पोखरा । २७औँ संस्करणको ‘पोखरा सडक महोत्सव’को आधिकारिक मिडिया पार्टनरको रूपमा बाह्रखरी मिडिया प्रालिले सहकार्य गर्ने भएको छ । रेष्टुरेन्ट एन्ड बार एसोसिएसन नेपाल (रेबान) पोखराले आउँदो पुस १३ देखि १७ गतेसम्म सडक महोत्सवको आयोजना गरेको छ ।
लेकसाइडको साढे तीन किलोमिटर क्षेत्रफलमा हुने महोत्सवको आधिकारिक मिडिया पार्टनर बनेर बाह्रखरीले सहकार्य गर्ने भएको हो । रेबान पोखराका अध्यक्ष विश्वराज पौडेल र बाह्रखरीका गण्डकी प्रदेश संयोजक विशन क्षेत्रीबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
हस्ताक्षर समारोहमा रेबान अध्यक्ष पौडेलले लोकप्रिय बाह्रखरी मिडियासँग सहकार्य गर्न पाउँदा खुसी व्यक्त गरे । यो सम्झौताले २७औँ सडक महोत्सवलाई थप उचाइमा पुर्याउने उनले आशा व्यक्त गरे ।
‘सडकमै खाउँ, सडकमै नाचौँ, सडकमै रमाउँ’ भन्ने नाराका साथ आयोजना हुँदै आएको महोत्सवले पोखराको पर्यटन क्षेत्रलाई चलायमान गराउने गरेको छ ।
कला संस्कृति प्रवर्द्धन गर्न, स्थानीयस्तरमा उत्पादित सामग्रीको बजारीकरणमा सघाउन, पोखरा र लेकसाइडको प्रचारप्रसार, व्यापार बढाउन, पोखराको ब्रान्डिङ गर्न महोत्सव आयोजना गर्न लागिएको कार्यक्रम संयोजक तथा रेबान पोखराका उपाध्यक्ष वसन्त गौतमले बताए ।
महोत्सवमा मुख्य आर्कषणको रुपमा विभिन्न जातजातिका लोपोन्मुख साँस्कृतिक कार्यक्रम, मौलिक भेषभुषा प्रदर्शन, झाँकी प्रदर्शन प्रतियोगिता, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खानाको प्रदर्शन, लाइभ कन्सर्ट, खेलकुदतर्फ डुंगा दौड प्रतियोगिता, वेटर रेस, डोरी तान्ने प्रतियोगिता, मःम तथा ससेज खाने लगायत अन्य थप प्रतियोगिताहरू हुनेछन् ।
सचेतनामूलक सडक नाटक, सेल्फी फोटो बुथलगायत रहनेछन् । त्यस्तै, महोत्सव अवधिभरमा पोखराको पर्यटनको विकास, प्रवर्द्धन, अवसर तथा चुनौतीका विषय केन्द्रित अन्तरक्रिया कार्यक्रम पनि हुनेछन ।
महोत्सवको प्रवर्द्धकमा नेपाल पर्यटन बोर्ड, पोखरा महानगरपालिका, गण्डकी प्रदेश सरकार, पोखरा भ्रमण वर्ष २०२५ र पोखरा पर्यटन परिषद् रहेका छन् । सिद्धार्थ बैंक लिमिटेड बैंकिङ पार्टनरमा रहेको छ । म पानी, गृहलक्ष्मी ग्यास, अन्नपूर्ण केवल कार, रेडबुल सहयोगी संस्थामा रहेको रेबान पोखराका महासचिव वीरेन्द्र शेरचनले बताए ।
महोत्सवमा पोखरा सेरोफेरोको स्थानीय उत्पादित हस्तकला, चित्रकला, मूर्तिकला तथा कृषि, वनस्पति लगायतका कृषि उपजहरूलाई प्राथमिकता साथ प्रदर्शनी गरिने आयोजकले जानकारी दियो ।
पोखराका विभिन्न साहसिक गतिविधि समेटिएको वृत्तचित्र प्रदर्शन, पर्यटकीय गन्तव्यको प्रवद्र्धन महोत्सवमा हुनेछ । रेबानको टोली अहिले निमन्त्रणा दिन पूर्वको भ्रमणमा छ ।