काठमाडौं । सात वर्षयता कुनै चलचित्र निर्माण नगरेका निर्माता छविराज ओझाले अब अर्को वर्षसम्म नयाँ चलचित्र निर्माण गर्ने बताएका छन् ।
“विभिन्न कारणले मैले चलचित्र निर्माण नगरेको सात वर्ष भयो । मैले आफ्नै कारणले पनि यो बीचमा सिनेमा बनाइनँ,” उनले भने, “अर्को कारण महँगो भएर पनि हो । मैले चलचित्र बनाउँदा एक करोडमा मजाले चलचित्र बन्थ्यो । अहिले तीन/चार करोड लाग्ने भइसक्यो ।”
विदेशमा बस्ने नेपाली र नेपालकै चिनेजानेकाहरूले पनि सिनेमा बनाउन आग्रह गर्दै लगानी गर्न तयार रहेको बताउने गरेको ओझा बताउँछन् ।
“साथीभाइले लगानी गर्छौं, सिनेमा बनाउनुपर्यो भन्नुहुन्छ,” उनी भन्छन्, “तर, लगानी उठाएर पैसा फिर्ता गर्न सकिएन भने साथीभाइसँग नै दुस्मनी हुन्छ ।”
चलचित्र निर्माण महँगो हुँदै गएकाले लगानी उठाउन चुनौती थपिँदै गएको निर्माता छवि बताउँछन् । त्यसैले, कतिपय निर्माता चलचित्रमा लगानी गर्न डराइरहेको उनको अनुभव छ ।
निर्माता ओझा चलचित्रलाई बत्ती र निर्मातालाई किरासँग तुलना गर्छन् । “एक लाइनमा भन्नुपर्दा चलचित्र भनेको बत्ती हो, प्रोड्युसर भनेका बत्तीका किरा हुन् । बत्तीको उज्यालोमा किरा आएर झुम्मिँदा त्यसको तातोले किरा मर्छन्,” छवि भन्छन्, “निर्माता किराजस्तै हुन्, चलचित्रमा लगानी गर्छन्, डुबेपछि चलचित्र क्षेत्रबाटै पलायन भएर आफ्नो पुरानै पेसा वा व्यवसायमा फर्किन्छन् ।”
बर्सेनि ठूलो संख्यामा नयाँ निर्माता चलचित्र उद्योगमा भित्रिने गरे पनि अधिकांश दोहोरिँदैनन् । एउटा चलचित्र बनाएपछि दोस्रो चलचित्र बनाउँदैनन् । यसको कारण प्रत्येक वर्ष ठूलो संख्यामा चलचित्रमा गरेको लगानी नउठ्नु रहेको पनि उनको ठम्याइ छ ।
छवि आफैँले चलचित्र ‘मंगलम्’ यता कुनै पनि चलचित्र निर्माण गरेका छैनन् । “मैले चलचित्र सात वर्षदेखि नबनाए पनि सिनेमा क्षेत्रभन्दा बाहिर भने छैन,” छवि भन्छन्, “चलचित्र वितरण र हलमा लगानी गरिरहेको छु ।”