site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
अधिकारीद्वारा गठित समितिले नै देखाएको थियो ‘नलिनचोकमा हेलिप्याड’ सञ्चालनमा समस्या

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार नेपाल नागरिक उड्ड्यन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई नियन्त्रणमा लियो । र, उनीविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गर्‍यो ।

भक्तपुरको नलिञ्चोकमा हेलिप्याड निर्माण गर्दा अधिकारीसहितको समूह आर्थिक अनियमिततामा संलग्न भएको ठहर गर्दै उनीविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको हो ।

अख्तियारले अधिकारीसहित सात जनालाई अभियुक्त बनाएको छ । नलिञ्चोकमा हेलिप्याड निर्माण गर्दा उनीहरूले १३ करोड ५७ लाख ४६ हजार २१३ रुपैयाँ भ्रष्टाचार गरेको ठहर अख्तियारको छ ।

अख्तियारले भ्रष्टाचार मुद्दा दायर गर्नुको एउटा बलियो आधार अधिकारी स्वयम्ले गठन गरेको समितिको प्रतिवेदन बनेको हो । उक्त प्रतिवेदनले त्यो ठाउँमा धेरैखाले समस्या देखिएको हुँदा हेलिप्याड निर्माण गर्नु उपयुक्त नहुने सुझाव दिएको थियो ।  

नेपाल नागरिक उड्ड्यन प्राधिकरणका महानिर्देशक अधिकारीले २०८० सालमा गठन गरेको समितिले ‘भक्तपुरको नलिनचोकमा हेलिप्याड सञ्चालनमा समस्या हुने’ भन्ने प्रतिवेदन बुझाएको थियो । 

“प्रस्तावित नलिञ्चोकको हेलिकोप्टर पार्किङमा जम्मा १७ वटा हेलिकप्टरहरू स्ट्यान्डर्ड पार्किङ गर्न मिल्ने गरी बनेको छ । उक्त स्थानबाट हेलिकोप्टर सञ्चालन कपरेशन गर्न आवश्यक अन्य पूर्वाधार नभएकाले तत्कालै सञ्चालनमा ल्याउन नसकिने देखिएको,” प्रतिवेदनमा भनिएको छ । 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित तत्कालीन हेलिकोप्टर पार्किङमा नयाँ ह्यांगर, एप्रोन निर्माण गर्न ठेक्का सम्झौता भएपछि उक्त स्थानमा राखिएका हेलिकोप्टर अन्यत्र सार्ने योजना बनेको थियो । 

योजना अनुसार, नागरिक उड्डयन प्राधिकरणको स्वामित्वमा भक्तपुरको सूर्य विनायक नगरपालिका–१० नलिञ्चोकस्थित करिब ३३ रोपनी जग्गामा नयाँ हेलिप्याड निर्माण गरी हेलिप्याड सञ्चालन गर्ने प्राधिकरणको योजना थियो ।
नलिञ्चोकबाट हेलिप्याड सञ्चालन गर्दा त्यसको व्यवस्थापन सञ्चालन मोडल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलअन्तर्गत रहने गरी गर्न राय माग भएको थियो ।

त्यसपछि त्यसको आवश्यक पूर्वाधार अध्ययन तथा विश्लेषण गरी उपयुक्त सुझावसहितको प्रतिवेदन पेश गर्न महाप्रबन्धकको अध्यक्षतामा २०८० कात्तिक १३ गते स्टाफ बैठक बसेको थियो ।

उक्त बैठकको निर्णयानुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालय विमानस्थल सञ्चालन विभागका निर्देशकको संयोजकत्वमा कार्यदल गठन गरिएको थियो ।

उक्त कार्यदलले नलिञ्चोकमा हेलिप्याड सञ्चालन गर्न समस्या देखाएको थियो । प्रतिवेदनमा भनिएको छ, “तत्कालीन हवाई विभागले २०३२ सालमा विमानको लागि आवश्यक पथप्रदर्शन (नेभिगेसनल इक्युपमेन्ट) उपकरण (लोकेटर इस्ट) स्थापनाका लागि करिब ३३ रोपनी जग्गा स्थानीयबाट अधिग्रहण गरेको र बढ्दो हवाई चाप सम्बोधन गर्न तथा हेलिकोप्टरसेवालाई थप व्यवस्थित गर्न उक्त स्थानमा सुविधासहितको हेलिपोर्ट निर्माण गर्ने र सोही स्थानबाट विभिन्न स्थानहरूमा सेवा पुर्‍याउने निर्णय भएसँगै यसबाट उक्त क्षेत्रमा करिव २०० मिटरसम्म दूरीसम्मका जग्गावरपरको झन्डै ३००/४०० जति घरधुरी प्रभावित हुन सक्ने देखिन्छ ।”

