हाम्रो समाजमा शिक्षा ‘व्यापारीकरण’ भयो भन्ने आरोप विद्यालयतर्फ केन्द्रित हुने प्रवृत्ति बढ्दो छ । हालै पत्रकारसँगको संवादमा शिक्षामन्त्रीज्यूले निःशुल्क शिक्षा सम्भावनाबारे सोधिएको प्रश्नमा जवाफ दिए– 'देशको अर्थतन्त्र बलियो भएपछि मात्र सबै कुरा निःशुल्क सम्भव हुन्छ ।'
विज्ञान र आविष्कारका प्रख्यात विज्ञ शिक्षामन्त्री पुनले शिक्षा व्यावहारिक र यथार्थपरक हुनुपर्ने धारणा सार्वजनिक गरेका छन् । तर, कतिपय शिक्षाविद्हरू निरन्तर व्यापारीकरणको आलोचना गर्दै निःशुल्क शिक्षाको मागमात्रै अघि सारिरहेका छन् । विडम्बना के छ भने, दशकौँदेखि शिक्षकको सीप विकास, पूर्वाधार सुधार र नवीन सिकाइ पद्धतिमा निरन्तर लगानी गर्नुपर्ने विषयमा भने पर्याप्त आवाज उठाइँदैन ।
आजको सन्दर्भमा सार्वजनिक विद्यालयलाई सबल बनाउनु र निजी विद्यालयलाई साझेदारका रूपमा स्वीकार गर्नु– यिनै दुई बाटाले मात्र बालबालिकालाई योग्य भविष्य दिन सकिन्छ भन्ने यथार्थलाई आत्मसात् गर्न ढिलाइ भइरहेको छ ।
हालै देशमा सिर्जित अकल्पनीय घटनामा युलेन्सलगायत अन्य केही निजी लगानीमा सञ्चालित शैक्षिक संस्थालाई 'राजनीतिक लगानी र नाफामुखी केन्द्र' भन्दै आगजनी गरियो । तर, प्रश्न उठ्छ– विद्यालय जलाउँदा के प्राप्त हुन्छ ? ज्ञानको मन्दिर ध्वस्त गर्नु प्रतिरोध होइन ? त्यो त गम्भीर त्रासदी र आत्मघाती कदम हो ।
त्यस आगोले केवल इँटा र सिमेन्टमात्र जलाएको थिएन, यसले विद्यार्थीको आशा, अभिभावकको सपना र शिक्षकको समर्पणसमेत खरानी बनायो ।
हामी गर्वका साथ भन्छौँ– 'बालबालिका नै राष्ट्रको भविष्य हुन् ।'
तर, जब उनीहरूको कक्षाकोठा जलेर खरानी हुन्छ, उनीहरूमा वर्तमान भय, असुरक्षा र निराशाले भरिन्छ । के हामीले कहिल्यै आत्मसमीक्षा गरेका छौँ– यस्ता घटनामा कतै हामी अरू कसैको स्वार्थका लागि प्रयोग भइएका त होइनौँ ?
जसरी सर्वोच्च अदालत जलाउँदा न्याय खरानी हुन्छ; सिंहदरबार जलाउँदा देशको ऐतिहासिक स्मृति मेटिन्छ; प्रहरी चौकी जलाउँदा सुरक्षाको आधार खल्बलिन्छ; र पाँचतारे होटल वा भाटभटेनी जलाउँदा हजारौँ नेपालीले रोजगारी गुमाउँछन् । त्यस्तै गरी विद्यालय जलाउँदा, हाम्रो भविष्य खरानी हुन्छ भन्ने सोच हामीमा किन आउँदैन ? यस्ता विध्वंसबाट वास्तविक लाभ आखिर कसले उठाउँछ ?
