site stats
बाह्रखरी :: Baahrakhari
विचार
‘जेन-जी’ अब कता :  न्याय र लोकतन्त्र कि फासीवाद ?

भदौ २३ को घटनालाई कसैले क्रान्ति, विद्रोह, आन्दोलन भनेका छन् भन कतिपयले विध्वंस, उपद्रो र ‘हाहाहुहु’ सम्म भनेका छन् । नाममा के छ र ? तर, जस्ले जे न दिए पनि यो युगान्तकारी घटना त हो । सम्भवतः अहिलेसम्मको सबैभन्दा ‘अल्छी’ पुस्ताले नेतृत्व र संगठनबिनै नेपालमा सत्ता पल्टाइदियो । 

अबको कम्तीमा ४० वर्ष नेपालको राजनीतिमा यही पुस्ताको र सायद कतिपय अहिले देखिएकै अभियन्ताहरूको निर्णायक प्रभाव देखिनेछ । जनजीवनका अरू पक्षमा त झन् समयसँगै उनीहरूकै सक्रियता बढ्छ र निर्णायक हुँदै जान्छ । अर्थात्, योग्य र सक्षम भए पनि नभए पनि नेपालको भविष्य जेन-जीहरू नै हुन् । 

भदौ २३ हुनत बेबीबुमरविरुद्ध केन्द्रित भयो तर त्यसको चोट भने जेन एक्स र जेन वाई (मिलेनियल्स)ले बढी भोग्नुपर्ने हुनसक्छ । जेन-जीहरू साँच्चै नै राजनीतिमा होमिएका हुन भने बेबीबुमरको छायामा परेका यी दुवै पुस्ता फेरि पछि पर्नेछन् । कुनै पदमा पुग्नु बेग्लै हो तर निर्णायक हुन मुस्किलै छ । 

यसैले नेपालको राजनीतिलगायत समाज कुन दिशामा उन्मुख हुन्छ भन्ने पनि मूलतः जेन-जीकै सोच र व्यवहारबाट तय हुनेछ । भदौ २३ का अभियन्ताहरूमध्ये धेरैले भनिरहेका छन् - संविधान वा व्यवस्था नै पल्टाउने हामीले सोचेकै होइन । सरकारसम्म गए जाओस् भन्नेमात्र हो । भ्रष्टाचार नियन्त्रण पनि सायद ‘साइड डिस’ हो । उनीहरूको आन्दोलनको ‘मेन कोर्स’ त सामाजिक सञ्जालमाथिको प्रतिबन्ध हटाउने नै हो । 

तर, नियतिले वा केहीको मतमा ‘षड्यन्त्रकारी’ले अरू नै तयारी गरेको रहेछ ।  विद्रोह निकै विध्वंसक भयो र त्यसले ठूलै उथलपुथल गरायो । निर्वाचित प्रतिनिधिलाई विस्थापित गरेर विद्रोहीका प्रतिनिधिलाई सरकारमा थपना गरियो । शासन भने ‘डिपस्टेट’ले एकलौटीरूपमा चलाउँदै गरेको मान्नेहरू धेरै देखिएका छन् । यद्यपि, ‘डिपस्टेट’ स्वयंमा विवादास्पद शब्द हो । जे होस्, भदौ २३ पछि पहिलेको राजनीतिक संस्थापन खलबलिएको छ तर शासनतन्त्र झन् बलियो भएको छ । भदौ २३ र २४ मा सुरक्षाकर्मीले नसकेर भिडलाई छाडा छाडेका हुन् कि अरू कुनै कारणले ओली सरकार हटोस् भन्ने वा अरू नै कुनै नियतले अगाडि नसकेका हुन् ? संसद् भङ्ग गर्नका लागि पर्याप्त कारण थियो त ? यसको चर्चा इतिहासका लागि थाती राखेर जेन-जीमै फर्कौँ ।   

रोचक संयोग के देखिएको छ भने नेपालमा वैचारिक परिवर्तनको नेतृत्व ग्रेटेस्ट र साइलेन्ट पुस्ताले नै गरेको थियो । तर विसं २०४६ पछिको राजनीतिक (कु) संस्कारको निर्माण भने बेबीबुमरदेखि मिलेनियल्ससम्मका तीन पुस्ताले निर्माण गरेको हो । तिनको आचार र विचारलाई समग्रमै जेन-जीका नाममा भएको यस विद्रोहले अस्वीकार गरेको देखियो । 

यथार्थमा साइलेन्ट र ग्रेटेस्ट भनिएको पुस्ताले नेपालको राजनीतिमा विद्रोहको झन्डा गाडेको हो । विसं २०६२/६३ को जनआन्दोलनसम्मको नेतृत्व यिनै पुस्ताका नेताले गरेका हुन् । बेबीबुमर पुस्ता (पङ्क्तिकार पनि संयोगले यही पुस्ताको हो !) त हुलमुलमा पसेपछि ठेलिएर अगाडि पुगेजस्तै राजनीतिक नेतृत्वमा पुगेको हो । यसैले पनि यस पुस्ताका नेताहरू सैद्धान्तिकभन्दा बढी व्यावहारिक राजनीतिमा रमाएका हुनुपर्छ । 

