काठमाडौं । चलचित्र विकास बोर्डले काभ्रेपलाञ्चोकको बनेपामा निर्माण गर्न लागेको आधुनिक इन्डोर फिल्म स्टुडियो एक वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखेको छ ।
स्टुडियो निर्माणको आर्थिक प्रस्ताव पुस ७ गते खोलिने जानकारी दिँदै एक वर्षभित्र निर्माण सम्पन गर्ने लक्ष्य राखिएको बोर्डले जनाएको छ ।
दोस्रो चरणको बोलपत्र प्रक्रियाअन्तर्गत ११ वटा निर्माण कम्पनीहरू प्राविधिक मूल्यांकनमा उत्तीर्ण भएका छन् । बोर्डका अनुसार प्राविधिक रूपमा योग्य ठहरिएका कम्पनीहरूको आर्थिक प्रस्ताव पुस ७ गते सार्वजनिक रूपमा खोलिनेछ ।
नेपाली चलचित्र उद्योगका लागि दीर्घकालीन पूर्वाधार विकास गर्ने उद्देश्यसहित अघि बढाइएको यस परियोजनाका लागि बोर्डले १६ करोड ४९ लाख ८७ हजार १९२ रुपैयाँ लागत अनुमानसहित टेन्डर आह्वान गरिएको थियो ।
स्टुडियो सञ्चालनमा आएपछि सेट निर्माण, इन्डोर छायांकन, मौसम–निरपेक्ष सुटिङ तथा आधुनिक प्राविधिक सुविधा स्वदेशमै उपलब्ध हुने अपेक्षा गरिएको छ । यसले चलचित्र निर्माण लागत घटाउने, समय बचत गर्ने र विदेशी स्टुडियोमा निर्भरता कम गर्ने बोर्डको विश्वास छ ।
“इन्डोर स्टुडियो सञ्चालनमा आएपछि नेपाली चलचित्रसँगै टेलिभिजन सिरियल, वेब सिरिज, विज्ञापन तथा अन्तर्राष्ट्रिय सह–निर्माणका लागि समेत सहज वातावरण सिर्जना हुनेछ,” चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले बताएका छन्, “इन्डोर स्टुडियो निर्माणसँगै चलचित्र छायांकन, प्रविधि प्रयोग र उत्पादन गुणस्तरमा उल्लेखनीय सुधार आउने अपेक्षा छ ।”