site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
ढुंगा–गिट्टी नपाएपछि प्रभावित बन्यो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नति
फाइल तस्बिर

काठमाडौं । खानीबाट ढुंगा–गिट्टी नपाएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्तरोन्नतिमा अवरोध पैदा भएको छ । ललितपुरको गोदावरी नगरपालिका क्षेत्रका खानीका ती सामग्री प्रयोग गरिन्थ्यो । 

तर, ती खानीले नगरपालिका तथा वन कार्यालयको राजस्व नतिरका कारण खानी उत्खनन गर्न पाएका छैनन् । जसकारण विमानस्थल स्तरोन्नति गर्न कच्चा सामग्रीको अभाव भएको हो ।

उक्त क्षेत्रमा सञ्चालित निराकर ढुंगा रोडा उद्योग प्रा.लि., मछिन्द्रनाथ मल्टीप्रपोज प्रा.लि. र वीरेन्द्र महर्जन ढुंगा उद्योग प्रा.लि.माथि राजस्व ठगीको मुद्दा छ । विमानस्थल स्तरोन्नति यिनै खानीबाट कच्चा सामाग्री प्रयोग गरिन्थ्यो । 

गोदावरी नगरपालिकाले मछिन्द्र मल्टी प्रपोज प्रा.लि र निराकर ढुंगा रोडा उद्योग प्रा.लि.विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको भएको छ । जसमा निराकारको ५ करोड १० लाख ५१ हजार ३३४ रुपैयाँ नगरपालिकालाई बुझाउनुपर्ने मुद्दा छ । 

यस्तै, मछिन्द्रले १० करोड रोयल्टी तिर्नुपर्ने मुद्दा विचाराधीन छ । वीरेन्द्र महर्जन ढुंगा उद्योग प्रा.लि.विरुद्ध वन मिच्दै उत्खनन गरेको मुद्दा छ । 

गोदावरी नगरपालिकाका प्रवक्ता मिलन सिलवालका अनुसार, खानीले राजस्व नतिरेका कारण नगरपालिकाले मुद्दा दायर गरेको छ । अब अदालती छिनोफानो पछि मात्रै समाधान हुन्छ ।

 “यो अदालतमा मुद्दा गएको छ । उहाँहरूले राजस्व नतिरेका कारण समस्या आएको हो,” उनले भने, “अदालती प्रक्रिया भएका कारण हामीले भनेर केही हुँदैन ।”

निर्माण सामग्रीको अभावले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नति कार्य प्रभावित भएको नागरिक उड्ड्यन प्राधिकरण (क्यान) जनाएको छ । झण्डै दुई सातादेखि स्तरोन्नति कार्य अवरुद्ध भएको क्यानको भनाइ छ । 

“दुई साता जति भयो, स्टक सकिएपछि समस्या भएको छ । यो आर्थिक वर्ष लागेसँगै हामीले ल्याउने ठाउँमा उत्खनन् गर्न नदिएका कारण समस्या भएको छ,” आयोजना प्रमुख दीपेन्द्र श्रेष्ठले भने, “समस्या समाधान गर्न हामीले प्रयास गरिरहेका छौं ।”

क्यानले गतवर्षको कात्तिक २३ देखि विमानस्थल स्तरोन्नतिको कार्य सुरु गरेको थियो । सुरुमा रातको समय १० घण्टा विमानस्थल बन्द गरेर स्तरोन्नति कार्य सुरु गरेको थियो । चैत १९ पछि विमानस्थल बन्द नगरीकन काम भइरहेको छ । 

अबको एक वर्षमा सकिने थियो । तर, कच्चा सामग्री अभावले अवधि धकेलिने देखिएको श्रेष्ठ बताउँछन् ।

“समस्या समाधानको टुंगो नलागेको हुँदा हाम्रो सप्लाई हुन पाएको छैन । त्यसकारण असर परेको छ,” उनले भने, “अब मेटरियल सकिएका कारण एग्रिगेटसम्बन्धी काममा बाधा पुगेको हो ।”

खानीले सामग्री नदिएका कारण ढलानका लागि चाहिने ‘बेस’ मेटेरियल अभाव भएको श्रेष्ठ बताउँछन् । आयोजनाले गोदावरी क्षेत्रबाट सामग्री नआएपछि अन्य विकल्पपनि हेर्न थालेको छ । “हामीले अब अन्य विकल्प पनि हेर्न थालेका छौं,” उनले भने, “यसका लागि विशेष प्रकारको सामग्री चाहिने हुँदा जाँचेर उपयुक्त भएको मात्रै लिनुपर्ने हुन्छ । त्यसकारण हामी अन्य स्थानको पनि चेक गरिरहेका छौं ।”

