site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
नीति निर्माणका लागि एडीबीको १० करोड डलर ऋण स्वीकृत

काठमाडौं । एसियाली विकास बैंक (एडीबी)ले नेपालका लागि १० करोड डलर ऋण स्वीकृत गरेको छ ।

एडीबीले नेपालमा सार्वजनिक खर्च तथा ऋण व्यवस्थापन सुधार गर्न र संघीय तथा स्थानीय तहमा स्रोत योजना, वित्तीय व्यवस्थापन तथा सेवा प्रवाह सुदृढ बनाउन १० करोड अमेरिकी डलरबराबरको नीतिगत ऋण स्वीकृत गरेको हो ।

यो कार्यक्रमले वित्तीय दिगोपन सुदृढ गर्ने, सुशासन सुधार गर्ने र स्थानीय तहलाई अझ सशक्त बनाउने सुधारलाई तीव्र बनाउने जनाइएको छ ।

“स्थानीय सरकारले स्रोत योजना तथा आन्तरिक आय आर्जन क्षमता प्रभावकारी रूपमा बढाउन सकेपछि केन्द्रबाट आउने अनुदानमाथिको निर्भरता घट्नेछ, संघीय संरचना मजबुत हुनेछ र दीर्घकालीन सहनशीलता बढ्नेछ,” नेपालका लागि एडीबीका निर्देशक आर्नोद कोस्वाले भने ।

यो पहल नेपाल सरकारको पञ्चवर्षीर्य योजनासँग मेल खान्छ । नेपालमा वित्तीय सुशासन तथा विकेन्द्रीकरण सुधार अघि बढाउन एडीबीले गरेको अघिल्लो सहुलियतपूर्ण नीतिनिर्देशित सहयोगकै आधारमा तयार गरिएको हो ।

कार्यक्रमले खर्च तर्कसंगत बनाउने, राजस्व उत्पादन बढाउने, वित्तीय जोखिम घटाउने, नयाँ वित्तीय स्रोत परिचालन गर्ने तथा सार्वजनिक संस्थानहरूको व्यवस्थापन र सुशासनलाई सुधारेर वित्तीय दिगोपन र वित्तीय संघीयता मजबुत बनाउने बताइएको छ ।

 

प्रकाशित मिति: शुक्रबार, मंसिर १२, २०८२  १७:५७
प्रतिक्रिया दिनुहोस्