काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भ्रष्टाचार भएको भन्दै नागरिक उडड्यन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीसहितविरूद्ध मुद्दा दायर गरेको छ ।
सो मुद्दामा अख्तियारले तत्कालीन मन्त्रीहरू डा. रामशरण महत, पोष्टबहादुर बोगटी, रामकुमार श्रेष्ठ, भीम आचार्य र दीपक अमात्यका साथै १० जना तत्कालीन सचिवहसहित ५५ जनालाई विपक्षी बनाएको छ । मुद्दामा आठ अर्ब बिगो दाबी गरिएको छ ।
विशेष अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीले मुद्दा रुजु भइरहेकाले दर्ता हुँन बाँकी रहेको बाह्रखरीलाई जानकारी दिए ।
नलिनचोक हेलिपोर्ट निर्माणमा भ्रष्टाचार मुद्दा दायर भएको एक हप्ता नहुँदै अधिकारीविरुद्ध अर्को मुद्दा दायर भएको हो । हेलिपोर्ट निर्माणमा झन्डै १४ करोड भ्रष्टाचार भएको दाबीसहित अख्तियारले गत बुधबार मुद्दा दायर गरेका थियो ।
पोखरा विमानस्थल निर्माणमा महानिर्देशक अधिकारी आयोजना प्रमुख भएर भ्रष्टाचार गरेको निष्कर्ष निकाल्दै संसदीय समितिले कारबाहीका लागि अख्तियारमा सिफारिस गरेका थियो ।