site stats
बाह्रखरी :: Baahrakhari
विचार
ट्रम्प सक्रियताका अपेक्षा र परिणाम

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच भदौ ३१, २०८२ अर्थात् अगस्ट १६, २०२५ का दिन भएको शिखर वार्ताको परिणाम हेर्न र सुन्न संसारभरिका राजनेतालगायत सर्वसाधारण पनि आतुर थिए । अमेरिकी राज्य अलास्कामा सम्पन्न उक्त शिखर वार्ता संसारकै लागि ठूलो चासो र सरोकारको विषय बनेको थियो ।

यो वार्ता सुरु हुनुअघि नै धेरै सकारात्मक अपेक्षा पनि राखिएका थिए र धेरै नकारात्मक टिप्पणीहरू पनि व्यक्त भएका थिए । कतिपयले यस शिखर वार्ताबाट खासै प्रगति नहुने आकलन पनि गरेका थिए । विशेषतः रुस र युक्रेनबीचको युद्धको एउटा पक्ष, युक्रेनलाई वार्तामा सहभागी नगराइनुले पनि आशंका प्रकट हुनु स्वाभाविक थियो ।

जे होस्, राष्ट्रपति डोनाल्ड ट्रम्प र राष्ट्रपति पुटिनबीचको एक दिने शिखर वार्ता सहज र स्वाभाविक रूपमा सकिएलगत्तै अहिले युक्रेनका राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीसँग वार्ता भइरहेको छ । सँगै युरोपियन युनियनका नेताहरुसँग पनि वार्ता भइरहेको छ । 
पुटिनसँगको वार्ताको केन्द्रबिन्दु दुवै पक्षका आपसी हित, व्यापार विस्तार तथा २०२२ देखि जारी रुसी आक्रमणलाई कसरी रोक्ने भन्ने विषयमा केन्द्रित रहेको पाइन्छ ।

राष्ट्रपति पुटिनका अडानका कारण वार्ता सफल हुन सकेन भन्ने समाचार आएका छन् । तर, युद्धरत दुवै पक्ष नै वार्तामा प्रत्यक्ष सहभागी नभएसम्म पूर्ण सफलता प्राप्त हुन नसक्ने कुरा विचार गर्नु आवश्यक हुन्छ ।

त्यसैले यस शिखर वार्ताको सबैभन्दा ठूलो उपलब्धि भनेको राष्ट्रपति ट्रम्पले रुसका अगाडि युक्रेनको सार्वभौमिकता र स्वाधीनता डगमगाउन नदिनु हो । वार्ता सकिएपछि उनले युक्रेनका राष्ट्रपति तथा युरोपेली नेताहरूसँग सम्पर्क गरी वार्ताको गतिविधि र प्रगतिबारे जानकारी दिँदै युद्धलाई सबै पक्षको सहमतिमा टुंग्याउने प्रयास गरेका थिए ।

वास्तवमा, आजको दिनमा केवल युक्रेन मात्र नभई युरोप र अमेरिका पनि यो युद्धका बलिया पक्षहरू बनेका छन् । उनीहरूको सहयोगविना युद्ध यति लामो समयसम्म टिक्न सम्भव नै हुने थिएन । यसैले यो वार्ताका विभिन्न आयामहरू भए पनि यसको मूल उद्देश्य भने २०२२ देखि चलिरहेको युद्धलाई सकेसम्म चाँडो अन्त्य गर्ने भन्नेमा केन्द्रित रहेको स्पष्ट हुन्छ ।

युक्रेनको सार्वभौमिकता र स्वाधीनतालाई बचाउन र युद्ध अन्त्य गर्ने सवालमा रुस, अमेरिका र युक्रेनबीच वार्ता गर्ने सहमति हुनु नै यो शिखर वार्ताको सबैभन्दा ठूलो उपलब्धि मानिन्छ । ठोस निष्कर्ष वा लिखित सम्झौता नभए पनि यस वार्ताका धेरै सकारात्मक पक्षहरू छन् भन्नेमा कुनै दुईमत छैन ।

सामान्य रूपमा भन्नुपर्दा, दुई पक्षबीच असहमति वा विवादलाई अन्त्य गर्न गरिने छलफललाई नै वार्ता भनिन्छ । वार्तामा बस्नु पनि विवाद समाधानतर्फको सकारात्मक कदम हो । मतभेद र विवादलाई अन्त्य गर्न वार्तामा बस्नु मात्रै पनि भिन्नता र विवाद समाधानको एउटा सकरात्मक  खुट्किलो हो भन्ने मान्नुपर्छ । युद्धरत वा विवादित पक्ष विवाद समाधानका लागि लचक भएर र केही छाड्ने र केही पाउने आशाले वार्तामा बस्छन ।

वार्तामा बस्दा केही छोड्ने र केही पाउने अपेक्षासहित लचकता देखाउनुपर्ने हुन्छ । विश्वमा ‘गिभ एण्ड टेक’ सिद्धान्तकै आधारमा विश्वका धेरै विवादहरू समाधान भएका छन् ।

