site stats
बाह्रखरी :: Baahrakhari
विचार
देश सङ्कटमा कांग्रेस रनभुल्लमा !

‘सङ्कट’ शब्दले मात्र सायद देशको अहिलेको जटिलता धान्न सक्तैन । लाग्छ, राष्ट्रियता, लोकतन्त्र र सिङ्गो सामाजिक संरचनाको अस्तित्व नै जोखिममा छ । ‘षड्यन्त्रको सिद्धान्त’का भाष्यकारहरू नयाँ पुराना विभिन्न राग अलाप्दै छन् । तिनमा विश्वास गरिहाल्न मन मान्दैन । तर, महिना दिनसम्म पनि भदौ २३ को नरसंहार र २४ को विध्वंसका नयाँ नयाँ रहस्यहरू खुल्दै नै छन् । के थाहा कतै कुनै दिन ‘षड्यन्त्रको सिद्धान्त’ पत्याउनु पर्ने पो हो कि ?

जे होस्, यो प्रसङ्ग थाती राखेर देखिने, सुनिने र बुझिने घटनाहरूकै चर्चा गरौँ ।

सङ्कटमा कांग्रेसको परित्राण

हुनत, नेपाल सङ्कटमा परेको यो पहिलोपटक होइन । राणा शासनको अन्त्यपछि पनि देश पटकपटक सङ्कटमा परिरह्यो । तर, समाज अहिले जति निराश र निस्पृह भएको थिएन भने कतै न कतै आशाको किरण देखिने गरेको थियो । 

राजाले २०१७ सालमा लोकतन्त्र समाप्त पार्दासमेत लोकतन्त्रको दियो धिपधिप भने पनि बल्दै थियो । कारागार- निर्वासन -कारागार गरेर पनि बीपी कोइरालाहरूले सुरुङको पल्लो छेउमा मधुरो नै सही बत्ती जगाइराखेका थिए । बीपीहरू २०३३ मा स्वदेश फर्कनेबित्तिकै देशमा नयाँ रक्त सञ्चार भयो । 

जनमत संग्रह (२०३७) मा नेपाली जनताले बहुदलीय व्यवस्थाका पक्षमा भन्दा बढी मत निर्दलीय निरङ्कुश व्यवस्थाका पक्षमा दिए भनियो । जनमतमा बहुदलका पक्षमा लागेका नेतादेखि कार्यकर्तासम्म कसैले पनि पत्याएनन् । पञ्चायतका पक्षमा धाँधली गरिएको थियो । तर, बीपी कोइरालाले जनमत संग्रहको परिणामलाई ‘अव्याख्येय र अप्रत्याशित’ भए पनि स्वीकार गरे । भित्रभित्रै मुर्मुरिए पनि एकाध कम्युनिस्ट नेताहरूबाहेक नेपाली कांग्रेसलगायत बहुदल समर्थकहरू चुप लागे । देश भूराजनीतिको चक्रव्युहमा पर्नबाट जोगियो । त्यसपछि २०४६, २०६२/६३ मा कांग्रेसकै नेताहरूको भरोसामा न लोकतन्त्र जोगाउन सबै होमिएका हुन् ।     

अहिले धान्न सकेनन् कांग्रेसको गरिमा 

नेपालमा राजनीतिक सङ्कट देखिँदा विशेषगरी लोकतन्त्रमाथि अतिक्रमण हुँदा नेपाली कांग्रेसका नेताले अहिलेसम्म आफू ढाल बनेर सधैँ नै देशलाई नेतृत्व दिएका छन् । अहिलेको नेतृत्वले पनि देशलाई बाटो देखाउने अपेक्षा  आलाकाँचाले नगरे बूढापाकाले गरेका थिए । दुर्भाग्य, अहिलेका कांग्रेसहरू त यान्त्रिक तानाबानामा पो अलमलिए ।

देउवालाई केको मोह होला ?