स्तरोन्नतिमा गिट्टीलगायतका सामग्री अभाव भएसँगै अन्य विकल्पका काममा तीव्रता दिइएको श्रेष्ठले बताए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हाल ‘ट्याक्सी वे’, ‘ह्याङगर’ एप्रोनको काम भइरहेको छ । 

ट्याक्सी वे भनेको विमानस्थलभित्र विमान चल्ने विशेष मार्ग हो । विमानले उडान सुरु गर्नुअघि रनवेमा पुग्न, अवतरण भएपछि रनवेबाट हटेर पार्किङ क्षेत्रमा जाने यिनै ट्याक्सी वे प्रयोग गर्छन् । 

ह्याङ्गर भनेको विमानका लागि बनाइने भवन हो । जहाँ विमान आवश्यक मर्मत–सम्भार, सफाइ, निरीक्षण तथा प्राविधिक परीक्षण गरिन्छन् । एप्रोन विमानस्थलको पार्क क्षेत्र हो । यही स्थानमा यात्रु चढ्ने–ओर्लने, सामान राख्ने–उतार्ने, क्याटरिङ सेवा दिने तथा इन्धन भर्ने जस्ता प्रमुख कामहरू हुन्छन् । 

यी क्षेत्रको निर्माण तथा स्तरोन्नतिको काम भइरहेको छ । जसमा ट्याक्सी वेको काम ६२ प्रतिशत सकिएको छ । यस्तै ह्याङगरको काम ४५ प्रतिशत र एप्रोनको काम ८० प्रतिशत सकिएको श्रेष्ठ बताउँछन् । हाल त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको वार्षिक क्षमता ८०/८५ लाख छ । करिब ६ वर्षअघि रनवे करिब ७० लाख क्षमता रहेको त्रिभुवन विमानस्थल रनवे स्तरोन्नति गरेपछि १० लाख बढाएको थियो । 

करिब ८० लाख रहेको ट्क्यासी वे निर्माणपश्चात १० देखि १५ लाख थपिने हुँदा क्षमता एक करोडको हाराहारी पुग्ने क्यानका सूचना अधिकारी ज्ञानेन्द्र भुल बताउँछन् । 

“हामीले २०७५ मा ‘रनवे रिह्याबिलेसन प्राजेक्ट’ भनेर रनवे रिह्याव गर्‍यौं । यसले विमानस्थलको क्षमता लगभग १० लाख बढ्यो,” उनले भने, “यसपटक ट्याक्सी वे निर्माण पछि यो संख्या थप हुनेछ ।”

त्रिभुवन विमानस्थलमा पाँचवटा ट्याक्सी वे रहेको र रनवेको छेउसम्म पुग्न लामो समय लाग्ने भएको हुँदा विमान उडानमा र अवतरणमा समय बढी लाग्ने गरेको भूल बताउँछन् । 

“हाम्रोमा रनवेसम्म पुग्ने ट्याक्सी वे नभएका कारण पनि विमान तीन मिनेट जति बढी समय लिइरहेको छ । रनवेबाट उडानसम्म एक मिनेटमा हुनुपर्ने काम चार मिनेट लागेको छ । यसलाई रनवे होल्डिङ क्यापासिटी भन्छ । एक मिनेटमा एउटा जहाज उड्नुपर्ने तीन मिनेटमा एउटा उड्यो भनेपछि एक घण्टामा २० वटा जहाज उड्छ । जबकि ६० वटा जहाज उड्नुपर्ने थियो । त्यो क्षमता बढाउन रनवेको इन्ड टु इन्डसम्म ट्याक्सी वे बनाउन लागेका हौं” उनले भने । 

विमान उडान र अवतरणमा निकै ढिलाई भएको भन्दै ट्याक्सी वे निर्माणका लागि २०८१ कात्तिक २३ देखि काम सुरु गरेको थियो ।

यसअघि ०८१ जेठ २१ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितपुरको गोदावरी नगरपालिकाका नगरप्रमुख (मेयर) गजेन्द्र महर्जनसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

उनीहरूले क्रसर, खानी तथा नदीजन्य पदार्थमा राजस्व उठाउँदा २६ करोड ६३ लाख ३७ हजार ३९८ रुपैयाँ भ्रष्टाचार गरेको ठहर गर्दै अख्तियारले विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको गरेको थियो । विशेषले उक्त मुद्दामा ०८१ साउन ३० गते सफाइ दिएको थियो ।
 

 

प्रकाशित मिति: शुक्रबार, मंसिर १२, २०८२  ०९:४३
प्रतिक्रिया दिनुहोस्