तर, वार्तामा बस्दैमा तुरुन्त सहमति हुन्छ भन्ने छैन । एकै विषयमा पटक–पटक वार्ता हुने घटनाहरू संसारभर प्रशस्तै छन् । कतिपय अवस्थामा युद्धरत पक्षलाई सीधा वार्तामा बसाउन सकिँदैन, त्यसैले तटस्थ मध्यस्थकर्ताको भूमिका महत्वपूर्ण हुन्छ । यस हिसाबले रुस–युक्रेन युद्ध अन्त्य गर्ने सवालमा राष्ट्रपति ट्रम्पले मध्यस्थकर्ताको भूमिका निर्वाह गर्नुलाई अन्यथा भन्न मिल्दैन ।

वार्ता अघि नै राष्ट्रपति ट्रम्पले यदि सहमति भएन भने रुसमाथि थप आर्थिक नाकाबन्दी लगाउने चेतावनी दिइसकेका थिए । यसले वार्तामा दबाब सिर्जना गर्‍यो र संयमता बढायो भनी मान्न सकिन्छ । रुसले युद्ध सुरु गरेपछि अनेक नाकाबन्दीका कारण गम्भीर आर्थिक संकट झेलिरहेको कुरा सर्वविदितै छ । यही अवस्थाले पुटिनलाई वार्तामा सतर्क रहन बाध्य बनाएको अनुमान गर्न सकिन्छ ।

वार्ताका चरणहरू फरक–फरक हुन सक्छन्, पहिलो चरणमा दुवै पक्ष आक्रामक हुन्छन्, दोस्रो चरणमा अलि नरम भएर वास्तविक स्थिति बुझ्ने प्रयास हुन्छ । यतिबेला संयमता, विवेक, सद्भाव र आपसी सम्मान देखाउनुपर्ने हुन्छ । त्यसैले वार्तामा शब्द चयनमै पनि सावधानी अपनाइन्छ । सहमति हुन दुवै पक्ष उदार र लचकदार हुनु जरुरी हुन्छ ।

यस्तो समयलाई शान्त हुने मौका वा चिस्याउने समय पनि भन्ने गरिन्छ । यतिबेला दुवै पक्षका वार्ताकारहरूमा विवेक, संयमता र आपसी सद्भाव र स्नेहभाव देखाउन पुग्छन । यतिबेला वार्ताकारहरूले शव्द चयन गर्दा पनि होसियारी अपनाउने गरेको पाइन्छ ।

एकले अर्कोलाई बिझाउने वा चिढाउने शव्द र वाक्य प्रयोग गर्ने गरिँदैन ।  एक पक्षले अर्का पक्षको कुरा सुन्नु र बुझनु तथा आफ्नो पनि कमजोरी स्वीकार्र्न सके मात्रै दुवै पक्षबीच सहमति र सम्झौता हुन पुग्छ । दुवै पक्ष  लचकदार र उदार नभइ वार्ता सफल हुन गाह्रो हुन्छ  ।

राष्ट्रपति पुटिनका लागि स्वतन्त्र रूपमा बाहिर हिँड्न सक्ने सहज अवस्था छैन । त्यसैले उनलाई अलास्कास्थित अमेरिकी सैनिक बेस क्याम्पमा वार्तामा ल्याउन सहमत गराउनु पनि ठूलो कुरा हो ।

राष्ट्रपति ट्रम्पले वार्ताको क्रममा धेरै नम्रता र शालीनता देखाएका थिए । तीन घण्टाको वार्ता अवधिभर दुवै नेताबीच अहंकारको भाव देखिएन । सन् २०१९ पछि यी दुई नेताबीचको यो पहिलो प्रत्यक्ष भेट थियो ।

वार्तापछि संयुक्त पत्रकार सम्मेलनमा दुवैले वार्ता सकारात्मक भएको बताए । राष्ट्रपति ट्रम्पले केही विषयमा सहमति भएको र अझै धेरै विषयमा सहमति गर्न बाँकी रहेको जानकारी दिए । अर्को बैठक मस्कोमा गर्ने सहमति पनि भएको बताइयो ।

वार्तापछि राष्ट्रपति ट्रम्पले युक्रेनी राष्ट्रपति जेलेन्स्की र युरोपेली नेताहरूसँग सम्पर्क गरी वार्ताबारे जानकारी गराउनु र युद्ध अन्त्य गर्न खोजेका कदमलाई युरोपेली नेताहरूले सराहना गरेका छन् । युक्रेनको सार्वभौमिकता र स्वाधीनता खतरामा पर्ने कि भन्ने चिन्ता युरोपेली नेताहरूलाई थियो । त्यो आशंका हटेपछि उनीहरूको सहजता स्वाभाविक नै हो ।

युक्रेनका राष्ट्रपति जेलेन्स्की विस्तृत छलफलका लागि सोमबार अमेरिका पुग्दैछन् ।

यसरी संसारभर चासोको विषय बनेको अलास्का शिखर वार्ता ढिलो–चाँडो युद्ध अन्त्य गर्ने र विश्वमा शान्ति, सद्भाव र मेलमिलाप ल्याउने अपेक्षा गरिएको छ । यसमा सफलता मिलोस् र दुवै राष्ट्रले एक–अर्कासँग मित्रवत व्यवहार गरून् भन्ने शुभकामना हामी सबैको साझा चाहना हो । साथै, अमेरिकाले रुस र युक्रेनबीच मात्र नभई विश्वमै शान्ति, सद्भाव र मित्रता ल्याउन महत्वपूर्ण भूमिका खेलिरहोस् ।
 

प्रकाशित मिति: मंगलबार, भदौ ३, २०८२  ०९:१४
प्रतिक्रिया दिनुहोस्