गत भदौ २३ र २४ गते जेनेरेसन-जेड (जेन-जी) आन्दोलन पश्चात् नेपालमा देखापरेको परिदृश्यले मुलुकको राजनीतिक धारा प्रवाहलाई गहिरो चुनौती दिएको छ । हिजोआज राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा नेपालबारे छलफल, विचारविमर्श, समाचार तथा विश्लेषणको केन्द्र यही आन्दोलन बनेको छ । यस आन्दोलनले नेपालका पुराना दलहरू नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) लगायतमाथि मात्र नभई वैकल्पिक शक्ति भनेर चिनिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) जस्ता दललाई समेत नैतिक दबाबमा ल्याइदिएको छ । तर मधेसी दलहरूको खेमामा भने तत्कालै ठूलो हलचल भएको छैन । बरु उनीहरूले सम्भावित भविष्यको राजनीतिक परिस्थितिलाई नियाल्दै आन्तरिक एकताको तयारी गरेका संकेतहरू देखिन थालेका छन् ।
यो आन्दोलन राजनीतिक नेतृत्वविहीन र असंगठित थियो । अझैसम्म यसको आधिकारिक संरचना वा विचारधारागत प्रतिबद्धता सार्वजनिक हुनसकेको छैन । यद्यपि, सरकारको असफलता, पुराना दलका नेताहरूको अक्षमता, व्याप्त भ्रष्टाचारजन्य बेतिथी र विशेषतः सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्धको विरोधमा यो स्वःस्फूर्त आन्दोलन भएको स्पष्ट छ ।
कुनै पनि आन्दोलन वा संगठन नेतृत्वविहीन रहँदा त्यसले लामो समयसम्म उपलब्धि कायम गर्न सक्दैन, बरु मानवीय तथा भौतिक संरचनाको ठूलो क्षति र अस्थिरता निम्तिइरहन्छ । कुशल नेतृत्वसँग कार्यदिशा, कार्ययोजना र दूरदृष्टि हुन्छ भने भिडसँग भने आक्रोशमात्र हुन्छ । त्यसैले नेतृत्वविहीन आन्दोलन कहिलेकाहीँ अकल्पनीय दुर्घटना र अराजकताको कारक बन्छ । हालको जेन-जी आन्दोलन पनि यही अवस्थाबाट गुज्रिरहेको छ । यसले समस्याहरू उजागर त गर्यो तर समाधान र भविष्यको मार्गचित्र भने अझै स्पष्ट छैन । आन्दोलनको नाममा आगजनी, कैदी भकाउने र मानवीय हिंसाको दृष्टान्त नै खरानीको परिदृश्य बनेको हो ।
अर्कोतर्फ, पुराना राजनीतिक दलहरू आफ्नो आन्तरिक संघर्ष र नेतृत्व संकटमै रुमल्लिएका छन् । नेकपा (एमाले)मा अध्यक्ष केपी शर्मा ओलीको विकल्प प्रस्तुत गर्न सक्ने व्यक्तित्व अझै देखा परेका छैनन् । एमाले नेताहरू ईश्वर पोखरेल, सुरेन्द्र पाण्डे, युवराज ज्ञवालीजस्ता नेताहरूले नेतृत्वलाई चुनौती दिने प्रयास त गरे तर विश्वसनीय वैकल्पिक नेतृत्व बन्न सक्ने स्तरमा पुग्न सकेनन् । उहीँ राष्ट्रवादी ओली "बा” भन्दै दौडिनेमात्र हो, ओली नै सर्वस्वीकार्य नेता हुन्, एमालेमा विकल्प खोज्नु भनेकै कारबाही भोग्नु हो । माओवादी केन्द्रले त हालै दुई दिने बैठक गरेर केन्द्रीय समिति नै भंग गरी फेरि अध्यक्ष पुष्पकमल दाहाललाई नै संयोजक तोक्ने निर्णय गरेको छ । यसलाई नेतृत्व