काठमाडौं । नायिका वर्षा राउतले समाजमा बाँच्न कठिन भइरहेको बताएकी छन् । केही दिनअगाडि एक टेलिभिजन अन्तर्वार्तामा बोलेको विषयलाई लिएर सामाजिक सञ्जालमा आलोचना भएपछि उनले नकारात्मक सोच रहेको समाजमा बाँच्न कठिन भइरहेको बताएकी हुन् ।
समाजमा रहेको दोहोरो मापदण्डका कारण महिलालाई बाँच्न कठिन रहेको उनको भनाइ छ ।
“कहिलेकाहीँ मान्छेले आत्महत्याको विचार ल्याउनुपर्ने अवस्था सिर्जना हुन्छ, किनकि उसले चाहेर होइन, समाजले बोकेको अपेक्षा, दबाब र अन्यायले मान्छेलाई घुमाउरो बाटोमा धकेलिदिन्छ,” वर्षा सामाजिक सञ्जाल फेसबुकमा लेख्छिन्, “हाम्रो समाजले सदैव सबै राम्रो देखिनुपर्छ भन्ने मुखौटा लगाउन बाध्य पार्छ । तर, भित्रको गल्ती, अन्याय, असमानता बदल्न कहिल्यै तयार हुँदैन ।”
श्रीमतीलाई अपमानजनक शब्दले बोल्दा समाज मौन बस्ने गरेको उनको गुनासो छ । श्रीमतीले सहनुपरेको धोका, चोट, बेइजतिमा कसैलाई चासो नहुने तर एउटै महिलाले आफ्नो आवाज उठाइदिँदा ‘तिमी’ सम्बोधन गर्दा त्यही समाजले औंला उठाउने गरेको उनले बताएकी छन् ।
“मानौँ उसको मुखमा थुकेको परिमाणले मात्र समाजको इज्जत जोगिने जस्तो,” वर्षाले लेखेकी छन् ।