site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
एनसेलको क्षतिको विवरण लिँदै मन्त्री खरेलले भने– सरकार साथ दिन तयार छ

कठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले एनसेलको क्षतिपश्चात् सहज रूपमा सेवा प्रवाह गर्ने वातावरण निर्माणका निम्ति सरकारले आवश्यक पहल गर्ने बताएका छन् । सोमबार (मंसिर २२) नक्खुस्थित एनसेल कार्यालयको अवलोकनका क्रममा उनले यस्तो बताएका हुन् ।

“राज्य र नागरिकको नजरमा एनसेलको बिजनेस सम्मानित हुनुपर्‍यो । जति पनि विवाद छन्, तिनको समाधान गरेर क्लिन बिजनेस र सर्भिस दिनेतर्फ केन्द्रित हुन आग्रह गर्दछु । क्लिन बिजनेसका लागि सरकारको साथ, सहयोग रहन्छ,” उनले भने ।

मन्त्री खरेलले पछिल्लो समय एनसेलसँग देखिएका समस्या समाधानका निम्ति पनि सरकार प्रयासरत रहेको बताए । “केही नीतिगत समस्या छन्, केही विवादहरू पनि देखिएका छन्, यी सबै कानुनसम्मत समाधान हुनुपर्छ भन्नेमा सरकार विश्वस्त छ,” उनले भने ।

गएको भदौ २४ गते ‘जेनजी’ आन्दोलनका क्रममा लैनचौरस्थित एनसेलको केन्द्रीय कार्यालयमा पनि तोडफोड र आगजनी गरिएको थियो । त्यसपछि नक्खुस्थित कार्यालयबाट एनसेलको सेवा प्रवाह गरिँदै छ । एनसेलका अनुसार, जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनीबाट ६५ करोड रुपैयाँबराबरको क्षति भएको थियो ।

“मैले उहाँहरूलाई विद्यार्थी र जेनजीका लागि केही गर्नुहोस् भनेको थिएँ, उहाँहरूले नयाँ प्याकेज ल्याउँछौँ भन्नुभएको छ । त्यसबाहेक सगरमाथा आधार शिविर र केही दुर्गम स्थानमा टेलिकमको पहुँच बढाउने विषयमा उहाँहरूले आफ्नो योजना सुनाउनुभएको छ,” मन्त्री खरेलले अवलोकनपछि सञ्चारकर्मीसँग भने ।

jagadish-1765195189.jpeg
 

एनसेलका अनुसार, कम्पनीले जेनजीलक्षित प्याक सार्वजनिक गर्ने र मुलुकभरका १०० विद्यार्थीलाई एक करोड रुपैयाँको जेनजी छात्रवृत्ति पनि घोषणाको तयारी गरेको छ ।

एनसेलका तर्फबाट मन्त्री खरेललाई सगरमाथा क्षेत्रको गोखरसेपसम्म थप पाँच टावर थप गरी फोरजी सेवा विस्तार गर्न लागिएको जानकारी गराइएको थियो ।

एनसेलका प्रमुख कार्यकारी अधिकृत माइकल फोलेले नेपालको टेलिकम क्षेत्रको सेवा अन्तर्राष्ट्रियस्तरको नभएको उल्लेख गरे । उनले सरकारले नीतिगत रूपमा सहजीकरण गर्नुपर्ने धारणा राखे ।

“टेलिकम्युनिकेसन सेवा पछिल्लो समय मानिसका लागि अत्यावश्यक भइसकेको छ । त्यसैले सरकारले पनि यस विषयमा ध्यान दिनु आवश्यक छ,” माइकलले भने ।

सञ्चारमन्त्री खरेलले एनसेलको कार्यालय, डेटा सेन्टलको अवलोकन गरे । उनलाई एनसेलका अध्यक्ष सतिशलाल आचार्य र प्रमुख कार्यकारी अधिकृत फोलेले स्वागत गर्दै जेनजी आन्दोलनका क्रममा भएको क्षतिबारे जानकारी गराएका थिए ।

 

प्रकाशित मिति: सोमबार, मंसिर २२, २०८२  १६:१६
प्रतिक्रिया दिनुहोस्