site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
अक्षय गोल्याणले गरे सहिदका बालबालिकालाई दीर्घकालीन सहयोगको प्रतिबद्धता

काठमाडौं । गोल्याण ग्रुपका प्रबन्ध निर्देशक अक्षय गोल्याणले ‘जेनजी’ आन्दोलनका सहिद परिवारका बालबालिकालाई दीर्घकालीन सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । सामाजिक सञ्जाल ‘लिंकदिन’मा एक भिडियो सामग्री पोस्ट गर्दै उनले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन् ।

अभिभावकसँगै बालबालिकाले जीवनबाट सुरक्षाको सुनिश्चितता गुमाएको उल्लेख गर्दै उनले भनेका छन्, “हामी शैक्षिक सहयोगमार्फत उनीहरूको सपना पूरा गर्न अगाडि सरेका छौँ ।”

गोल्याण ग्रुपले यसअघि नै सहिद परिवारका ३२ बालबालिकालाई मासिक ४० हजार रुपैयाँसम्मको छात्रवृत्ति घोषणा गरिसकेको छ । कक्षा–१२ सम्मको शिक्षाका निम्ति प्रतिविद्यार्थी वार्षिक चार लाख ८० हजार रुपैयाँसम्मको छात्रवृत्तिका लागि ग्रुप, विद्यालय र अभिभावबीच त्रिपक्षीय सम्झौता पनि भइरहेको छ ।

विश्व बाल दिवसको अवसर पारेर ग्रुपले बालबालिकालाई ‘किड्स–प्ले डेट’मा निम्त्याएको थियो । त्यहाँ उनीहरू एकापसमा रमाउँदै खेलेको भिडियो पोस्ट गर्दै प्रबन्ध निर्देशक गोल्याणले भनेका छन्, “यहाँ उनीहरूलाई निम्त्याइएको केबल मनोरन्जनका लागि मात्र होइन, बरु हरेक बालबालिकाले खुसी र सुरक्षाबोधका साथ जीवनप्रति आशावादी हुने हक राख्छन् भनेर स्मरण गर्न पनि हो ।”

जीवनको असाध्यै कठिन समयमा बालबालिकालाई एक्लै नछाड्ने उद्देश्यले सहयोगको हात बढाइएको उनले बताएका छन् । उनले भनेका छन्, “हाम्रो प्रतिबद्धता सामान्य छ । हामी भोलि पनि उनीहरूसँगै हुनेछौँ । हरेक बालबालिकाले जीवनमा सपना देख्ने हक राख्छन्, हामीले यी बालबालिकाका लागि पनि त्यसको सुनिश्चितता गर्नेछौँ ।”

प्रबन्ध निर्देशक गोल्याणले बालबालिकाको मुस्कानले अर्थपूर्ण सन्देश प्रवाह गरेको पनि बताएका छन् । ‘कहिलेकाहीँ सामान्य क्षणहरूले पनि हामीलाई गहिरो पाठ सिकाउँछन् । उनीहरूमा देखिएको हाँसो, सिर्जनशीलता र ऊर्जाले साँच्चिकै सुन्दर भविष्यको संकेत गरेको छ,” लिंकदिनमा उनले भनेका छन् ।

 

प्रकाशित मिति: मंगलबार, मंसिर १६, २०८२  १०:१३
प्रतिक्रिया दिनुहोस्