site stats
बाह्रखरी :: Baahrakhari
विचार
देशलाई नयाँ दिशा दिने प्रमको खोजी

नेपाल फेरि  ऐतिहासिक मोडमा उभिएको छ ।  यो मोडको पटाक्षेप गर्नेछ फागुन २१ मा हुने भनिएको प्रतिनिधि सभा निर्वाचनले । यो ऐतिहासिक  मोडमा आइपुग्दा नेपालसँग न त अघिल्लो दशकका संघर्षहरू पूरा भएका कथा छन् न त देश स्थिर र आत्मविश्वासी यात्रामा हिँडेको लय छ । अस्थिरताका लामो किस्साबीच फागुन २१ मा हुने निर्वाचनले नेपाल के हुन्छ वा कता जान्छ भन्ने आधार  तय गर्नुछ ।  

चरम राजनीतिक अस्थिरता, पुनरावृत्ति भइरहने अनुत्पादक गठबन्धन, पुराना नेताहरूबीचको पदको व्यापार, जनताभन्दा पार्टी स्वार्थलाई बढी प्राथमिकताका किस्साहरूबीच नागरिकलाई एउटै प्रश्नतर्फ धकेलेको छ - “अब देशको भविष्य कसले सम्हाल्छ ? नयाँ दिशा कसले दिन्छ ?”

आज यो प्रश्नको उत्तर खोज्दा जनताको मनमा केही नाम सबैभन्दा बढी प्रतिध्वनित हुन् सक्छन् । तिनमा सम्भावनाका कसीमा हुँदै नभएका नाम पनि पर्ने गरेको छ भने सम्भावना भएका केही पात्र पनि यी नामहरूमा सम्मिलित छन् । ती नामहरू उल्लेख गर्नुपूर्व नागरिकले नयाँ अनुहार 'ड्राइभिङ सिट'मा राख्न परेको बाध्यताका केही पक्षहरूबो चर्चा गरौँ । 

पुरानो राजनीतिले छोडेको तिक्ततापूर्ण रिक्तता र नयाँ नेतृत्वको अपरिहार्यतासँग  दुई दशक लामो संक्रमण, पाँच संविधान संशोधन, असंख्य सरकारका यावत् विषयहरूमा रूमल्लिन सकिन्छ । विेशेषगरेर ३ दशकदेखि  बेरोजगारी उस्तै, युवाको पलायन झनै बढ्दो, भ्रष्टाचारले भत्किएका संस्थाहरू अनि स्वास्थ्य, शिक्षा, यातायातलगायत सबै क्षेत्रमा देखिने अस्तव्यस्तताले नयाँ नेतृत्वको अपरिहार्यता उजागर गर्छ । 

आजका नागरिक पुराना नेताहरूका भाषण र व्यवहारबीचको दूरी देखेर थाकिसकेको अवस्था छ । नागरिकहरू भन्छन्— “अब अनुभवी मात्र भएर हुँदैन, समसामयिक समस्या बुझ्ने, सिस्टम चलाउने क्षमता भएका नेतृत्व चाहिन्छ ।” यही रिक्तता पूर्ति गर्न नयाँ अवतारका रूपमा युवामत्री पात्र नागरिकले चाहेको देखिन्छ ।

तीमध्ये चर्चामा रहेको एउटा नाम  हो नेपाली कांग्रेसको महामन्त्री गगन थापा ।  थापाले आफूलाई विकल्प  होइन अनिवार्य पात्रका रूपमा प्रस्त्तुत गर्दै आएका छन् । थापासँगै थुप्रै नयाँ तथा पुराना दलका पात्रहरू प्रधानमन्त्री दावेदार छन् ।   कुलमान घिसिङ, हर्क साम्पाङदेखि जेलमा रहेका रवि लामिछाने वा काठमाडौं महानगरका मेयर बालेन साहलाई प्रधानमन्त्रीका रूपमा देख्न चाहनेहरू पनि छन् । जेन-जी आन्दोलनलगत्तै मेयर साहलाई प्राप्त भएको प्रधानमन्त्री पद समाल्न उनले आँट देखाउन नसकेको पनि चर्चा छ । 

