काठमाडौं । चलचित्र ‘मिरमिरे’को टिजरले सकारात्मक प्रतिक्रिया पाइरहँदा निर्माणपक्ष उत्साहित देखिएको छ । बाबु र छोरीबीचको कथा रहेको चलचित्रको टिजरले सकारात्मक प्रतिक्रिया पाइरहेको निर्माणपक्षले बताएको छ ।
टिजरमा बुबा र छोरीबीचको ‘इमोस्नल’ कथा रहेको र यसलाई दर्शकले रुचाइरहेको ‘मिरमिरे’का निर्देशक यम शेर्पाले बताएका छन् । ‘मिरमिरे’ बुबा र छोरीबीचको ‘इमोस्नल ड्रामा’ रहेको निर्माण पक्षले जारी गरेको प्रेस नोटमा उल्लेख छ ।
“हरेक बुबा–आमालाई आफ्ना सन्तानको माया हुन्छ । त्यो माया कतिसम्म देखाउने भन्ने मात्रै हो,” निर्देशक शेर्पाले भनेका छन्, “बुबाले छोरीलाई गर्ने माया र उसका लागि गरेको त्याग मिरमिरेले देखाउनेछ । यही कथा दर्शकले मन पराउनु भएको छ ।”
यार्सा फिल्मसको प्रस्तुति रहेको चलचित्रमा दयाहाङ राई, प्रकाश सपूत, सिर्जना निङलेखु, माओत्से गुरुङ, छुल्ठिम गुरुङ, भोलाराज सापकोटा, शाइसा गौचन, दिविशा पन्त, चिराग श्रेष्ठ र नमनराज गजुरेल छन् ।
निमु शेर्पा, छोङ्बा लामा शेर्पा र आङ्छिरिङ शेर्पा निर्माता रहेको ‘मिरमिरे’का सह–निर्मातामा गोविन्द बोहरा, सुदीप कुँवर छन् । यो चलचित्रको कार्यकारी निर्मातामा आरआर फिल्मसका सञ्चालकसमेत रहेका चलचित्र वितरक रोहित कट्टेल रहेका छन् । यो चलचित्र माघ १ गते रिलिज हुँदै छ ।