site stats
बाह्रखरी :: Baahrakhari
विचार
गणतन्त्रकालमा पनि थुनछेक र निषेधकै राजनीति किन ?

‘निषेध र थुनछेक’ नेपालको शासकीय राजनीतिमा निरन्तर प्रयोग हुँदै आएको अस्त्र हो । त्यो राणाकालमा र पञ्चायतकालमा डरलाग्दो गरी थियो । बहुदल र लोकतान्त्रिक गणतान्त्रिक शासन व्यवस्थामा त्यस्तो विरूप पद्धति देख्नु पर्दैन भन्ने ठानिएको थियो । तर, निषेध र थुनछेक राजनीतिबाट मुलुकले मुक्ति पाएन । 

कम्युनिष्ट पार्टीहरूमा  निषेध र थुनछेक सामान्य ठानिन्छ, विश्वभरकै कम्युनिष्ट शासन पद्धति हेर्दा त्यही देखिन्छ । त्यही राजनीतिक व्यवहार र संस्कार लोकतन्त्रप्रति प्रतिवद्ध भनिएका पार्टीहरूमा पनि देखिँदै जानु असल र सिद्धान्तका राजनीतिका लागि शुभ संकेत होइन ।

नेपाली कांग्रेस आफूलाई जन्मजात लोतान्त्रिक पार्टी मान्छ । उसमा पनि निषेध र अनुशासनका नाममा कारबाही गर्दै राजनीतिक जीवन बर्बाद गर्ने परिपाटी बढ्दै गएको देखिन्छ । उदार र खुला नीति अपनाएको पार्टीमा त्यस्तो व्यवहारले आकर्षण बढाउनुभन्दा विकर्षण बढाउँछ । 

खुला र उदार पार्टीले त सबैको विचार र राय सुन्दै काम गर्ने वातावरण बनाउन सक्दा मात्रै लोकप्रियता र छवि राम्रो हुन्छ । कम्युनिष्ट पार्टीहरूले कारबाहीको डण्डा देखाएर अनुशासनमा राखे झैँ लोकतान्त्रिक पार्टीहरूले कारबाहीको डण्डा देखाउने र थुनछेक र निषेधको राजनीति गर्न उपयुक्त हुँदैन । विचारको स्वतन्त्रता नै लोकतान्त्रिक पार्टीको मूल आधार र आदर्श मानिन्छ ।

घर–परिवारमा पनि मानिसपिच्छे फरक सोच, मत र कार्यशैली फरक हुन्छन् भने पार्टीमा त्यही तथ्य लागु हुनु अस्वभाविक होइन । एउटै मानिसमा पनि समय परिवर्तनपछि फरक सोच सोचचिार र कार्यशैली विकसित भएको पाइन्छ । उदाहरणका लागि सशस्त्र विद्रोह गर्ने विपी कोइरालाले २०३३ सालमा लिएको मेलमिलाप नीतिलाई लिन सकिन्छ । समय, परिस्थिति र अनुभवले पनि मानिसको सोच विचार र कार्यशैलीमा फरकपन आउन सक्तछ । 
यो जमाना भनेको शिक्षा, ज्ञान, सूचना र प्रविधिको हो । जोसँग ज्ञान, सीप, योग्यता, दक्षता छ, उसको सम्मान सबैलै गर्नुपर्छ । यसबाट समाज र राजनीतिको उन्नति र विकास हुन जान्छ ।  

यो उदारवाद र खुलापनको समय हो । राणाकाल र पञ्चायतकालमा जसरी विरोधीहलाई वा प्रतिस्पर्धीहरूलाई मृत्युदण्ड दिने, वर्षाै जेलमा कोच्ने वा अन्य कारबाही गरेर निरुत्साहित पार्ने समय होइन ।

