site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
नबिल बैंक र त्रिविबीच ‘नबिल एसएसई’ सञ्चालनका निम्ति नवीकरण सम्झौता

काठमाडौं । नबिल बैंक लिमिटेड र त्रिभुवन विश्वविद्यालय (त्रिवि) व्यवस्थापन संकायबीच ‘नबिल एसएसई’ कार्यक्रम सञ्चालनका निम्ति नवीकरण सम्झौता भएको छ । व्यवस्थापन संकायको कार्यालयमा नवीकरण सम्झौतापत्रमा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोजकुमार ज्ञवाली र त्रिवि व्यवस्थापन संकायका डीन प्रा. डा. महानन्द चालिसेले हस्ताक्षर गरेका हुन् ।

सम्झौतापछि त्रिविसँगको यो कार्यक्रम सन् २०२८ सम्म निरन्तर रूपमा सञ्चालन हुनेछ । नबिल बैंकले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर)अन्तर्गत मुलुकभर सामाजिक उद्यमशीलताको प्रवर्द्धन र सशक्तीकरण गर्ने उद्देश्यले विगत चार वर्षदेखि नबिल एसएसई कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

सम्झौता नवीकरणले दुवै संस्थाबीचको सहकार्यलाई अझ मजबुत बनाउँदै सामाजिक उद्यमशीलता प्रवर्द्धनमा ठूलो सहयोग पुगेको सीईओ ज्ञवालीले बताए ।

नबिल एसएसईले समाजमा पारेको सकारात्मक प्रभाव निकै महत्त्वपूर्ण रहेको बताउँदै उनले भने, “नबिल बैंक सधैँ स्थानीय अर्थतन्त्रमा मूल्य थप्ने, समुदायमा सकारात्मक परिवर्तन ल्याउने र विद्यार्थी तथा उद्यमीहरूलाई आफ्नो क्षमता विस्तार गर्न सहयोग गर्ने पहलहरूमा साथ दिँदै आएको छ र यस कार्यक्रमलाई निरन्तर अगाडि बढाउनेछौँ ।”

डीन चालिसेले त्रिविको व्यवस्थापन संकाय पाठ्यक्रमलाई सान्दर्भिक र प्रयोगात्मक शिक्षातर्फ रूपान्तरण गर्दै उद्यमशीलता विकास गर्ने दिशामा अघि बढेको बताए ।

“अनुसन्धान, अध्ययन तथा समुदायसँगको सहकार्यजस्ता क्षेत्रमा उद्योग–शैक्षिक साझेदारीले गहिरो प्रभाव पार्न सक्छ र नबिल एसएसईमार्फत स्थापित भएको सहकार्य यसको उत्कृष्ट उदाहरण बनेको छ,” उनले थपे ।

सामाजिक उद्यमशीलता विकासलाई सुदृढ गर्ने उद्देश्यले बैंकले नबिल एसएसई कार्यक्रम सञ्चालन गर्दै आएको छ । यो कार्यक्रम समुदायमा काम गर्ने सामाजिक उद्यमी तयार पार्न र उनीहरूलाई सशक्तीकरण गर्ने उद्देश्यका साथ सञ्चालित छ ।

प्रकाशित मिति: मंगलबार, मंसिर २३, २०८२  १५:२५
प्रतिक्रिया दिनुहोस्