नेपालको राजनीतिक इतिहास सधैँ युवा विद्रोह र परिवर्तनको जगमा उभिएको छ । विसं २००७ सालदेखि २०८० को दशकसम्म आइपुग्दा पनि राजनीतिक नेतृत्वमा हस्तान्तरण सधैँ बहसकै विषय बनेको छ । पछिल्लो समय ‘जेन-जी’ (सन् १९९७ देखि २०१२ को बीचमा जन्मिएका युवाहरू) को राजनीतिक सक्रियता र सामाजिक सञ्जालमार्फत उनीहरूले सिर्जना गरेको भाष्यले देशमा नयाँ तरंग ल्याएको छ । तर, यो तरंगसँगै एउटा गम्भीर प्रश्न उब्जिएको छ – के नयाँ पुस्ताले बोकेको यो ऊर्जा लोकतान्त्रिक पद्धति र संस्कार सम्मत छ ? वा यसभित्र कतै पुरानै ‘ओली प्रवृत्ति’ भनिने ‘फासीवादी जिद्दी’ लुकेको छ?

नयाँ पात्र पुरानो प्रवृत्ति !
नेपाली राजनीतिमा ‘ओली प्रवृत्ति’ शब्दले प्रायः आत्मकेन्द्रित राजनीति, म नै राज्य हुँ भन्ने अहङ्कार र आफ्ना समर्थकबाहेक अरूको अस्तित्वलाई नकार्ने शैलीलाई जनाउँछ । अचम्मको कुरा के छ भने जुन युवा पुस्ताले पुराना नेताको यही शैलीको विरोध गर्‍यो आज त्यही पुस्ताका केही अभियन्ताहरूमा सोही प्रवृत्ति सङ्क्रामक रोगझैँ फैलेको वा उनीहरूले बुझ्ने शब्दमा ‘भाइरल’ भएको देखिन थालेको छ ।

"मैले र मेरो समूहले भनेकै वा ठानेकै अन्तिम सत्य हो" भन्ने सोच लोकतन्त्रका लागि घातक हुन्छ । तर, भदौ २३ पछि सार्वजनिक जीवनमा देखिएका अधिकांश स्वघोषित अभियन्ताहरूमा आफूलाई नै सबै देख्ने वा ठान्ने प्रवृत्ति देखिएको छ । यो पक्कै पनि शुभसङ्केत होइन । 

उनीहरू संविधान, शासकीय स्वरूपलगायत सबै पक्षमा ‘यस्तै’ हुनुपर्छ भन्न थालेका छन् । सार्वजनिक जिम्मेवारी कतै छैन सरकारका निकायमा हैकम चलाउन तम्सेका देखिन्छन् । सुरुका केही दिन यस्तो देखिनुलाई स्वाभाविक युवा उत्साह माने पनि पछिल्ला दिनमा देखिएको तिनको हैकमी प्रवृत्तिले भने तिनमा रहेको फासीवादी मानसिकता नै उजागर गर्छ ।  

 नेपालमा जेन-जी उमेर समूहको ठूलो हिस्सा छ तर यो देश उनीहरूको मात्र होइन । जेन-जी उमेर समूहकै पनि सबैलाई प्रतिनिधित्व गर्नसक्ने कुनै आधिकारिक समूह त छैन । देशमा विभिन्न उमेर समूह, विचारधारा र अनुभव बोकेका मानिसहरूको सङ्ख्या नै बहुमतमा छ । कुनै एउटा सानो समूहले सडक वा सामाजिक सञ्जालको बलमा सिङ्गो देशको प्रतिनिधित्व गरेको दाबी गर्न थाल्यो भने अधिनायकवादको आरम्भ त्यहीँबाट हुन्छ । 

प्रतिनिधित्वको संकट र वैधताको प्रश्न
अहिलेका ‘जेन-जी’ अभियन्ताहरूमा देखिएको सबैभन्दा ठूलो समस्या ‘नैतिक वैधता’ को हो । यी अभियन्ताहरू को हुन् ? उनीहरूलाई कसले चुन्यो ? के उनीहरूले उठाएका मागहरूले हिमाल, पहाड र तराईका सबै युवाको भावना समेट्छन् ? यद्यपि, यिनीहरूलाई ‘नैतिक वैधता’को वास्तविक अर्थ थाहा नै नहुनसक्छ । कारण, नेपालको राजनीतिमा नैतिक वैधताको खोजी पनि त बिरलै भएको छ ।

