टोकियो । गायक अमृत गुरुङ मञ्चमा देखा पर्नासाथ तीनतले बालकोनी भएको भूमिगत हलभित्र ठूलो तरंग फैलियो । झिलिमिली बत्ती र दर्शकको चिच्याहटबाट स्वागत पाएका अमृतले माइक समातेर गाउन थाले, ‘हो रामा रामा, हाई माया हाँसिदिँदा देब्रे गाला डिम्पल बसने ।’
कन्सर्ट सुरु हुनुभन्दा आधा घण्टा पहिल्यै डाउनटाउनस्थित ‘टोकियो डोम सिटी हल’ भरिभराउ थियो । नेपथ्यले हिमपातको प्रभावसाथ प्रस्तुत गरेको ‘भेडाको ऊनजस्तो’ले हलभित्रको तरंगलाई अर्को उचाइ दियो । त्यसपछि आफ्नो सर्वकालिक हिट गीत ‘छेक्यो छेक्यो’ गाउँदासम्म ब्यान्डले माहोलमा कब्जा जमाइसकेको देखिन्थ्यो ।
“कामको बोझले थिचिएको यहाँको व्यस्त जीवनबीच मभित्र जम्दै गएको छटपटीलाई निकास दिने यो नै सर्वोत्तम ओखती थियो,” तनहुँको बन्दीपुरबाट तीन वर्षअघि जापान आएकी सोनिका गुरुङ भनिरहेकी थिइन्, “अनुशासनबद्ध प्रस्तुति र देशभक्तिको भावनाले भरिएको नेपथ्य कन्सर्टले पूर्ण सन्तुष्टि दिएको छ ।”
जापानकै प्रसिद्ध यस हलमा नेपथ्यले सात वर्षपछि दोस्रो प्रस्तुति दिएको हो । यस सहरमा भने दुई वर्षअघि पनि ब्यान्डको कन्सर्ट थियो । नेपथ्यका लागि प्रारम्भका दिनका अवसरदेखि लिएर ब्यान्ड विघटनसम्मका थुप्रै तितामिठा घटनाको साक्षी हो टोकियो । नेपथ्यले मुलुकबाहिर सबैभन्दा धेरै कन्सर्ट गरेको सहरमध्ये पनि पर्छ यो ।
मङ्गलबारको कन्सर्टमा रोजगारीका लागि मात्रै नभई पढ्नका निम्ति आएका विद्यार्थीको पनि उल्लेख्य उपस्थिति थियो ।
मध्यतिर ‘यो जिन्दगानी’ गीतका साथ कन्सर्ट जब सामाजिक दायरामा प्रवेश गर्यो, अमृतले त्यसैसँग सान्दर्भिक भनाइ राखे । “तपाईंहरूले पढ्ने अवसर पाए पनि नेपालमा अझै धेरै केटाकेटीले शिक्षाको उज्यालो देख्न पाएका छैनन्,” उनले भने, “थोरै पैसा बचाएर भए पनि त्यस्ता केटाकेटीलाई स्कुलको दैलोसम्म पठाउन योगदान गरिदिनुस् ।”
कन्सर्टको अन्त्य राष्ट्रिय झन्डाको महिमा गरिएको ‘रातो र चन्द्रसुर्जे’ गीतबाट भएको थियो ।
तस्बिर : दिपीत राज ।