परिवर्तन नभई नाम परिवर्तन वा सतही सुधारको रूपमा बुझिएको छ । यो पुष्पकमल दाहालले आफू फेरि 'सुप्रिम' बन्ने चालबाजी हो, यसले परिणाम दिँदैन ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र पनि नेतृत्वको प्रश्न गम्भीर बनेको छ । यद्यपि पुनर्गठनको आवाज उठाइए पनि रवि लामिछानेको विकल्प देखापरेको छैन । उल्टै, नेतृत्वको आलोचना गर्नेहरूमाथि कारबाही गर्ने, मिडिया ट्रायल गर्ने प्रवृत्तिले नेतृ सुमना श्रेष्ठले पार्टी त्याग गर्नुपरेको छ । यसले रास्वपामा वैचारिक सहिष्णुता र आन्तरिक लोकतन्त्रको अभाव पनि उजागर गरेको छ भने दिशाहीन गतिमा पुगेको दृष्टान्त नै रवि लामिछाने पुनः जेल फर्किनुले बताउँछ । उनैको मुख्यकारणले जघन्य अपराधको सजाय भोगिरहेका हजारौं कैदी भागेर देशमा उद्दण्डता मच्चाइरहेका छन् । जनसाधारणले यस घटना बारे रवि लामिछानेप्रति प्रश्न उठाएका छन् भने रास्वपा त्यसलाई छोप्न सक्ने अवस्थामा छैन । एउटा नेपाली उखान “चौटा खान गएकी झोलमा डुबेर मरी” भनेको अवस्थामा रास्वपा पुगेको छ । मधेसी दलहरूको खेमामा भने तत्काल प्रभाव परेको देखिएन तर उनीहरूले जेज-जी आन्दोलनले उत्पन्न गर्न सक्ने परिस्थिति पहिल्यै देखेर कार्यगत एकताको प्रयास थालेका छन् । उनीहरूले एउटै स्वरमा संघीयता, समानुपातिक समावेशी र गणतन्त्र जोगाउन एकजुट हुनुपर्छ भनी छलफल चलाएका छन् । अब विस्तारै मोर्चाबन्दीको अवस्थामा पुग्नसक्छ । मधेसको राजनीति पहाडमा झैं हल्लाबाट भ्रमित हुनेभन्दा पहिचानमा अडिग हुनसक्नेछ ।
नेपाली राजनीतिमा पुरानो ऐतिहासिक दल नेपाली कांग्रेस अझ विशेष चर्चाको विषय बनेको छ । वर्तमान सभापति शेरबहादुर देउवा स्वास्थ्य लाभमा रहेकाले अधिकारिक धारणा आइरहेको छैन । कांग्रेसमा आन्तरिक बहस बढ्दै गएको छ । विशेष वा नियमित महाधिवेशनको पक्षमा हस्ताक्षर संकलन हुँदैछ । तै पनि पार्टीको आधिकारिक धारणा आगामी असोज २६ गतेदेखि बस्ने केन्द्रीय कार्यसमितिको बैठकपछि मात्र स्पष्ट हुने देखिन्छ ।
नेपालको लोकतान्त्रिक आनेदोलन र कांग्रेसको इतिहास पर्यायवाची हुन् । विसं २००७ सालको जनक्रान्तिदेखि २०३६ सालको जनमत संग्रह, २०४२ सालको सत्याग्रह, २०४६ सालको जनआन्दोलन, २०६२/६३ सालको दोस्रो जनआन्दोलन, शान्ति प्रक्रिया हुँदै संविधान निर्माणसम्म हरेक निर्णायक मोडमा नेपाली कांग्रेसले नै नेतृत्व गरेको छ । लोकतन्त्र र कांग्रेस एकअर्काका परिपूरक हुन् भन्ने भनाइ इतिहासकै सन्दर्भबाट पुष्टि हुन्छ ।
यत्रो लामो इतिहास बोकेको दल जेन-जी जमातले दिएको चुनौतीका कारण संकटमा पुगेको छ । नेपाली कांग्रेसजस्तो ऐतिहासिक लोकतान्त्रिक दलले जेन-जी आन्दोलनको संदेशलाई अस्वीकार गरे पार्टीमाथि नै नैतिक, विवेक र संगठनिक दबाब पर्नुका साथै लोकतन्त्रको मर्ममाथि नै प्रहार हुनेछ ।