देशको पुरानो र ठूलो पार्टी भएकाले पनि चुनावपछि कांग्रेस महामन्त्री गगन थापा प्रधानमन्त्री  बन्ने आकलन स्वाभाविक हो । यद्यपि, कांग्रेस पार्टीले उनलाई प्रधानमन्त्री तोकेर चुनावमा जाने निर्णय हुन सजिलो छैन । तर कांग्रेसले महामन्त्री थापालाई प्रधानमन्त्रीका रूपमा अघि सारे चुनावको वातावरण फरक हुने अनुमान सहजै लगाउन सकिन्छ । बूढाहरूको पुरानो पार्टीका रूपमा पहिचान बनिरहेको कांग्रेसले थापालाई अगाडि बढायो भने कांग्रेस देशको सबैभन्दा ठूलो पार्टी हुनेमा धेरैको सहमति देखिन्छ । 

थापाको राजनीतिक यात्राको महत्त्वपूर्ण पक्ष जनविश्वास जित्ने उनको शैलीलाई मान्न सकिन्छ । उनको लोकप्रियताभित्र युवा हुनुको महत्त्व, शिर ठाडो गरेर बोल्न सक्ने हैसियतदेखि सडकमा भिड जम्मा गर्न क्षमतासम्म पर्छन् । तर यो क्षमता अब गगन थापासँगमात्र खोज्नुपर्ने अवस्था छैन । देशमा यस्ता क्षमताका प्रशस्त व्यक्तिहरू छन् । अझ उनीभन्दा अब्बल पनि देखिन थालिसकेका छन् । 

गगन थापाको उचाइ राष्ट्रिय राजनीतिमा दरिलो हुनुको  असली कारणहरूमध्ये एक हो -  उनको संवादमा आधारित राजनीति ।  सडकमा भेटिएका नागरिकदेखि लिएर संसदसम्म उनले गरेको संवाद सधैँ तथ्य, समाधान र जवाफदेहीमा आधारित हुने गरेको छ । संवादसँगै नीतिमा आधारित दृष्टि राख्ने थापाले सदैव संरचनागत सुधार,  बजेटमा प्राथमिकतागत पुनर्संयोजन, काठमाडौँको वातावरण नीतिदेखि स्वास्थ्य, शिक्षा र प्रशासनको आधुनिकिकरणमा जोड दिनेगरेका छन् जुन उनको दक्षता र सोचको प्रामाणिक आधार पनि हुनेगरेका छ ।

नेपालको समस्याग्रस्त राजनीतिमा  पारदर्शी चरित्र  सबैभन्दा भेट्न कठित विषय हो । पारदर्शी चरित्रबिना राजनीतिमा साहसिक सोच ल्याउन मुस्किल हुन्छ । महामन्त्री थापा समकालीन नेपाली राजनीतिमा पारदर्शी व्यक्तिका रूपमा देखिन्छन् ।  एउटा दलभित्रै बस्दा पनि आफ्नै नेतृत्वका गल्तीहरूमा खुलारूपमा आलोचना गर्ने साहस देखाउने एकमात्र व्यक्ति थापा हुन् । नेपालको राजनीतिक संस्कृति हेर्दा यो असाधारण साहस मान्नुपर्छ  ।

नेपाली राजनीतिमा सबैभन्दा ठूलोरूपमा झांगिएको कुसंस्कार नेताहरूको वैयक्तिक चिन्तान शैली हो । नेपाली नेता ‘टीम प्लेयर’ जस्तो कहिल्यै देखिँदैनन् ।  तर गगन थापाको आजसम्मको जीवनवृत्त केलाउने हो भने उनले व्यक्तिगत लोकप्रियताभन्दा संस्थागत सुदृढीकरणलाई प्राथमिकता दिएको देखिन्छ । सम्भवतः  यही गुणले पुराना राजनीतिक दलहरूमा उनलाई 'विश्वास गर्न मिल्ने नेता' को कोटीमा राखिएको हो ।