देश यत्रो विनाशको अवस्थामा पुग्दा र स्वयं आफ्नै शरीर तथा सम्पत्ति जोगाउन नसक्दा पनि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दलको नेतृत्व त्याग्न सकेनन् । अब के पाउनु छ? धेरै पाएका थिए तर त्यसभन्दा धेरै गुमाइसके नि उनले । भौतिक आर्जनमात्र होइन कुनै दिन बीपी कोइरालाबाट पाएको ‘शेरे पश्चिम’को उपाधि धान्न पनि उनले सकेनन् । 

ऐजेरुले ढाकेको बुटो

पार्टी वा संसद्मा कतै चुनाव नजित्ने र शेरबहादुर देउवालाई मैले नै धानेको हो भन्ने ठान्ने एउटा जमात छ कांग्रेसभित्र । स्वार्थका लागि एक हुने । अनि ‘बाजेले घिउ खाथे मेरो हात सुँघ’ भन्ने ‘आकाशेबेली’को त्यस जमातले अझै पनि देउवा र कांग्रेसलाई ऐँठन गरेकै छ । यिनको कुरा सुन्दा देउवाकै अहित भइसक्यो । तिनै सारमा लागिरहे कांग्रेस पनि देउवाकै हालतमा पुग्छ । ऐजेरुले ढाकेपछि बुटो सुक्दै जान्छ । देउवालाई ढाक्ने ऐजेरुहरू फाँडेर पार्टी जोगाऊ ।

विधान र परम्परासम्मत बाटो 

अझै पनि सबै आशक्ति त्यागेर उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक दिनु देउवाका निम्ति श्रेयस्कर हुनेछ । कम्तीमा त्यसले पार्टीलाई विधानसम्मतरूपमै नयाँ पुस्ताको अपेक्षाअनुसारको बाटो समाउन सहयोग पुग्नेछ भने अरू पार्टीका नेताको मार्गदर्शक हुनेछ । यद्यपि, कम्युनिस्टहरूको पद छाड्ने परम्परा भने छैन । सके त मंसिर अगावै नभए पनि मंसिरसम्ममा महाधिवेशन गर्ने मिति सकेसम्म चाँडो घोषणा गरे ओइलाएका कार्यकर्तामा रक्तसञ्चार हुनेछ ।  

महामन्त्रीहरूसँगको अपेक्षा
महामन्त्री द्वय लगायत चौथो, पाँचौ पुस्ताका नेताहरूले पञ्चायतकालको दुःख भोगेनन् । उनीहरूले नेता र कार्यकर्ताबीचको स्नेह र सम्मानको अनुभव पनि गरेनन् । यसैले तिनका पुरानो कांग्रेसी सद्भावको संस्कार नहुनु आश्चर्य होइन । तैपनि, कांग्रेस हुनुको अर्थ कम्युनिस्ट वा अरू दलका नेता कार्यकर्ताभन्दा केही त फरक हुन्छ भन्ने हेक्का राख्नु पर्ने थियो । 

मानवीय पक्षको सम्मान 
पार्टी सभापतिमाथि त्यसरी हुलले आक्रमण सांघातिक आक्रमण गरेको छ । उनकी पत्नीलाई समेत लछारपछार गरिएको छ । अरू पूर्वप्रधानमन्त्री, मन्त्री सबैलाई सेनाको सकुशल उद्धार गर्दा देउवा दम्पतीको मात्र त्यस्तो हृदयविदारक अवस्था बनाइएको छ ।  उनी उपचाररत रहेकै अवस्थामा यता युवा नेताहरू भने उनैका विरुद्ध हस्ताक्षर सङ्कलनमा लागेका छन् । 

आफू अर्कोपटक सभापति नहुने भएपछि देउवाले बेलैमा महाधिवेशन गराउने निर्णय गरेका भए अहिलेको अवस्था आउने थिएन । महामन्त्रीहरूले  नियमित महाधिवेशनका निम्ति बेलैमा तयारी र आवश्यक परे हस्ताक्षर सङ्कलन गरेका भए अस्पतालको शय्यामा सुतेको नेतालाई घोच्नुपर्ने थिएन । नेपाली कांग्रेस पदावधिको प्राविधिक जडतामा फस्ने पार्टी थिएन । पार्टीका सबैभन्दा पुराना नेता गणेशमान सिंहलाई चुनावमा हराएर सभापति भएका सुवर्ण शमशेरले २ वर्ष पुग्दा नपुग्दै पद छाडेका थिए । यस्ता अनेकौं उदाहरण छन् । महामन्त्रीहरूले पक्कै पनि पढेका त थिए होलान् । 