शिक्षा केवल परीक्षा पास गर्ने प्रक्रिया होइन । शिक्षा भनेको जिज्ञासा, सिर्जनशीलता र आलोचनात्मक सोचको जग हो । युलेन्सजस्ता विद्यालयहरूले पुस्तकालय, प्रयोगशाला, अतिरिक्त गतिविधि र नवीन सोचमा सक्षम शिक्षकजस्ता सुविधा उपलब्ध गराइरहेका छन्– जसले सरकारी विद्यालयले अझै दिन नसकेको सम्भावना खोलिदिएका छन् । यस्ता संस्थाहरू भविष्यका विचारशील नागरिक र नेतृत्वकर्ताको पाठशाला हुन् । तर, विडम्बना, यिनै संस्थामाथि नाफामुखी भनेर आक्रमण गर्ने प्रवृत्ति मौलाइरहेको छ ।
हालैको आगजनीले हाम्रो क्षति कति गहिरो थियो भन्ने प्रमाणित गरिसकेको छ । अर्बौं मूल्यका पूर्वाधार खरानी भए, जसले थुप्रै सरकारी विद्यालय सुधार्न सक्थ्यो । अझ पीडादायी कुरा– बालबालिकाले आफ्नै सुरक्षित सिकाइस्थल आगोमा ध्वस्त हुँदै गरेको आफ्नै आँखाले देखे । यसले उनीहरूलाई के सन्देश दियो होला र ?
तर, यस्ता विपत्तिमा पनि युलेन्सले अनलाइन कक्षा निरन्तरता दिएको छ । आगोले सिकाइ मौन बनाउन सकेन । यस्ता संस्थाहरूले केवल पाठ्यपुस्तक पढाउँदैनन्; समाज र सरकारले प्रायः बेवास्ता गर्ने नैतिक तथा नागरिक जिम्मेवारीसमेत आफ्नै काँधमा बोकेका हुन्छन् । यसको योगदान शुल्क वा नाफाभन्दा धेरै माथि छ– यो नेपालकै सामूहिक भविष्यमा गरिएको लगानी हो ।
भोलिका दिनमा पनि विभिन्न उद्देश्यका नाममा हुने आन्दोलन वा प्रदर्शनका क्रममा विद्यालयहरू– विशेषगरी, युलेन्सजस्ता संस्थाहरूलाई जलाइने घटनाबाट शिक्षामा गरिएको लगानी कसरी सुरक्षित राखिनेछ ? विद्यालय र विद्यार्थीको सुरक्षाबारे अब गम्भीर ढंगले सोच्नुपर्ने आवश्यकता छ । बालबालिकाले फेरि सुरक्षित र सुखद वातावरणमा कक्षाकोठामा फर्केर अध्ययन गर्न सकून् भन्ने सुनिश्चितता कसरी गर्ने ? यस विषयमा शिक्षा क्षेत्रका सबै सरोकारवालाहरूले गम्भीरतापूर्वक पुनर्विचार गर्न आवश्यक देखिन्छ ।
तसर्थ, अब शिक्षा नीतिगत बहसको विषय मात्र नभई व्यावहारिक प्रतिबद्धता र साझा जिम्मेवारीको आधार बन्नुपर्ने समय आएको छ । विद्यालय जोगाउनु भनेको केवल भवन पुनर्निर्माणमात्र होइन, राजनीतिक स्वार्थ नियन्त्रण गर्ने, व्यक्तिगत अहंकार घटाउने र सामाजिक कपट अन्त्य गर्ने चेतना हो ।
शिक्षा राष्ट्रको प्रगति र बालबालिकाको सशक्तीकरणको आधार हो भन्ने सत्य आत्मसात् नगरी 'साझा जिम्मेवारी' भन्ने कुरा खोक्रो रहिरहनेछ । र, भविष्य निरन्तर आगोमै खरानी हुँदै जानेछ । अतः शिक्षा कुनै विशेषाधिकार मात्र नभई; यो राष्ट्र रूपान्तरणको बलियो आधार हो । यसको जिम्मेवारी हामी सबैले साझारूपमा वहन गर्नुपर्ने समय आएको होइन र ?
(प्रधानाध्यापक, मेरिडियन इन्टरनेसनल स्कुल)