नयाँ प्रधानमन्त्रीको खोजीसँग देशको मनोवैज्ञानिक अवस्थासँग जोडिन आवश्यक छ । नेपालमा आजको मुख्य माग 'दूरदृष्टियुक्त, इमानदार र कार्यान्वयन क्षमता भएको प्रधानमन्त्री' हो । यसका लागि उपयुक्त पात्र को हो भनेर सोच्दा नागरिकले अब उमेर मात्रहेर्दैनन् उनीहरू मिसन, नैतिकता, दृष्टि र कार्यक्षमता पनि हेर्छन् । मुख्यकुरा नेताको मिसन र कार्य क्षमताले नै उसलाई अब्बल बनाउँछ । 

कांग्रेस महामन्त्री थापाले पछिल्ला १ दशकमा भाषणदेखि लिखित डकुमेन्टकै रूपमा पनि  केही महत्त्वपूर्ण कुराहरू स्पष्ट राखेका छन् । गगन थापाले  लोकप्रिय नारा होइन प्रक्रियाको पैरवी गर्दै आएका छन् । थापाले बनाएको देश विकासको खाकामा  आधुनिक प्रशासनिक दृष्टिकोण मुख्य विषय हो जसमा  नेपालका मन्त्रालयहरूको व्यवस्थापन र डिजिटलाइजेसन, तथ्याङ्कमा आधारित निर्णय, स्वचालित सेवा वितरण महत्त्वपूर्ण विषय हुन् । थापाका यस्ता कुराले नागरिकमा ऊर्जा र विश्वास ल्याउने गरेको छ । कांग्रेस महामन्त्री थापाले कुनै एउटा अन्तर्वार्तामा भनेका पनि थिए आजको चुनाव सिटको लडाइँमात्र होइन ‘विश्वासको राजनीतिको पुनःस्थापना’ पनि हो ।

गगन थापालाई कांग्रेसका तर्फबाट प्रधानमन्त्रीका रूपमा सोच्नु र उनी वास्तविकरूपमा प्रधानमन्त्री बन्नका लागि चुनावमा होमिनुबीच कांग्रेसभित्रको अन्तर्पार्टी द्वन्द्व मुख्य विषय बनेर आउँछ ।  कांग्रेसको आन्तरिक द्वन्द्व बढेमा ‘गगन सम्भावना’ पनि कमजोर हुनसक्छ ।  

नेपाली कांग्रेस यतिखेर दुई दिशामा तानिएको छ – १. पुरानो संरचना ( स्थिर तर परिवर्तनको गतिसँग जुध्न नसक्ने) र २. नयाँ पुस्ता (ऊर्जा, दृष्टि र आधुनिक मानकसहित) ।  गगन थापा दोस्रो वर्गका प्रतिनिधि मत्र होइनन् त्यस पुस्ताको नेतृत्व गर्ने ‘क्याप्टेन’ हुन् ।

नेपाली कांग्रेसको पन्ध्रौं महाधिवेशनको सम्मुखमा स्थानीय तहका नेता कार्यकर्तामा गगनलाई भविष्यको नेतृत्वका रूपमा समर्थन बढिरहेको छ । तर दशकौंदेखि खाइपाई आएका बृद्ध नेताहरूले गगन थापालाई कांग्रेसको नेतृत्व आउन नदिन एउटा अभियाननै संचालन गरिरहेका छन् । कांग्रेसमा सभापति नबनी प्रधानमन्त्री हुने सम्भावना एकदमै कमजोर छ । अरू कोही सभापति बनेर थापा प्रधानमन्त्री हुने सम्भावना कमै देखिन्छ । त्यसैले  कांग्रेसले थापा वा सो पुस्तालाई नेतृत्वमा ल्याउने अवसर चुकायो भने कांग्रेसभित्रकै नयाँ पुस्ताको ऊर्जा पनि अन्य विकल्पतर्फ जाने जोअम छ । यसले पार्टीलाई पक्कै पनि कमजोर बनाउनेछ ।  

