काठमाडौं । अभिनेत्री बेनिशा हमालले सिनेमाको प्रचारलाई लिएर असन्तुष्टि पोखेकी छन् । प्रचारकै लागि मात्रै टिजरमा सिनेमामा नभएको दृश्य देखाउने काम भएको भन्दै उनले असन्तुष्टि जनाएकी हुन् ।
“यदि, फिल्ममै नभएको कुनै कुरा केवल प्रचारका लागि टिजरमा देखाइन्छ भने म त्यस्तो अभ्यासको समर्थन गर्दिनँ र त्यसको हिस्सा बन्न चाहन्नँ,” बेनिशाले सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छन् ।
उनले आफू गलत अध्यासको साक्षी नबस्ने बताए पनि कुन सिनेमालाई लिएर यस्तो टिप्पणी गरेकी हुन्, त्यो भने प्रष्ट पारेकी छैनन् । तर, बेनिशा अभिनीत चलचित्र ‘बिगुल’को टिजर आइतबार सार्वजनिक भएको थियो ।
जसमा बेनिशाको पनि संवाद छ । टिजरमा ‘अब कुनै पनि हालतमा जेनजीहरूको भावना मर्नु हुँदैन’ भन्ने संवाद छ ।
उनले प्रष्ट रूपमा कसैको नाम नलिए पनि ‘बिगुल’लाई नै संकेत गरेको हो कि भन्ने अनुमान लगाउन सकिन्छ । यद्यपि, यसबारे उनले प्रष्ट पारेकी छैनन् । तर, टिजर रिलिज हुनबित्तिकै उनबाट यस्तो असन्तुष्टि आएको हो ।
“एक कलाकारको रूपमा म यो उद्योगमा १४ वर्षदेखि काम गर्दै आएको छु । मैले सधैँ आफ्नो कामलाई सम्मान गरेको छु । म पेसागत आचरणमा विश्वास गर्छु र मानिसहरूको भावनाको सधैँ कदर गर्ने प्रयास गर्छु,” उनले लेखेकी छन्, “यी वर्षहरूमा मैले कहिले राम्रो टिमसँग काम गर्ने अवसर पाएँ, त कहिले कम पेसागत टिमसँग पनि । तर, परिस्थिति जस्तोसुकै भए पनि, मैले सधैँ मानिसहरूको मूल्य र मर्यादाको सम्मान गरेको छु ।”
कलाकारको हैसियतले के कुरा सार्वजनिक गर्ने र के नगर्ने भन्ने आफूलाई प्रष्ट जानकारी रहेको पनि उनले बताएकी छन् । “फिल्मसँग सम्बन्ध नै नभएका विषय वा अरूको भावनालाई प्रचारका लागि प्रयोग गर्ने प्रवृत्तिप्रति म असहमत छु,” उनले लेखेकी छन् ।