काठमाडौं । चालु आवको मौद्रिक नीतिको त्रैमासिक समीक्षा आए पनि बजारमा खासै उत्साह देखिएको छैन । साताको तेस्रो कारोबार दिन मंगलबार (मंसिर १६) सेयर बजार ०.५३ अंकले घटेर २६४४.७० बिन्दुमा बन्द भएको छ ।
स्थिर बजारमा कुल ३२४ कम्पनीको कारोबार भयो । १२५ कम्पनीको मूल्य बढ्दा ११९ कम्पनीको घट्यो भने १३ कम्पनीको मूल्य स्थिर रह्यो ।
अघिल्लो दिनको तुलनामा कारोबार रकम भने घटेको छ । यस दिन चार अर्ब ४८ करोड १३ रुपैयाँको सेयर कारोबार भएको छ । सोमबार चार अर्ब ७१ करोड ६३ लाख रुपैयाँको कारोबार भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ ।
यसदिन सागर डिस्टिलरी, स्वस्तिक लघुवित्त, झापा इनर्जी, माबिलुङ इनर्जी, बुंगल हाइड्रो र श्रीनगर एग्रीटेक कम्पनीको मूल्यमा सकारात्मक सर्किट लागेको छ ।
त्यस्तै, युनियन हाइड्रोपावरको सर्वाधिक ३१ करोड ८१ लाख ३५ हजारभन्दा बढीको सेयर कारोबार भएको छ ।