प्रस्तावित नलिञ्चोकको हेलिकोप्टर पार्किङमा जम्मा १७ वटा हेलिकप्टरहरू स्टान्डर्ड पार्किङ गर्न मिल्ने गरी बनाइएको थियो ।

उक्त स्थानबाट हेलिकप्टरको अपरेसन गर्न आवश्यक अन्य पूर्वाधारहरू नभएकाले तत्कालै सञ्चालनमा ल्याउन नसकिने प्रतिवेदनको निस्कर्ष थियो । 

हेलिप्याडस्थलका चारैतिरका सुरक्षा घेरा (फेन्स) को केही भाग मान्छेहरूले सजिलै नाघ्न सक्ने देखिएकाले जहाज सुरक्षामा कुनै पनि बखत खतरा निम्तिन सक्ने प्रतिवेदनमा औंल्याइएको थियो ।

“हवाई सुरक्षाको दृष्टिले अत्यन्त महत्वपूर्ण मानिने यात्रु चेकिङ कक्षलगायत सुरक्षाकर्मी बस्ने ब्यारेक, सुरक्षा डिउटी पोस्टहरूको व्यवस्था नरहेको,” प्रतिवेदनमा भनिएको छ ।

उक्त स्थानबाट हेलिकोप्टरसञ्चालन गर्दा कार्गोलगायत यात्रु आवागमनमा पनि उतिकै वृद्धि हुने भएकाले त्यसका लागि आवश्यक टिकट चेकिङ्ग काउण्टर, सुरक्षा उपकरण (एक्स–रे ड्ब्लूटीएमडी, सीसीटीभी, सिस्टम इत्यादी) सहितको यात्रु विश्राम तथा प्रोसेसिङ कक्ष (टर्मिनल) को व्यवस्थापन नगरी उडान सञ्चालन गर्न असहज हुने प्रतिवेदन उल्लेख गरिएको थियो ।

यस्तै सवारी साधन पार्किङ तथा व्यवस्थापन गर्न आवश्यक खाली जग्गा नभएकाले विकल्प खोज्नुपर्ने सुझाव प्रतिवेदनमा छ । 

त्यसअतिरिक्त काठमाडौं टावरसँग विमानको सञ्चार सम्पर्क गर्न आवश्यक पूर्वाधार व्यवस्थापन निम्ति छुट्टै भवन नहुनुलाई पनि समस्याकै रुपमा देखाएको थियो ।

प्रतिवेदनमा उक्त क्षेत्रबाट हेलिकोप्टरसञ्चालन गर्दा मौसमी पूर्वाधारको व्यवस्थापन हुनुपर्ने देखिन्छ, तर सो नभएको खण्डमा त्यस क्षेत्रको भिजिविलिटीलगायत अन्य आवश्यक मौसमी डाटा यकिन गर्न अप्ठेरो पर्ने भएकोले समस्या हुने देखिएको उल्लेख छ ।

हेलिप्याड सञ्चालनका बखत आवश्यक रिफ्युलिङ निम्ति फ्यूल स्टोरेज गर्न आवश्यक स्थानको व्यवस्थापन नभएको प्रतिवेदनले देखाएको थियो ।

अरनिको राजमार्गबाट हेलिप्याडसम्म पुग्न साघुँरो बाटो रहेको हुँदा कार्गो ढुवानीमा संलग्न ठूला वा मझौला सवारी साधन ओहोरदोहोर गर्न समस्या हुन सक्ने देखिएको जस्ता समस्या प्रतिवेदनले देखाएको थियो ।

हेलिप्याड क्षेत्रभित्र पर्नेगरी दक्षिण पूर्वी भागबाट गएको हाई भोल्टेज ट्रान्समिसन लाइनको कारण उडान सुरक्षामा गम्भीर चुनौती पुग्न सक्ने प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनमा नलिनचोक हेलिप्याडबाट हेलिकोप्टर इन्जिन स्टार्टअप गर्न काठमाडौं ग्राउन्डसँग सम्पर्क गर्नुपर्ने भएकाले सोका लागि पूर्वाधार सहितको व्यवस्था गर्न सिफारिस गरिएको थियो ।
 

 

 

प्रकाशित मिति: बुधबार, मंसिर १७, २०८२  १७:२५
प्रतिक्रिया दिनुहोस्