काठमाडौं । पाँचतारे डिलक्स सोल्टी होटेल लिमिटेडका सेयरधनीहरूले १६ प्रतिशत बढी नगद लाभांश र चुक्ता पुँजीको १५ प्रतिशत बोनस सेयर प्राप्त गर्ने भएका छन् ।
होटलको ५१औँ वार्षिक साधारण सभाले आर्थिक वर्ष २०८१/०८२ को मुनाफाबाट कम्पनीका सेयरधनीहरूलाई चुक्ता पुँजीको उक्त दरले नगद लाभांश दिने र बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।
सो वार्षिक साधारण सभाबाट नयाँ सञ्चालक समिति गठन हुनुका साथै विभिन्न महत्त्वपूर्ण प्रस्तावहरू सर्वसम्मतबाट पारित भएका छन् ।
कम्पनीको उक्त वार्षिक साधारण सभाले आर्थिक वर्ष २०८१/८२ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन तथा कम्पनीका वित्तीय विवरणहरू समावेश रहेको एकीकृत वित्तीय विवरणहरू सर्वसम्मतबाट पारित गरेको छ ।
त्यसैगरी, सभाले आर्थिक वर्ष २०८२/०८३ को लेखापरीक्षण गर्नका लागि जे. बि. राजभण्डारी एण्ड डिविनिस, चार्टर्ड एकाउन्टेन्ट्स, काठमाडौंलाई वैधानिक लेखापरीक्षकमा नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सर्वसम्मतबाट स्वीकृत गरी पारित गरेको छ ।

नयाँ सञ्चालक समिति गठन– कार्यकारी अध्यक्षमा दिनेशबहादुर विष्ट नियुक्त
कम्पनीको ५१औँ वार्षिक साधारण सभाबाट सञ्चालक समितिमा संस्थागत सेयरधनीहरू मध्येबाट पाँचजना र सर्वसाधारण सेयरधनीहरूबाट तीनजना सञ्चालकहरू र एकजना स्वतन्त्र सञ्चालक गरी कूल नौ जना रहेको सञ्चालक समिति गठन भएको छ ।
साधारण सभापछि कम्पनीको नवनिर्वाचित सञ्चालक समितिको २६१औँ बैठकको सर्वसम्मत निर्णयबाट दिनेश बहादुर विष्टलाई कार्यकारी अध्यक्षमा नियुक्त गरेको हो । संस्थागत सेयरधनीहरू सोल्टी इन्टरप्राइजेज प्राइभेट लिमिटेडको प्रतिनिधित्व गर्दै दिनेशबहादुर विष्ट, रविभक्त श्रेष्ठ, राजेशकाजी श्रेष्ठ र जय राज्यलक्ष्मी शाह नियुक्त भएका छन् ।
यसैगरी, नेपाल वायुसेवा निगमको प्रतिनिधित्व गर्दै अमृतमान श्रेष्ठ सञ्चालकमा नियुक्त भए । सर्वसाधारण सेयरधनीहरूको तर्फबाट प्रकाशविक्रम खत्री, शशीराज पाण्डे र निरञ्जन कुमार टिबडेवाल सञ्चालकमा निर्वाचित भएका छन् । सभाले डा. माधव गिरीलाई स्वतन्त्र सञ्चालकको रूपमा नियुक्त गरेको छ ।
आम्दानी र नाफामा फड्को
गत आवमा दुई खर्ब ७७ अर्ब ३९ करोड आम्दानी, खुद नाफा मात्रै ६५ करोड ३३ लाख
आर्थिक वर्ष २०८१/८२ मा कम्पनीको कूल आम्दानी अघिल्लो आर्थिक वर्षको तुलनामा ११.०३ प्रतिशतले बढेको छ । अघिल्लो आर्थिक वर्ष १०.८१ प्रतिशतले बढेको थियो । यस अवधिसम्म आर्थिक वर्षको कूल आम्दानी दुई खर्ब ७७ अर्ब ३९ करोड रुपैयाँ रहेको छ ।
जबकि गत आवमा दुई खर्ब ४९ अर्ब ८४ करोड रुपैयाँ रहेको थियो । यसअनुरुप अघिल्लो आर्थिक वर्षको तुलनामा लगभग २७ अर्ब ५५ करोड रुपैयाँले वृद्धि भएको छ । यस्तै, कम्पनीको अघिल्लो आर्थिक वर्षको ८८ करोड ४९ लाख रुपैयाँको नगद मुनाफाको तुलनामा गत आर्थिक वर्षमा ९८ करोड २६ लाख रुपैयाँ नगद मुनाफा आर्जन गर्न सफल भएको छ ।
साथै, कम्पनीले अघिल्लो आर्थिक वर्षको ६० करोड रुपैयाँ खुद मुनाफाको तुलनामा गत आर्थिक वर्षमा कर पश्चात् ६५ करोड ३३ लाख रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको छ ।
वर्षभर आधा दर्जन बढी पुरस्कार / सम्मान प्राप्त गर्न सफल
सोल्टी होटलले आफ्नो नाम र काम अन्तर्राष्ट्रिय स्तरमै कायम गर्न सफल भएको छ । गत आवमात्रै प्राप्त गरेको आधा दर्जनभन्दा बढी पुरस्कार तथा सम्मानले पुष्टि गरेको कम्पनीले जनाएको छ । कम्पनीको होटेल, द सोल्टी काठमाडौं, अटोग्राफ कलेक्सन होटेल्सले प्रतिष्ठित पुरस्कारहरु प्राप्त गरेका छन् ।