गगन थापालाई सभापतिका रूपमा अघि सार्दा कांग्रेसले “पुरानो अनुभव + नयाँ ऊर्जा + सुधारवादी एजेन्डा” को दुर्लभ संयोजन प्राप्त गर्ने सम्भावना हुँदाहुँदै पनि कांग्रेसभित्र थापाविरोधी अभियान चर्कने डर पनि छ । थापालाई सभापति नबनाउन कांग्रेसभित्रको 'दाइ पुस्ता' पक्कै लाग्नेछ । 

फागुन २१ मा हुने आगामी चुनाव शक्ति सन्तुलनको खेलमात्र हुनेछैन । बरु यस चुनावले नेपालले कुन राजनीतिक दर्शन रोज्छ भन्ने निर्णय पनि गर्नेछ । यस अवसरमा कांग्रेस-एमालेजस्ता पुराना राजनीतिक पार्टीले आफूलाई कसरी उभ्याउँछन् भन्ने विषयले धेरै कुरा तय गर्नेछ । यो चुनाव पुराना दल तथा दर्शन विरुद्ध नयाँ अप्रतिबद्ध राजनीतिक सोचका बीच हुनेछ । 

यतिखेर  पनि कांग्रेसलगायत पुराना दलहरू शक्ति गणित, सौदाबाजी, अल्पकालीन स्थिरतामै रूमल्लिएका छन् । यी पार्टीभित्र सुधार, समस्याहरूको तत्काल समाधान, दीर्घकालीन नीतिका बारेमा बहस छलफल हुनकै लागि पनि नयाँ अनुहार नेतृत्वमा आउन पर्नेहुन्छ ।  जेन-जी आन्दोलनपछिको खारिएको नेपालको नयाँ पुस्ता, मध्यमवर्ग, प्रबुद्ध मतदाता र विदेशबाट हेर्दै गरेका लाखौँ नेपाली युवाको नजर अहिले यतैतर्फ छ ।

अन्त्यमा, यतिखेर  देशलाई नयाँ दिशा दिने प्रधानमन्त्रीको आवश्यकता राजनीतिक विषयमात्र नभएर राष्ट्रिय अनिवार्य सर्त बनेको छ । यो अनिवार्य सर्तमा गगन थापा अपरिहार्य पात्र हुन् कि हैनन् भन्ने विषयमा अब व्यापक बहस हुनुपर्छ । उनीभित्र देखिने सुधारवादी व्यक्तित्व, तथ्यमा आधारित वक्ता, प्रगतिशील दृष्टि भएको योजनाकार र जनउत्तरदायी राजनीतिक संस्कृतिको अग्रदूतको आयामलाई जाँच्ने बेला हो यो । 

नेपाल आज एउटा विरोधाभासको घेरामा छ । राम्रो के ? वा राम्रो को ? भन्ने परख गर्न एकदमै असहज अवस्था छ । म्याद सकिएकाहरू पनि हामी नै राम्रो भनेर निस्किसकेका छन् । यसले नयाँ अवस्था भनेको प्रतिक्रान्ति नै हो भनेर ठोकुवा गर्न प्रेरित गर्दैछ । प्रतिक्रान्ति भन्नेहरूलाई निस्तेज गराउनै पनि ठूला पार्टीभित्र युवा नेताहरूले वातावरण बनाउन आवश्यक छ । यद्यपि सम्भावना ठूलो छ तर नेतृत्व क्षीण छ । जनशक्ति धनी छ तर नीति कमजोर छ ।

युवा अत्यन्त सक्षम छन् तर देशले उनीहरूलाई प्रेरित गर्न सकेको छैन । यस अवस्थामा देशले २०२५ को चुनावपछि ‘नयाँ दिशा’ रोज्नु पर्छ भने गगन थापा वा उनीजस्ता अरू पनि कतिपय पात्रका बारेमा व्यापक छलफल/बहस/अन्तर्क्रिया हुनु आवश्यक छ । 


 

 

प्रकाशित मिति: शुक्रबार, मंसिर २६, २०८२  ०९:५३
प्रतिक्रिया दिनुहोस्