बिनी लायन्सका अध्यक्ष ईश्वर जिसीले सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् । 

सम्झौतापछि लुम्बिनी लायन्सका अध्यक्ष जिसीले नेपाटप जस्तो प्रतिष्ठित ब्रान्डसँगको साझेदारीले टोलीलाई यो सिजनमा थप हौसला प्रदान गर्ने एवं खेलकुदमा निजी एवं व्यावसायिक क्षेत्रको प्रवेशमा अझ फराकिलो आधार तयार गर्ने धारणा व्यक्त गरेका छन् । 

नेपाटप अर्गनाइजेसनका अध्यक्ष श्रेष्ठले पछिल्लो समय सबै पुस्तामा लोकप्रिय रहेको क्रिकेट खेलको विकासमा बुद्धभूमिको सन्देश बोकेको लुम्बिनी लायन्ससँग जोडिन पाएकोमा खुसी व्यक्त गरे । खेलकुद प्रवर्द्धनमार्फत समाजलाई एकताको सकारात्मक सन्देश दिने एवं स्थानीय युवाहरूको प्रतिभा प्रस्फुटन गराउने कार्यमा कम्पनीको सदैव साथ रहने घोषणा गरे ।  

पछिल्लो समय क्रिकेट प्रतियोगितामार्फत खेलकुदमा जोडिएको नेपाटप वाटर टैंक, पीपीआर पाइप तथा फिटिङस्, यूपीभीसी तथा फिटिङस्, सीपीभीसी तथा फिटिङस्, यूपीभीसी झ्याल ढोका, एचडीपीई पाइ, डीडब्ल्यू, सी, स्टेनलेस स्टिल, स्टेनलेस स्टिल टैंक लगायतका विभिन्न निर्माण सामग्री उत्पादन तथा पानी तान्ने पम्प, ग्याँस गिजर, इलेक्ट्रिक गिजर लगायतका सामग्री वितरण गरिरहेको स्वदेशी बजारमा प्रचलित ब्रान्ड हो ।  

सहमतिपत्रमा हस्ताक्षर कार्यक्रममा नेपाटप अर्गनाइजेसनका प्रबन्ध निर्देशक अमृत प्रसाद, वरिष्ठ बजार व्यवस्थापक विनोद महत एवं लुम्बिनी लायन्सका प्रमुख कार्यकारी अधिकृत भावना घिमिरेको उपस्थिति रहेको थियो । राष्ट्रिय टोलीका कप्तान रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनी लायन्सबाट नेपालीसहित अस्ट्रेलिया, अफगानिस्तान, नामिबिया र इटालीका अन्तर्राष्ट्रिय खेलाडीहरूले खेल्नेछन् । 

प्रकाशित मिति: मंगलबार, मंसिर २, २०८२  २१:०८
प्रतिक्रिया दिनुहोस्