site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
धितोपत्र बजार पुँजीकरण ४२ खर्ब ६५ अर्ब पुग्यो, सूचीकृत कम्पनी २८३

काठमाडौं । धितोपत्र बजार पुँजीकरण ४२ खर्ब ६५ अर्ब कायम भएको छ । 

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरणअनुसार चालु आवको कात्तिक मसान्तमा धितोपत्र बजार पुँजीकरण ४२ खर्ब ६५ अर्ब ६८ करोड कायम भएको हो । यो अघिल्लो वर्षको तुलनामा कम हो । 

गत आवको कात्तिक मसान्तमा बजार पुँजीकरण ४३ खर्ब ७६ अर्ब ९० करोड रहेको थियो । ०८१ कात्तिक मसान्तमा बजार पुँजीकरण कुल गार्हस्थ्य उत्पादनको ७६.६७ प्रतिशत रहेकामा गत कात्तिक मसान्तमा ६९.८५ प्रतिशत रहेको छ । 

त्यस्तै, चालु आवको कात्तिकसम्म नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)मा सूचीकृत कम्पनीको संख्या २८३ पुगेको छ । जसमा १३३ बैंक तथा वित्तीय संस्था र बिमा कम्पनी छन् भने ९७ जलविद्युत कम्पनी, २४ उत्पादन तथा प्रशोधन उद्योग, आठ होटल, सात लगानी कम्पनी, चार व्यापारिक संस्था र १० अन्य समूहका रहेका छन् । 

गत वर्षको कार्तिकमा सूचीकृत कम्पनीहरूको संख्या २६७ रहेको थियो ।

राष्ट्र बैंकका अनुसार नेप्सेमा गत कार्तिक मसान्तमा सूचीकृत नौ अर्ब दुई करोड सेयरको चुक्ता मूल्य आठ खर्ब ८९ अर्ब ५३ करोड रहेको छ । 

समीक्षा अवधिमा नेपाल धितोपत्र बोर्डले नौ अर्ब ४३ करोडबराबरको म्युचुअल फन्ड, तीन अर्ब ७८ करोडबराबरको हकप्रद सेयर र तीन अर्ब ३७ करोडको साधारण सेयर गरी कुल १६ अर्ब ५७ करोडबराबरको धितोपत्र सार्वजनिक निष्कासनका लागि अनुमति दिएको छ ।

 

प्रकाशित मिति: मंगलबार, पुस १, २०८२  १३:२४
प्रतिक्रिया दिनुहोस्