site stats
बाह्रखरी :: Baahrakhari
कला
धोकाधडीको जालोमा आफैँ फसेको ‘अभिमन्यु’

आफूले आफ्नै सन्तानभन्दा पनि धेरै माया गरेर हुर्काएकी बहिनीलाई दाइजो नपुगेको भन्दै श्रीमान्ले ज्युँदै जलाएपछि अभिमन्यु कामतले रिसको आवेगमा गरेको गल्तीले उसलाई कहाँसम्म पुर्‍याउँछ ? यही नै चलचित्र ‘अभिमन्यु’को मुख्य कथा हो । 

रिसलाई नियन्त्रण गर्न नसक्दा अभिमन्युले गरेको गल्तीको सजाय उसले कसरी पाउँछ ? त्यसको बदला पीडित परिवारले कसरी लिन्छ ? यही कथाको वरिपरि चलचित्र ‘अभिमन्यु’ घुमेको छ ।  

मधेसमा आज पनि दाइजो प्रथा उत्तिकै छ, यो सिनेमाका लागि नयाँ विषय होइन । सिनेमाले पहिलोपटक उठान गरेको विषय पनि होइन । तर, जुन कथ्यशैली र सिनेमाको प्रस्तुति छ, यो भने नेपाली चलचित्रका लागि केही हदसम्म नयाँ हो । 

तराईको कथा लिएर सिनेमा बनाउनु नै नेपाली सिने बजारमा ‘रिस्क’ मोल्नु हो । त्यसमा पनि चलचित्र उद्योगका ‘अन्डररेटेड’ दोस्रो रोजाइमा रहेका कलाकारलाई लिएर चलचित्र बनाउने जोखिम यो चलचित्रका निर्माता विनोद पौडेलले उठाएका छन् । यसका लागि उनी धन्यवादका पात्र हुन् । हुन त उनले यसअघि ‘पूर्ण बहादुरको सारङ्गी’मा पनि ‘अन्डररेटेड’ कलाकारलाई मुख्य पात्रमा लिएका थिए । 

‘स्टार कास्ट’ लिएर कुन विषय उठाउँदा सहज हुन्छ, त्यसकै पछि नेपाली चलचित्र उद्योग लागिरहेका बेला, समाजका लागि के विषय उठाउनुपर्छ भन्ने सोचाइले कथा भन्ने आँट गर्नु नै सराहनीय पक्ष हो । मधेसमा विद्यमान दाइजो प्रथाविरुद्ध चलचित्रमार्फत आवाज उठाउने प्रयास यसका ‘मेकर’ले गरेका छन्, यो आफैँमा सराहनीय पक्ष हो । 

आवेगलाई ‘कन्ट्रोल’ गर्न नसक्दा अभिमन्यु (कामेश्वर चौरसिया)ले जेलको यात्रा तय गर्छ । छुटेपछि विराटनगरबाट काठमाडौं आउँछ । काठमाडौंमा आफूले खाना खाने होटेलमा काम गर्न आइपुगेकी एक युवती लीला (लक्ष्मी बर्देवा)सँग ऊ प्रेममा पर्छ । प्रेममा परेपछि यी दुईको सम्बन्ध कसरी अगाडि बढ्छ ? सीधा रेखामा सम्बन्ध अगाडि बढ्छ वा वक्ररेखामा यात्रा गर्छ ? सम्बन्धहरू कति सफेद हुन्छन् वा त्यसभित्र छद्म खेल पनि हुन्छ ? यसकै सेरोफेरोमा चलचित्रको कथा घुम्छ । 

एकले अर्कालाई दिने धोका र त्यसको परिणाम, अगाडि सहयोग र सहकार्यको ढोङ गरेर भित्रभित्रै गर्ने धोकाधडी र कपटी व्यवहार कथाको आकर्षक पक्ष हो । समाज जतिजति आधुनिक हुँदै छ, त्यति नै छलकपट र धोकाधडीको खेलमा पनि लिप्त हुँदै छ । यो अहिलेको कटु यथार्थ हो । 