सत्य त के हो भने जेन-जी पुस्ता कुनै वैचारिक समूह पनि होइन । यही पुस्ताभित्र कम्युनिष्ट छन्, कांग्रेस छन्, राजावादी छन् र कतिपय नयाँ राजनीतिक दलका पक्षधर पनि होलान् । यस्तो अवस्थामा केही सीमित अभियन्ताले "हाम्रो मान्यता नै सबै युवाको मान्यता हो" भन्नु बौद्धिक बेइमानी होइन ? यो एक प्रकारको फासीवादी जिद्दी हो । फासीवादले जहिले पनि एउटै भिडलाई ‘जनता’ भन्छ र बाँकी फरक मतलाई ‘शत्रु’ ठान्छ ।

प्रियतावादको पासो
जेन-जी पुस्ताका युवा अभियन्तालाई उनीहरू नै सबै होइनन् भन्ने सुन्न पनि मन नलाग्ला प्रिय लाग्ने त प्रश्नै भएन । कारण, नेपाली समाजका कतिपय बौद्धिक अगुवाहरूले अहिले नयाँ पुस्तालाई ‘सत्य’भन्दा पनि उनीहरूलाई ‘प्रिय’ लाग्ने कुरामात्र गरिरहेका छन् । डिस्कोर्डमा भोट हालेर प्रधानमन्त्री छानेको देखेपछि उनीहरूबी लोकप्रियता हुनका लागि ती युवाको हरेक कदमलाई सही भन्नु समाजप्रतिको बेइमानी हो र आफैँप्रति पनि गैरजिम्मेवारी हो । युवा ऊर्जा पानी जस्तै हो । यसलाई बाँध (सीमा) मा राखिएन भने यसबाट सिँचाइ होइन बाढी आउँछ भदौको अन्तिम सातामाजस्तै ।

जेन-जीहरूलाई लोकतन्त्रमा असहमति राख्ने अधिकार सबैलाई हुन्छ। भन्ने बुझाउनु जरुरी छ । उनीहरू ‘मामुका प्रिन्स’ वा ‘पापाकी परी’ त होलान् तर आफ्नै घरभित्र । कसैले पुरानो दललाई समर्थन गर्छ वा फरक विचार राख्छ भने उसलाई ‘झोले’ वा ‘अपराधी’ भनेर साइबर हुँडार लगाउनु मानसिक हिंसा हो भन्ने यिनले बुझ्नु र आत्मसात् गर्नुपर्छ । युवालाई सीमा र मर्यादा सिकाउनुको सट्टा "पुलपुल्याउन" थालियो भने त्यसको परिणाम अराजकता सिवाय केही हुँदैन ।

न्यायको कसी र इतिहासको पुनरावृत्ति
आन्दोलन वा परिवर्तनको नाममा हुने ज्यादतीलाई सधैँ 'क्रान्ति' को नाममा छुट दिनु हुँदैन भन्ने इतिहासले हामीलाई सिकाएको छ । आज नयाँ पुस्ताका नाममा कसैमाथि अन्याय हुन्छ, भिडले कानुन हातमा लिन्छ वा सामाजिकरूपमा कसैको हुर्मत लिइन्छ भने त्यसको पनि न्याय हुनुपर्छ ।
इतिहास साक्षी छ जब अन्यायलाई 'समयको माग' भनेर उपेक्षा गरिन्छ तब इतिहासले आफूलाई निर्ममरूपमा दोहोर्‍याउँछ । 

हिजोका क्रान्तिकारीहरू आज कसरी निरंकुश शासक बने भन्ने नेपालको वर्तमान राजनीतिक नेतृत्वलाई हेरे पुग्छ । आजका नयाँ अभियन्ताले पनि विधि र न्यायलाई कुल्चिएर अघि बढ्न खोजे भने भोलि उनीहरूसमेत त्यही 'पुरानो प्रवृत्ति' कै अर्को संस्करण बन्नेछन् । अल्फा पुस्ताले विद्रोह गर्न नसक्ला र ?
अन्त्यमा
पक्कै पनि नेपाललाई नयाँ सोच र ऊर्जा चाहिएको छ । तर त्यो ऊर्जा लोकतान्त्रिक मूल्य र मान्यताको परिधिभित्र हुनुपर्छ । जेन-जी पुस्ताले नेतृत्व गर्ने हो भने उनीहरूले 'म' बाट माथि उठेर 'बहुलता' लाई स्वीकार गर्नुपर्छ । न्यायको गला निमोठेर बनाइएको इतिहास कहिल्यै सुखद हुँदैन । त्यसैले, नयाँ पुस्ताका अभियन्ताहरूले ऐना हेर्ने बेला आएको छ— कतै उनीहरू आफैँले घृणा गर्ने पात्रकै प्रतिरूप त बनिरहेका छैनन् ?
 

प्रकाशित मिति: सोमबार, मंसिर २९, २०८२  १६:४६
प्रतिक्रिया दिनुहोस्