पार्टीको विनिर्माण गरेर जेन-जी आकर्षित गर
लागेको थियो गगन थापा, विश्वप्रकाश शर्मा, प्रदीप पौडेलजस्ता होनहार नेताहरू सभापतिलाई पद त्याग गर्न राजी बनाउन बढी लाग्नेछन् । यस्तै, जनसङ्ख्याको करिब २० प्रतिशत जेन-जी र अगिल्लो पुस्ताका युवालाई पार्टीमा कसरी आकर्षित गर्ने भन्ने खाका बनाउन लाग्नेछन् । 

कम्युनिस्ट लसपसको दाग मेट
कम्युनिस्टहरूको सिको टिपेर बिगारिएको कांग्रेसको अहिलेको विधानअनुसार  नयाँ पुस्ता नेतृत्वमा पुग्नै सक्तैन । पार्टी नेतृत्वमा पुग्न यो पुस्ता अहिलेका महामन्त्रीहरूजस्तै वर्षौं पर्खन सक्तैन । यसैले विधानमा रहेका यस्ता तगाराहरू भत्काउन महामन्त्रीहरूले नेतृत्व गर्लान् कि भन्ने लागेको थियो । 

उदार लोकतान्त्रिक दलका नेतृत्व कौशल देखाउन सके नवप्रवेशी पनि सहजै नेता हुनसक्नुपर्ने हो । तर, कांग्रेसको विधान त सकेसम्म अहिले केन्द्रीय समितिमा भएकाबाहेक अरू नेतृत्वमा नपुगुन् भन्ने नियतले बनाइएको छ । यसलाई नभत्काई जेन-जी खासै आकर्षित हुँदैनन् । अगिल्लो पुस्ताजस्तै अधिकांश कम्युनिस्ट र पछिल्ला दिन चटकेहरूको पछि लाग्न पुगे भने कांग्रसको अवस्था के होला ?  

षड्यन्त्रको सिद्धान्त मान्ने हो भने देशको सार्वभौम सत्ता पनि सङ्कटमा छ । राष्ट्रियता र लोकतन्त्र सङ्कटमा परेपछि कांग्रेस सङ्कट मुक्त हुने कुरै भएन । इतिहास साक्षी छ यस्तो अवस्थामा नेपाली कांग्रेसका नेताहरूको पहिलो जिम्मेवारी देश बचाउने हो । दोस्रो जिम्मेवारी लोकतन्त्र बचाउने हो । तेस्रो जिम्मेवारी पार्टी बचाउने अनि विनिर्माण गर्ने हुनुपर्छ । 


र अन्त्यमा 
अहिलेको सरकार संविधानसम्मत नहोला तर आन्दोलनको शक्तिबाट संविधानभित्रैबाट बनेको हो । मन्त्रीहरूका सम्बन्धमा केही भन्न नसके पनि प्रधानमन्त्री सुशीला कार्की लोकतन्त्रकै विरुद्ध जालिन् भन्ने चिताउनु पनि न्यायोचित नहोला । यस्तै राष्ट्रपति रामचन्द्र पौडेलको लोकतन्त्रप्रतिको निष्ठामा पनि शङ्का गर्नु अन्याय हुन्छ । यसैले नेपाली कांग्रेस अहिलेको सङ्कटमा बढी संयमित हुनुपर्छ । चुनाव भयो भने कांग्रेसले अपेक्षित स्थानमा जित्न नसक्ला तर लोकतन्त्र पुनः बाटामा फर्किन्छ । अहिले एमाले वा अरू कसैको उक्साहटमा लागेर कांग्रेसले पनि वितण्डा सुरु गरे यो सरकार त जाला तर त्यसपछि के हुन्छ भन्न सकिँदैन ।

म्याडागास्करमा जेन-जी आन्दोलनले सरकार ढालेपछि अब राष्ट्रपति हटाउने माग  चर्काइएको छ । सडकमा भएको प्रदर्शनमा सैनिकहरू पनि सहभागी भएको खबरले कतै सैनिक विद्रोह हुनसक्ने लख काटिएको छ । नेपाली कांग्रेसको पतन कम्युनिस्टहरूको पछि लाग्न थालेपछि भएको हो भन्ने अखिलको पछि लाग्ने नेविसंघका सदस्यले नबुझे पनि महामन्त्रीहरूले त बुझ्नुपर्ने हो । 
 

प्रकाशित मिति: सोमबार, असोज २७, २०८२  २०:२५
प्रतिक्रिया दिनुहोस्