आफ्नै भनिएकाहरूले षड्यन्त्रको तानाबाना बुनेर आफ्नैलाई धोका दिइरहेको अहिलेको समाजको तीतो सत्य हो । यसलाई उठान गर्नु चलचित्रको सकारात्मक पक्ष हो । समाजमा जे छ, त्यसलाई लेखक (मुकेश खनाल)ले टपक्क टिप्ने प्रयास गरेका छन् । यो चलचित्र ‘अभिमन्यु’को बलियो पाटो हो । 

चलचित्रको पटकथामा केही कमजोरी पनि छन् । हरेक व्यक्ति छलकपट र धोकाधडीमा छन्, हरेक व्यक्ति बदला लिइरहेका छन् । धोकाधडी र छलकपटको गोप्य रणनीति बनाएर एकले अर्कासँग बदला लिने षड्यन्त्रमा छन् । एकले अर्कालाई, अर्काले अर्कालाई गरेको धोकाधडीले सिनेमाको कथा गन्जागोल बनेको छ । धोकाधडीको जालो देखाउँदा सिनेमा नै त्यही जालोमा अल्झिएको छ । 

सिनेमामा ‘सस्पेन्स’ राम्रो हो । जानरा नै यही भएपछि सस्पेन्स त हुने नै भयो, छ पनि । तर, त्यसलाई जटिल होइन, सहज तरिकाले देखाउने हो । निर्देशकले सस्पेन्सलाई पनि जति सरल र सहज तरिकाले देखाउन सक्छ, त्यही नै कुशल निर्देशक हो ।

सिनेमामा गन्जागोल सस्पेन्स राखेर जे देखाउँदा पनि हुन्छ भन्ने भ्रमबाट निर्देशक मुक्त हुनुपर्छ । मैले जे भन्छु, त्यसलाई दर्शकले स्वीकार गर्नुको विकल्प छैन भन्ने भ्रमबाट लेखक र निर्देशक (सुशान्त गौतम) पनि बाहिर निस्किनुपर्छ । 

यद्यपि, ‘अभिमन्यु’को सस्पेन्सले समयावधिभर दर्शकलाई ‘होल्ड’ गरेर राख्छ । सस्पेन्सको जालोभित्र रहँदारहँदै पनि यति तागत भने यो सिनेमा राख्छ ।

‘क्लाइमेक्स’मा रेखा थापाको सस्पेन्स इन्ट्रीले दर्शकलाई ‘सक्ड’ बनाउँछ । तर, उनको प्रवेशसँगै सिनेमा ‘क्रेडिटलाइन’ सुरु हुनाले उनका ‘हार्डकोर’ फ्यानले रेखाको अभिनय भने हेर्न पाउने छैनन् ।  

चलचित्र त्यतिबेला पूर्ण, बलियो र विश्वसनीय हुन्छ, जतिबेला त्यसका क्यारेक्टर (पात्र)हरूको इस्ट्याब्लिसमेन्ट (स्थापन) बलियो हुन्छ । अभिमन्यु होस् वा लीला, उनीहरूको पात्रतालाई स्थापित गर्न लेखकले आवश्यक ठानेका छैनन् । गीतमा केही दृश्य छन्, अभिमन्यु र उनकी बहिनीका । तर, ती पर्याप्त छैनन् । लीलाको पृष्ठभूमि पनि पर्याप्त छैन । यसमा लेखकले गरेको अल्छ्याइँ प्रस्टै देखिन्छ ।   

चलचित्रमा कलाकारले राम्रो काम गरेका छन् । मुख्य पात्र कामेश्वर अभिनयले पनि सिनेमाका ‘नायक’ नै हुन् । लक्ष्मी बर्देवाले गजब अभिनय गरेकी छन् । किरण श्रेष्ठले प्रहरी निरीक्षकमा आफूलाई फिट देखाएका छन् । गोपाल (प्रकाश दाहाल) केही ‘लाउड’ देखिन्छन् । अन्य कलाकारले आफूलाई विश्वास गरेर दिएको जिम्मेवारी इमानदारीपूर्वक निभाएका छन् ।  

चलचित्रको सांगीतिक पक्ष भने औसत छ । ‘माली’ गीत क्यारेक्टर स्टाब्लिस गर्न सहयोग गर्ने उद्देश्यसहित आइपुग्छ । तराई–मधेसको नेपाल–भारत बोर्डर छेउछाउको सांगीतिक पक्षको चिनारी दिन ‘लड्की गोरी’ फिट छ । दुई मुख्य पात्रको प्रेम सम्बन्ध देखाउन ‘मरौँ ज्यानले’ काम गरेको छ । 

