site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
लुम्बिनी प्रदेशको बजेट खर्च साढे ११ प्रतिशत

बुटवल । गएको कात्तिक मसान्तसम्म लुम्बिनी प्रदेश सरकारले ११.५३ प्रतिशत बजेट खर्च गरेको छ । पहिलो चौमासिकसम्म चार अर्ब ४८ करोड ८० लाख ८३ हजार रुपैयाँ खर्च भएको प्रदेश कोष तथा लेखा नियन्त्रक कार्यालयले जनाएको छ ।

लुम्बिनी सरकारले चालु आर्थिक वर्ष २०८२/८३ मा ३८ अर्ब ९१ करोडको बजेट ल्याएको थियो । चालुतर्फ १४.२८ प्रतिशत रकम खर्च भएको छ । चालुतर्फ १५ अर्ब ४३ करोड ८५ लाख ३५ हजार बजेटमध्ये कात्तिक मसान्तसम्म दुई अर्ब २० करोड ५३ लाख आठ हजार ११७ रुपैयाँ खर्च भएको प्रदेश लेखा नियन्त्रक दीपक ज्ञवालीले बाह्रखरीलाई जानकारी दिए ।

पहिलो चौमासिकसम्म लुम्बिनी प्रदेशको कुल खर्च ११.५३ प्रतिशतमै सीमित हुनुमा ‘जेनजी’ आन्दोलनको प्रभाव परेको संकेत देखिएको उनले बताए । आन्दोलनका कारण प्रशासनिक सञ्चालनदेखि विकास आयोजना कार्यान्वयनसम्मको गतिशीलता कमजोर बनेको ज्ञवालीको भनाइ छ ।

उनका अनुसार, पुँजीगततर्फ २३ अर्ब ४७ करोड १४ लाख ६५ हजार बजेटमध्ये दुई अर्ब २८ करोड २७ लाख ७४ हजार ९९३ रुपैयाँ खर्च भएको छ । कुल बजेटको यो ९.७३ प्रतिशत रकम हो ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जम्मा ७.८६ प्रतिशत खर्च गरेको छ । स्वास्थ्य मन्त्रालयको बजेट खर्च ३०.४३ प्रतिशत भएको छ ।

यस्तै, उद्योग, पर्यटन तथा यातायात मन्त्रालयले ६.३० प्रतिशत रकम खर्च गरेको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको जम्मा ४.२० प्रतिशत बजेट खर्च भएको प्रदेश लेखा नियन्त्रक कार्यालयका सूचना अधिकारी रवीन्द्र अर्यालले जानकारी दिए ।

उनका अनुसार, कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले ११.४८, आन्तरिक मामिला तथा कानुन मन्त्रालयले ५.०६ प्रतिशत बजेट खर्च गरेको छ ।

वन तथा वातावरण मन्त्रालयले ९.९०, भौतिक पूर्वाधार विकास मन्त्रालयले ७.८३ र युवा तथा खेलकुद मन्त्रालयले ४.७८ प्रतिशत रकम खर्च गरेको छ ।

सहकारी विकास तथा खानेपानी मन्त्रालयले ८.९६ र सामाजिक विकास मन्त्रालयले ३.८६ प्रतिशत बजेट खर्च गरेको छ ।

प्रदेशसभा सचिवालयले १५.४४ प्रतिशत बजेट खर्च गरेको छ । प्रदेशसभा सचिवालयको चालुतर्फ १७.४४ र पुँजीगततर्फ बजेट खर्च हुन सकेको छैन ।

प्रदेश लोकसेवा आयोगको १६.८० प्रतिशत बजेट खर्च भएको छ । यसको पनि पुँजीगततर्फ १७.९२ प्रतिशत र पुँजीगततर्फको बजेट खर्च हुन सकेको छैन ।

प्रदेश योजना आयोगले १२.४२ प्रतिशत बजेट खर्च गरेको छ ।

स्थानीय तहलाई करिब २२ प्रतिशत भुक्तानी
स्थानीय तह निकासातर्फ चालु शीर्षकअन्तर्गत करिब २२ प्रतिशत रकम भुक्तानी गरिएको छ । लुम्बिनी सरकारले २१.८४ प्रतिशत बजेट निकासा गरेको हो ।

स्थानीय तहलाई छुट्ट्याइएको तीन अर्ब ४२ करोड ३७ लाख ४९ हजारमध्ये ७६ करोड ७६ लाख ११ हजार ५१५ रुपैयाँ ६० पैसा भुक्तानी दिइएको कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, मंसिर ५, २०८२  १६:०५
प्रतिक्रिया दिनुहोस्