काठमाडौं । नेपाली दूतावास र सम्बन्धित देशले सञ्चालन गरेका ‘शेल्टर हाउस’ (आश्रय गृह)मा पाँच सयभन्दा बढी नेपाली छन् । विदेशस्थित नेपाली दूतावासबाट संकलित विवरणमा ४९७ जना नेपाली ‘शेल्टर हाउस’मा रहेको देखिएको हो । उनीहरूलाई उद्धार गरी ‘शेल्टर हाउस’मा राखिएको हो ।
सन् २०२५ मे महिनासम्मको तथ्याङ्क अनुसार दक्षिण कोरिया, कुवेत, ओमान, टर्की र साइप्रसका शेल्टर हाउसमा उद्धार गरी ४९७ जना नेपालीलाई राखिएको छ । परराष्ट्र मन्त्रालयको विवरणअनुसार, दक्षिण कोरियाको ‘शेल्टर हाउस’मा चार सय, कुवेतमा ७५, ओमानमा १७, टर्कीमा ४ र साइप्रसको शेल्टरमा एक जना नेपाली छन् ।
कोही रोजगारदाताको यातना सहन नसकी भागेर आउने गर्छन् । कसैले आफू अप्ठेरोमा रहेको सूचना दिने, दूतावासबाट कर्मचारी गई उनीहरूलाई उद्धार गरी शेल्टरमा ल्याई राख्ने गर्छन् । त्यसपछि कागजात बनाएई प्रक्रिया पुर्याएर नेपाल फर्काउने गरिन्छ ।
“गत आर्थिक वर्ष २०८१/८२ मा मात्र हामीले उद्धार गरी ‘शेल्टर’मा राखिएका एक हजारभन्दा बढीलाई नेपाल फर्कायौं,” कुवेतका लागि नेपाली राजदूत घनश्याम लम्सालले बाह्रखरीसँग भने, “उद्धार गरिएका अधिकांश नेपालबाट अवैध तरिकाले कुवेत आई घरेलु कामदार (डोमेस्टिक वकर्स)का रुपमा कार्यरत महिला हुन् ।”
अन्य देशमा रहेका ‘शेल्टर’मा पुरुषहरू बढी हुने भए पनि कुवेतमा चाहिँ अधिकांश महिला छन् । अवैध तरिकाले कुवेत पुगेका नेपाली महिला कोही भागेर दूतावास आउने गर्छन् भने कसैलाई दूतावासले उद्धार गरी ल्याउने गरेको छ । शेल्टर हाउसमा रहनेलाई खाना तथा बस्ने व्यवस्था दूतावासले गर्दै आएको छ ।
“हाम्रो शेल्टरमा कहिल्यै एकै दिन सय जना हुन्छन्, कहिले २० जना । उद्धार गरी ल्याउने र आवश्यक प्रक्रिया पूरा गरी नेपाल फर्काउने कार्य चलिरहन्छ,” राजदूत लम्सालले भने ।
नेपाल सरकारले सन् २०१४ बाट खाडी राष्ट्रमा नेपाली महिलालाई घरेलु कामदारका रुपमा जान प्रतिबन्ध लगाएको छ । घरेलु कामदार गएका महिला अवस्था दयनीय पाएपछि सरकारले यस्तो कदम चालेको थियो ।
“सरकारले प्रतिबन्ध लगाएको एक दशक बितिसक्यो । तर अवैध तरिकाले आउने क्रम रोकिएको छैन । बरु पछिल्ला वर्षहरूमा घरेलु कामदारका रुपमा अवैध तरिकाले आउनेक्रम बढ्दो छ,” राजदूत लम्सालले भने, “शेल्टरमा आएकाहरू कसले उनीहरूलाई यहाँ पठाएको हो भन्नेबारे केही बोल्दैनन् ।”
अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ)को सन् २०२२ को प्रतिवेदन अनुसार, अरब राष्ट्रहरूमा मात्र ६६ लाख घरेलु कामदार थिए । तीमध्ये ५८ लाख घरेलु कामदार गल्फ कोअप्रेसन काउन्सिल (जीसीसी) राष्ट्र (बहराइन, कुवेत, ओमान, कतार, साउदी अरेबिया र यूएई) मा थिए । घरेलु कामदारमा ३५.४ प्रतिशत संख्या महिलाको थियो ।
“सन् २०२२ मा कुवेतमा ४ प्रतिशत महिला घरेलु कामदारहरू नेपालका थिए । महिला घरेलु कामदारहरूले सामान्यतया बालबालिको हेरचाह, सरसफाई र वृद्धवृद्धाहरूको हेरचाह गर्ने काम गर्छन् । पुरुषहरू भने मुख्यतया चालक, कुक, माली र सुरक्षा गार्डको रूपमा काम गर्ने गर्छन्,” श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको ‘नेपाल लेवर माइग्रेसन रिपोर्ट, २०२४’ मा भनिएको छ ।
श्रम मन्त्रालयको प्रतिवेदनमा नेपाली महिला घरेलु कामदारहरूले मानवअधिकार चुनौतीहरूको सामन गर्नुपरेको उल्लेख छ । घरेलु महिला कामदारहरू सम्बन्धित देश पुग्ने बित्तिकै पासपोर्ट खोसिने, लैङ्गीक हिंसा, आवत–जावतमा प्रतिबन्ध र असुरक्षित जीवन बिताउन बाध्य रहेको प्रतिवेदनमा उल्लेख छ ।
कुवेतमा मात्र २५ हजारभन्दा बढी नेपाली महिला घरेलु कामदारका रुपमा रहेको अनुमान छ । सबै अवैध तरिकाले नेपालबाट गएका हुन् ।
मानव तस्करले प्रलोभन देखाउँदै नेपाली महिलालाई अवैध तरिकाले कुवेत, यूएई, साउदी अरबलगायतका देशमा पुर्याउने गर्छन् । । तस्करहरूले भिजिट भिसामा नेपाली महिलालाई ती देश पुर्याउने गरेको अनुसन्धानले देखाएको छ ।
अवैध तरिकाले खाडी राष्ट्र पुगी घरेलु कामदारको रुपमा कार्यरत नेपाली महिला कुन क्षेत्रमा, कुन घरमा काम गरिरहेका छन् भन्ने त्यहाँ रहेको नेपाली दूतावासलाई थाहा हुँदैन । यस्ता महिलाले उद्धारका लागि फोन गरे पनि न आफू बसेको स्थान बताउन सक्छन् न घर नै ।
उद्दार गरिएका ९० प्रतिशत महिलाले आफूहरूलाई तस्करले नेपालबाट स्थल मार्ग हुँदै भारत र भारतबाट खाडी राष्ट्र ल्याएको बताउने गरेका छन् ।
खाडी राष्ट्रमा घरेलु महिला कामदारको माग ठूलो छ । यसैकारण नेपाली महिलाहरूलाई घरेलु कामदारका रुपमा प्रयोग गर्न खाडीका घर मालिकहरूले ६–७ लाख रुपैयाँसम्म खर्चिने गर्छन् । यो रकम तस्करहरूले बुझ्ने गर्छन् ।
कवुल गरेअनुसारको तलब नपाएर या घर मालिकको यातना सहन नसक्नेहरू भागेर दूतावासको शरणमा आइपुग्ने गर्छन् । घरबाट भाग्न नसक्नेहरू कति महिलाहरूले आत्महत्या गर्ने गरेको पाइएको छ ।
सन् २०१८ मा कुवेतमा मर्ने कूल ४८ नेपालीमध्ये १२ जना महिला थिए । अधिकांश महिलाहरूको मृत्युको कारण सडक दुर्घटना र आत्महत्या हुने गरेको छ । घरबाट भाग्ने क्रममा बाटो काट्न नजान्दा धेरै महिलाले सडक दुर्घटनामा परी ज्यान जाने गरेको छ ।