अनि आज लखेटेको वा लखेटिएको मानिस भोलि सत्तामा पुग्न सक्छ । त्यसैले कसैमाथि पनि निषेध, प्रतिषेध, अनावश्यक प्रतिरोध र आलोचना गर्न हुँदैन भनिन्छ । व्यक्तिगत स्वार्थ या फाइदाका लागि यस्तो काम गर्न र गराउनु हुँदैन ।

अब त यस्तो कारबाहीलाई मानव अधिकार र व्यक्तिको संवैधानिक हक अधिकार र स्वन्त्रतता हननको रूपमा लिने गरिन्छ । त्यसकारण पनि कुनै पनि व्यक्तिलाई राजनीतिमा निषेध गर्र्नु, दबाउनु, फरक मत वा विचार राख्न नदिनु राम्रो मानिँदैन । द्वापर युगमा दुर्योधनले पाण्डवहरूसँग निषेधको नीति अपनाउँदा उनकै सर्वनाश भएको दृष्टान्त महाभारतमा पढिरहेकै हुन्छौैँ ।

सबै पार्टीमा अन्तरविरोध, अन्तर–संघर्ष र प्रतिस्पर्धा हुन्छ । यसलाई राजनीतिको स्वभाविक चरित्र मानिन्छ । असल र राम्रो नीतिले नेता बन्ने हो । कुनै पनि देशको राजनीतिमा सँधै एउटै व्यक्ति एउटै पदमा बसेको कहीँ पनि देखिँदैन । झुठ कुरा गरेर र बलमिच्याई गरेर केही दिन वा वर्ष सत्ता लम्व्याउन सकिन्छ, तर त्यो दिगो र प्रभावकारी हुँदैन । 

जसले बलमिच्याइँ गरेर अरुमाथि उद्दण्ड मच्चाउन खोज्छ, उसको अन्त्य दुःखद हुन्छ भन्ने तथ्य जर्मनीको सत्तामा सन् १९३३ देखि १९४५ सम्मका कुख्यात शासक एडल्फ हिटलरलाई मान्न सकिन्छ । उनले साठी लाख भन्दा बढी यहुदीलगायतका विरोधीहरू मारे । तर, उनले पनि खुसी र आनन्द तथा शान्तिपूर्वक बाँच्न पाएनन् । अन्ततः सन् १९४५ मा आफूले आफैँलाई गोली हानी मर्नु पर्यो । खराब कामको परिणाम खराब नै हुन्छ भन्ने यसले देखाउँछ । सत्तामा हुँदा शक्ति र अधिकारको अधिक दुरूपयोग नगरौं भन्ने सिकाएकै हुनुपर्छ । 

सत्ता, जनता, धन सम्पत्ति, भारदार र समय कसैको लागि पनि सँधै अनुकूल हुँदैनन्, हाम्रै इतिहास अध्ययन गर्दा अनगिन्ती तिनका दुःख पढ्न पाइन्छ नैै । विश्वका दिग्गज र भेट्रान नेताहरूले पनि समयसँग झुक्न बाध्य भएकै पाइन्छ ।  

भारतमा इन्दिरा गान्धी असाधारण क्षमता भएकी महिला नेतृ थिइन् । उनले पनि कहिल्यै सत्ता बाहिर जानुपर्ला र आफ्ना ज्यादतीविरुद्ध अदालतमा मुद्दा खेप्नु पर्ला भनी सपनामा पनि सोचेकी थिइनन् होला । तर सत्ता छाड्नुपर्ने र मुद्दा खेप्नुपर्ने दिन पनि उनले बेहोर्नु पर्यो । यसैलाई भाग्य वा समयको खेल भनिन्छ ।

हाम्रा नेताहरूले हामी सर्वेसर्वा भयौं भन्ने सोचेका छन् भने त्यो गलत हो । उनीहरू भ्रममा छन । भ्रमको राजनीति र सत्ता स्वार्थबाट उनीहरू ज्ति छिटो मुक्त हुन सके उति उनीहरूलाई राम्रो हुने देखिन्छ ।   