चलचित्रको साउन्डले पात्रको पहिचान र उनीहरूको भूगोलको पहिचान दिन्छ । ग्यारेज र साइकलले तराई–मधेसबाट कम लेखेपढेका व्यक्ति आएर काम गर्ने गरेको वास्तविकतालाई प्रस्ट पारेको छ । मुख्य पात्रको लवजले पनि साउन्डलाई थप बलियो बनाएको छ । 

ब्याकग्राउन्ड स्कोरमा मिहिनेत देखिन्छ । कतिपय नेपाली चलचित्रमा उस्तैउस्तै ब्याकग्राउन्ड स्कोर हुन्छ । तर, ‘अभिमन्यु’मा केही फरकपन देख्न सकिन्छ । भलै केही स्थानमा डाइलगलाई छोप्नेगरी प्रयोग भएको ब्याकग्राउन्ड स्कोरले ‘डिस्टर्ब’ गर्छ । अन्यथा, ब्याकग्राउन्ड स्कोर सन्तोषजनक नै छ । 

सिनेमेटोग्राफीमा पनि मिहिनेत देखिन्छ । रातको समयका केही दृश्यमा सिनेमेटोग्राफरको राम्रो काम देखिन्छ । साथै, रातको समयमा खिचिएका केही ‘सट’मा उनले सुजबुझ राम्रो देखएका छन् । 

चलचित्रमा सम्पादकलाई दोस्रो निर्देशक भनिन्छ । दोस्रो निर्देशकको जिम्मेवारी सम्हालेका सुरेन्द्र जेड पौडेल र मदन घिमिरेले ‘टाइट कट’ सिनेमा निकालेका छन् । सम्पादकले चलचित्रमा अनावश्यक सिन राखेर दर्शकलाई दिक्दारी दिने काम गरेका छैनन् ।  

केही सटको एंगल सुन्दर तरिकाले कम्पोज गरिएको छ । पशुपतिनाथ मन्दिरपरिसरमा अपरहणकारीलाई पछ्याउने क्रममा लिएको प्रहरी निरीक्षकको सट र प्रहरी कार्यालयमा बयानका क्रममा लिएको प्रहरी निरीक्षककै सट निकै लोभलाग्दो देखिएको छ । 

‘ग्रे जोन’मा रहेका सिनेमाका मुख्य पात्रको कथा र उनीहरूको क्यारेक्टरअनुसार सिनेमालाई कलर दिइएको छ । यो कलरिस्टको सबल पक्ष हो । यसले सिनेमालाई उकास्ने काम गरेको छ । हत्या, अपहरण, फिरौती, धोका, पक्राउ वा वक्ररेखाको यात्रामा सिनेमाका मुख्य पात्रहरू छन् । सोहीअनुसारको लाइट छ । यो ‘अभिमन्यु’को बलियो पक्ष हो । 

प्रप्स, लोकेसन र कस्ट्युम डिजाइनमा सानो–सानो ‘डिटेलिङ’मा ध्यान दिँदा सिनेमालाई न्याय मिलेको छ । चलचित्र ‘मास्टर पिस’ होइन । तर सस्पेन्स थ्रिलर ड्रामा जानरामा हेर्नलायक भने छ ।     

० ० ०
निर्देशक : सुशान्त गौतम
लेखक : मुकेश खनाल
कलाकार : रेखा थापा, कामेश्वर चौरसिया, लक्ष्मी बर्देवा, किरण श्रेष्ठ, सरिता गिरी, प्रकाश कोइराला, शिशिर बाङ्देल आदि । 
निर्माता : विनोद पौडेल/गुञ्जन गिरी । 
सम्पादक : सुरेन्द्र जेड पौडेल/मदन घिमिरे 
डीओपी : सरदल महतो 
जानरा : सस्पेन्स ड्रामा
समयावधि : १०८ मिनेट
ब्यानर : सेभेन सिज सिनेमा 

 

प्रकाशित मिति: शनिबार, मंसिर २०, २०८२  ०८:२२
प्रतिक्रिया दिनुहोस्