काठमाडौं । औषधि व्यवसायीले आफूहरूका माग सुनुवाइ नगरेको भन्दै सरकारको आलोचना गरेका छन् । सोमबार (मंसिर १५) पनि उनीहरू धर्ना दिन काठमाडौंको नयाँ बानेश्वरस्थित औषधि व्यवस्था विभागको कार्यालयमा पुगेका थिए ।
उनीहरूले आफूहरूका माग सुनुवाइ नगरेको र धर्नामा बस्न पनि नदिने गरी प्रहरी परिचालन गरिएको भन्दै स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा गौतम र गृहमन्त्री ओमप्रकाश अर्यालको आलोचना गरेका हुन् ।
सरकारले आफूहरूका मागको सुनुवाइ गर्नुको साटो शान्तिपूर्ण रूपमा धर्नामा बस्ने अधिकार समेत हनन गरेको भन्दै औषधि व्यवसायी गोपालराज पाण्डेले आपत्ति जनाए । उनले आफूहरूका माग तत्काल सुनुवाइ नगरे सबै व्यवसाय बन्द गरेर सडक संघर्षमा आउन बाध्य हुने चेतावनी दिए ।
“स्वास्थ्यमन्त्रीज्यूले थाहा पाउँदा पाउँदै पनि विभागीय प्रमुखको कुरा सुनेर हामीहरूलाई बेवास्ता गर्नुभयो भने यसको असर देशव्यापी रूपमा हुन्छ,” उनले भने, “हामीलाई कुनै दल र समूहसँग नजोड्नु होला । हामीलाई अरूसँग मतलब छैन ।”
उनले अगाडि भने, “हामीलाई अध्यादेशमार्फत काम गर्न सहज हुने गरी कानुन बनाइयोस् भन्ने हाम्रो कुरा हो । हामीलाई गृहमन्त्रीले शान्तिपूर्ण प्रदर्शन पनि गर्न नपाउने गरी प्रहरी परिचालन गरिएको छ । यो भनेको त राज्यले हामीलाई दोस्रो दर्जाको नागरिक बनाउन खोेजेको होइन र ?”
औषधि व्यवसायीले व्यवसायिक नवीकरण ढिला भएमा स्वतः व्यवसाय रद्द हुनेलगायत प्रावधान हटाउन माग गर्दै विभागको कार्यालयमा दैनिक धर्ना दिँदै आएका छन् । न्युज एजेन्सी नेपाल