जब भारतीय कंग्रेस आईमा पनि निषेध राजनीति सुरु भयो, तब धेरै अनुभवी, दिग्गज र काबिल नेताहरू कांग्रेस पार्टी छाड्न बाध्य भए । फलतः निकै लामो समयसम्म भारतको केन्द्रीय सत्तामा बसेको कांग्रेस आई पार्टीलाई अस्तित्व जोगाउन धौ–धौ परिरहेको छ । गलत नीति र व्यवहारले ‘माथि’ पनि लान्छ र ‘तल’ पनि झार्छ भन्ने यसले पनि देखाउँछ  ।

कांग्रेस आई पार्टीलाई यस्तो तल्लो स्तरमा पुग्नु पर्नाका मूल कारणहरूमा निषेध र थुनछेकको राजनीति र शासन प्रशासनमा व्यप्त भ्रष्टाचार नै हो भन्ने गरिन्छ । नेपालका साना ठूला सबै पार्टीमा यो रोग फैलिएको देखिन्छ । 

लोकतान्त्रिक शासन व्यवस्थामा कुनै पनि देशका जनता शासकका दास बन्न चाहँदैनन् । भारतका जनताले पनि निषेध र थुनछेकको राजनीति गर्ने र भ्रष्टाचार गर्नेलाई सत्ताबाट लखेटेरै छाडे । 

अब हामी कहाँ पनि २०८४ को चुनावसँगै त्यस्ता निषेधको राजनीतिलाई पाखा लगाउन सक्छन्, किनभने मतदाता अधिक शिक्षित भइसकेको हुँदा । जनताले शासन कब्जामा लिएका र भ्रष्टाचार लिप्त नेता गणलाई पाखा लगाउन सक्छन् । सँगै निषेधमा संलग्न, अनियमितता र भ्रष्टाचार र झुठका खेती गर्ने राजनीतिकर्मी हटाउने अभियान छेडिन बेर छैन । सँगै यिनका पनि दुःखद दिन आउन बेर लाग्दैन ।

२०१५ सालको चुनावमा दुई तिहाई मत पाउन सफल नेपाली कांगस्रेको आज मिलिजुली सरकारमा बस्नुपर्ने अवस्थामा पुगेको छ । कांग्रसलगायत सबै साना–ठूला पार्टीमा नीति, सिद्धान्त र विचार तथा तर्क र विवेकको आधारमा छलफल ता वहस हुँदैन । अरु नेता र कार्यकर्ता पनि शीर्ष नेताकै इशारामा बोल्ने र हिँड्ने गरेको देखिन्छ । असल र दूरदर्शी राजनीतिका लागि यो शुभसंकेत होइन । स्वतन्त्र रूपमा बोल्न र लेख्न नपाउने अवस्थालाई कसरी बहुदलीय र गणतान्त्रिक व्यवस्था भन्ने ?

नेपालका नेताहरूमा विस्तारै अहंकार र सत्ता लोभबाट मुक्त हँुदा उनीहरूलाई नै फाइदा हुने देखिन्छ । दम्भ र अहंकारको राजनीति अपनाउँदै गिरिजाप्रसाद कोइरालाले संस्थापक नेताहरू कृष्णप्र्रसाद भट्टराई र सर्वोच्च नेता गणेशमान सिंहलाई पार्टीबाट बाहिरिन वाध्य पारे । माओवादी र एमालेमा पनि आज त्यही हालत छ । ।

पञ्चायतलाई उसैको गाउँ गाउँ फर्क जस्तो निषेधमुखी संकीर्ण सोच र मण्डले प्रवृत्तिले सिध्यायो । आजका पार्टीहरूलाई पनि निषेध राजनीति र भ्रष्टाचारले सिध्याउने छ । सबैको चेत खुलोस् र संकीर्णताबाट माथि उठ्ने साहस आओस् ।

(लेखक संसद् सचिवालयका पूर्व सचिव हुन्)
 

प्रकाशित मिति: मंगलबार, साउन १३, २०८२  ०९:३५
प्रतिक्रिया दिनुहोस्