हरेक निर्णायक आन्दोलनको नेतृत्व गरेको नेपाली कांग्रेसका लागि अहिले तत्काल नेतृत्व परिवर्तन अपरिहार्य बनेको देखिएको छ । अरू दलले नेतृत्व परिवर्तन गर्न सक्दैनन् तर नेपाली कांग्रेसमा नेतृत्व परिवर्तन हुनेछ भन्ने अपेक्षाले पनि यसलाई फरक दृष्टिले हेरिएको हो । जेन-जी आन्दोलनबाट नेपाली कांग्रेसमाथि पार्टी पुनर्गठन गरी पुनर्जीवन दिन नेतृत्वमाथि दबाब परेको छ । यो आन्दोलन विगतका आन्दोलनभन्दा भिन्न थियो । न कुनै पार्टीको नेतृत्वमा, न कुनै विचारधाराको नाममा भएको थियो । बरु पुराना दल र पाका नेताविरुद्ध नागरिकको आक्रोशका रूपमा उठेको थियो । यसले कांग्रेसलाई मात्र नभई सम्पूर्ण पुरानो राजनीतिक संरचनालाई नयाँ गन्तव्यतर्फ सोच्न बाध्य बनाएको छ । अहिलेको संकट कुनै प्राकृतिक विपत्ति नभई राजनीतिक असफलताको परिणाम भएकाले पनि नेपाली कांग्रेससहित सम्पूर्ण दलको नेतृत्वलाई नैतिक दबाबमा पारेको हो ।
नेपाली कांग्रेसले अब नियमित वा विशेष महाधिवेशन बोलाएर नयाँ नेतृत्व रोज्नु अपरिहार्य भएको छ । वर्तमान सभापति शेरबहादुर देउवाको नेतृत्वमा पार्टी अघि बढ्ने अवस्था छैन भन्नेमा प्रायः सहमति देखिएको छ । अब नयाँ निर्वाचन, नयाँ सन्देश र नयाँ नेतृत्व आवश्यक छ । नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइराला र महामन्त्री गगन थापाबीच सहकार्य गरेर एकजनाले पार्टीको नेतृत्व गर्ने र अर्काले सरकारको नेतृत्व गर्ने व्यवस्था हुन सके सम्भवतः कांग्रेसमा नयाँ ऊर्जा थपिनेछ । इतिहास हेर्दा पनि कांग्रेसले हरेक असफलताको क्षणमा नयाँ नेतृत्वमार्फत पुनः उठ्न सफल भएको देखिएको छ ।
विसं २००७ सालको क्रान्तिपश्चात् मात्रिका प्रसाद कोइराला असफल भएपछि २००८ सालमा बीपी कोइरालाले नेतृत्व सम्हालेका थिए । यस्तै २०१२ सालमा विशेष महाधिवेशन गरेर प्रजातान्त्रिक समाजवादको नीति अंगीकार गरियो । त्यसपछि पार्टी आन्दोलनमा जाने निर्णय भयो । आन्दोलनको विशेष परिस्थितमा दलको नेतृत्व पुनः बीपी कोइरालाले नै लिए । त्यसकै बलमा २०१५ सालको संसदीय निर्वाचनमा कांग्रेसले दुईतिहाइ बहुमत ल्यायो । यस्तै, २०५६ सालको निर्वाचनमा गिरिजाप्रसाद कोइरालाको आलोचना बढेपछि कृष्णप्रसाद भट्टराईलाई प्रधानमन्त्रीको उमेदवार बनाएर पार्टीले बहुमत ल्याएको थियो । यी सबै उदाहरणहरूले देखाउँछन् कांग्रेसले नेतृत्व परिवर्तन गर्न सकेको खण्डमा संकटलाई अवसरमा रूपान्तरण गरेको छ । आगामी मङ्सिर र पुसभित्रको नियमित वा विशेष महाधिवेशनबाट डा. शेखर कोइरालाको नेतृत्वमा नेपाली कांग्रेस र महामन्त्री गगन थापाको नेतृत्वमा निर्वाचन गएको खण्डमा नेपाली कांग्रेसले बहुमत ल्याउन सक्छ ।
