site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
रेमिट्यान्समा उच्च वृद्धि, चार महिनामा ६ खर्ब ८७ अर्ब भित्रियो

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चार महिना (कात्तिकसम्म) मा नेपालमा भित्रिने विप्रेषण आप्रवाह (रेमिट्यान्स) उल्लेख्य रूपमा बढेको छ । यस अवधिमा विप्रेषण ३१.४ प्रतिशतले वृद्धि भएर ६ खर्ब ८७ अर्ब १३ करोड रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षको यही अवधिमा विप्रेषण वृद्धिदर ९.४ प्रतिशत मात्र रहेको थियो ।

नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार ०८२ कात्तिक महिनामा मात्रै १ खर्ब ३३ अर्ब ८२ करोड रुपैयाँ विप्रेषण भित्रिएको छ । अघिल्लो वर्षको कात्तिक महिनामा यस्तो रकम १ खर्ब १४ अर्ब ३१ करोड रुपैयाँ थियो ।

समीक्षा अवधिमा अमेरिकी डलरमा विप्रेषण २५.३ प्रतिशतले वृद्धि भएर ४ अर्ब ८८ करोड डलर पुगेको छ । यद्यपि, अघिल्लो वर्षको सोही अवधिमा डलरमा विप्रेषण वृद्धिदर ८.२ प्रतिशत बढेको थियो ।

यस अवधिमा देशको खुद द्वितीय आय (खुद ट्रान्सफर) पनि बढेको छ । चार महिनामा खुद ट्रान्सफर ७ खर्ब ५४ अर्ब ९३ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यही अवधिमा यस्तो आय ५ खर्ब ६९ अर्ब २९ करोड रुपैयाँ मात्र थियो ।

वैदेशिक रोजगारीतर्फ जाने नेपालीको संख्या भने केही घट्दो देखिएको छ । समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या १ लाख ४५ हजार ९७३ रहेको छ । साथै, पुनः श्रम स्वीकृति लिनेको संख्या १ लाख २७ हजार ८३७ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा नयाँ श्रम स्वीकृति लिने १ लाख ४७ हजार ४७८ र पुनः श्रम स्वीकृति लिने २ लाख ९४ हजार १०५ जना थिए ।

तथ्यांकले वैदेशिक रोजगारीमा जानेको संख्या केही घटे पनि विप्रेषण आप्रवाह भने उल्लेख्य रूपमा बढिरहेको देखाएको छ, जसले देशको चालु खातालाई सहारा दिइरहेको छ ।

प्रकाशित मिति: सोमबार, मंसिर २९, २०८२  १६:३३
प्रतिक्रिया दिनुहोस्