जेन-जी आन्दोलन नेतृत्व परिवर्तन गर्नुपर्छ भन्ने दबाबमूलक संदेश पनि बनेको छ । अहिलेको आक्रोशित जमातले तत्काल आक्रोश पोख्छ, सडकमा भिड उतार्छ र नेतृत्वलाई दबाब दिन्छ । तर स्थायी परिवर्तन जनमतले गर्छ जसले निर्वाचनमार्फत प्रतिनिधि चयन गर्छ । अहिले जेन-जी आन्दोलन एउटा भिड हो तर यसको स्पष्ट सन्देश छ - अब नयाँ नेतृत्व आवश्यक छ । यसले पुराना दलहरूलाई नयाँ जनमत लिन दबाब दिएको छ । त्यसकारण नेतृत्व परिवर्तन गर्नुबाहेक अरू विकल्प खोज्नु हुँदैन । वर्तमान नेतृत्वमै निर्वाचन गए दुर्घटना भोग्नुबाहेक अरू परिणाम आउँदैन ।
प्रतिनिधि सभाको निर्वाचन तोकिइसकेको छ । यस अवस्थालाई कांग्रेसले तत्काल सुधार र पुनर्गठनको अवसरका रूपमा लिनुपर्छ । गुटगत विवादमा समय खेर फालेर आत्मतुष्टिमा रमाउनुभन्दा पार्टी र देशलाई जोगाउन नयाँ नेतृत्व रोज्नु अपरिहार्य छ । जसले असफलता देखायो उसलाई बिदा गरेर नयाँ विचार र क्षमतावान व्यक्तिलाई नेतृत्वमा ल्याउनु पार्टी र लोकतन्त्रको लागि हितकर हुनेछ ।
अन्त्यमा: वर्तमान नेपालको अवस्था भाँडाकुडी खेलेको झैं भएको छ । यहाँ विचारविमर्शभन्दा गालीगलौजमा रमाउने धेरै छन् । विद्वान् वर्गले दिनुपर्ने र बुझाउनुपर्ने विचार, खोज्नुपर्ने समाधान हो । यहाँ त विद्वानदेखि सडकछापसम्म एउटै स्वर जेन-जी भन्न थालेका छन् । यहाँ सिंहदरबार जलाएर राष्ट्रप्रेमी बन्ने, प्रहरी चौकी जलाएर शान्ति सुरक्षा खोज्ने, अदालत जलाएर न्याय र उद्योग जलाएर समृद्धि खोज्ने होडबाजी छ । दिग्भ्रमित विवेकहीन मानसिकता हुनेले अवचेतनद्वारा निर्देशित विध्वंश मच्चाइरहेका छन् । अहिले भ्रम चिर्न जरुरी छ । सद्भाव, सहिष्णुता र एकता अपरिहार्य आवश्यकता बनेको छ ।
जेन-जी आन्दोलन स्वयंमा विनाशको सूचक होइन । बरु भ्रष्टाचार र बेतिथि अन्त्य गरी सुशासन निर्माणको अवसर हो । यसले पुराना दलहरूलाई झकझक्याएको छ । उनीहरूको आन्तरिक कमजोरी उजागर गरेको छ र नयाँ नेतृत्वको आवश्यकता औँल्याएको छ । नेपाली कांग्रेससहित सबै दलले आनेदोलनलाई आशाको दृष्टिले हेर्नुपर्छ । नेपाली कांग्रेसले तत्काल नियमित वा विशेष महाधिवेशन गरेर नयाँ नेतृत्व रोजेमा यसले पुनः इतिहास रच्नेछ । तर पुरानोजस्तै अकर्मण्यता र असफलता दोहोराइयो भने कांग्रेस पनि कागजमै सीमित हुने खतरामा पुग्नेछ । त्यसैले आजको सन्देश स्पष्ट छ - आफ्ना कमजोरी आत्मसात् गर्दै र गुटगत स्वार्थ पन्छ्याउँदै, बुद्धिमत्तापूर्ण नेतृत्वमार्फत लोकतन्त्रलाई बलियो बनाउनुपर्छ । यही वर्तमानको चुनौती हो । भविष्यको अवसरको ढोका खुलेको छ । अब व्यवस्था परिवर्तन गर्नेतर्फ नभई अवस्था परिवर्तनका लागि सक्षम र असल नेतृत्वको आवश्यकता छ ।